Comments Add Comment

कांग्रेसको बटमलाइन : राजीनामाले पुग्दैन, प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ

प्रमुख प्रतिपक्ष चुप लागेर बस्नेबाला छैन : पुष्पा भुसाल

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको डिल गरेको सञ्चार मन्त्री गोकुल बास्कोटाको अडियोले बिहीबार बिहानबाटै राजनीतिक मोहौल गर्माएको थियो । प्रमुख विपक्षी नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेर बास्कोटाको राजीनामा माग्यो । तर, दिउँसो प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्ने पूर्वनिर्धारित कार्यक्रम भएकाले कसरी प्रस्तुत हुने अन्योल थियो ।

संसद भवनमा पुगेका कांग्रेसका सांसदहरु सञ्चारमन्त्रीको राजीनामा माग गर्दै बैठक अवरुद्ध गर्ने कि बोल्ने मात्रै भन्ने बहस गरिरहेका थिए । त्यहीबेला खबर आयो, यो अडियो डेढ महिना पहिल्यै प्रधानमन्त्रीले सुनिसकेका थिए ।

त्यसपछि कांग्रेस नेताहरुले गोकुल बास्कोटा प्रकरणमा पार्टीको तीन बुँदे बटमलाइन बनाए ।

१, सञ्चारमन्त्री बास्कोटाले तत्काल बर्खास्त गरियोस् 
२, यो प्रकरणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्छ 
३, राजीनामाले पुग्दैन, बास्कोटामाथि छानविन गरेर कारबाही होस्

तीनबुँदे माग राखेर संसद अवरुद्ध गर्ने कि संसदमा सबैले बोल्ने भन्ने कांग्रेस नेताहरुवीच छलफल भइरहेको थियो । राष्ट्रियसभा बैठक सुरु हुन लागेको जनाउ दिने घन्टी बज्यो । ‘ल ल, बैठक चल्न दिन हुँदैन’ भन्दै कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डे लगायतका सांसदहरु बैठक हलतिर लागे ।

राष्ट्रियसभा अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठक पनि चल्न नदिने निर्णयमा कांग्रेसका नेताहरु पुगे ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालले यही सन्देश सभामुखकहाँ पुर्‍याए । सभामुख अग्नि सापकोटाले कांग्रेसलाई आफ्नो कुरा राख्न दिने भन्दै संसद अवरुद्ध नगर्न आग्रह गरे । खाँडले सभामुखको शर्तमा सहमति जनाएनन् ।

त्यसपछि सभामुख सापकोटा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुसँग छलफलमा जुटे । सञ्चारमन्त्रीले प्रधानमन्त्रीलाई भेट्दैछन् भन्दै सभामुखले बासकोटाको राजीनामा आउने संकेत गरे । तर, तीन बज्न लाग्दासम्म न राजीनामा आयो, न संसद सुरु भयो ।

अपरान्ह ३ बजे, अर्थात बैठक बोलाएको दुई घन्टाभित्र संसद सुरु भएको भए स्वतः स्थगित हुने नियमावलीमा व्यवस्था छ । त्यसअघि सूचना टाँसेर बैठक स्थगित गर्न सभामुखसँग कुनै बाहाना थिएन । यही अलमलका बीच ३ बजे संसद बैठक सुरु भयो र कांग्रेस सचेतक भुसाल बोलिन् ।

सचेतक भुसालले गोकुल बास्कोटा अडियो प्रकरणमा पार्टीको तीनबुँदे बटमलाइन सुनाइन् ।

सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको अनौपचारिक जानकारी आएको संसदमा सुनाए । जबकि पुरानो परम्परा अनुसार सभामुखले राष्ट्रपति कार्यालयबाट मन्त्रीले राजीनामा दिएको औपचारिक जानकारी आएपछि मात्र संसदमा सुनाउनुपर्ने थियो ।

बास्कोटाले मन्त्री पदबाट राजीनामा दिएको सूचना सभामुखले दिए पनि कांग्रेसले संसद अवरुद्ध गरिरहृयो । त्यहीवीचमा सभामुखले बैठक फागुन १३ गतेसम्मका लागि स्थगित भएको घोषणा गरे ।

अब कांग्रेसले के गर्छ ?

कांग्रेस नेताहरुका अनुसार सेक्युरिटी प्रि न्टिङ प्रेस खरिदको विषय बास्कोटासँग मात्र जोडिएको छैन । मन्त्रिपरिषदबाट पटक-पटक छलफल गरेर निर्णय हुनुका साथै बास्कोटाको अडियो प्रधानमन्त्री केपी शर्मा ओलीले पहिल्यै सुनेको खबर पनि छ । त्यसैले, प्रधानमन्त्रीले यसबारे सदनलाई जवाफ दिनुपर्ने माग यथावत रहेको कांग्रेस नेताहरु बताउँछन् ।

‘यो विषय पटक-पटक मन्त्रिपरिषदमा उठेको छ, त्यसैले सञ्चारमन्त्रीको बर्खास्तसँग मात्र सीमित गरेर प्रमुख प्रतिपक्ष चुप लागेर बस्नेबाला छैन,’ भुसालले भनिन्, ‘प्रधानमन्त्रीले सदनमा आएर सत्य तथ्य जानकारी दिनुपर्छ ।’

विहीबार राजीनामा दिएका बास्कोटामाथि भ्रष्टाचारको विषय हेर्ने संवैधानिक निकाय (अख्तियार) ले छानविन गर्नैपर्ने कांग्रेसको तेस्रो माग छ । ‘हिजो बालुवाटार प्रकरणमा जग्गा फिर्ता दिएकाले कारबाही हुँदैन भनेजस्तै राजीनामा दिएकाले कारवाही हुन्न भन्न पाउनुहुन्न’ कांग्रेस सचेतक भुसालले संसदमा भनिन्, ‘यो विषयमा हामी गम्भीर छौं, निश्पक्ष, तटस्थ छानविन र कानूनी कारबाहीको दायरभित्र ल्याउँछु भन्ने प्रतिवद्धता प्रधानमन्त्रीले संसदमा गर्नुपर्छ ।’

यसले के देखिन्छ भने सञ्चार मन्त्री बास्कोटाको राजीनामामा मात्र चित्त बुझाउन कांग्रेस तयार छैन ।

सांसद गगन थापा भन्छन्, ‘जबसम्म प्रधानमन्त्रीले संसदमा जवाफ दिनुहुन्न, त्यसबेलासम्म सदन अगाडि बढ्दैन । प्रधानमन्त्रीले जवाफ दिएपछि के गर्ने भन्ने अहिले भन्न सकिन्न, त्यहीबेला थाहा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment