Comments Add Comment

क्रिकेट रंगशाला बनाउन दिएको जग्गाको शोधभर्ना फागुनभित्रै

९ फागुन, चितवन । गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि २० विघा ६ कठ्ठा जग्गा उपलब्ध गराएको कृषि तथा वनविज्ञान विश्वविद्यालयललाई भरतपुर महानगरले जग्गाको शोधभर्ना गर्ने भएको छ ।

महानगरपालिकाले विश्वविद्यालयलाई तत्कालै वडा नं. २० मा रहेको १५ विघा जमिन फागुन महिनाभित्रै दिने जनाएको छ । बाँकी ५ विघा ६ कठ्ठा जमिन उपयुक्त स्थान हेरेर दिने महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

‘हामीले विश्वविद्यालयलाई जग्गा उपलब्ध गराउने निर्णय पहिल्यै बोर्ड बैठकबाट गरिसकेका छौं, अब प्रक्रियागत शोधभर्ना दिन मात्रै बाँकी हो, त्यो काम फागुनभित्रै हुन्छ’ उनले भनिन् ‘विश्वविद्यालयलाई अप्ठेरो पार्ने काम महानगरपालिकाले गर्दैन ।’

विश्वविद्यालय महानगरपालिकाको गौरव हो भन्दै उनले विश्वविद्यालयको एक टुक्रा जग्गा पनि त्यत्तिकै खर्च नगर्ने बताइन् ।

महानगरपालिकाको २०७५ भदौ २६ गते बसेको बोर्ड बैठकले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई महानगरपालिकाको वडा नं २० मा १५ विघा जग्गा शोधभर्ना दिने निर्णय गरेको थियो ।

महानगरपालिकाले आफैंले नापजाँच गरेर तारबार लगाई जग्गा विश्वविद्यालयलाई दिने तयारी थालेको छ । विश्वविद्यालयमा जग्गा दिने स्थानमा रहेको एक विद्यालयलाई अन्यत्रै स्थानान्तरण गर्ने निर्णय पनि महानगरपालिकाले गरेको छ ।

विश्वविद्यालयले रंगशाला बनाउन २५० मिटर चौडाइ र ५५० मिटर लम्बाई भएको जग्गा उपलब्ध गराएको थियो । त्रिभुवन विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय र भरतपुर महानगरपालिका बीच त्रिपक्षीय २०७५ असोज १९ गते जग्गा दिने सम्झौता भएपछि रंगशाला निर्माणको काम अघि बढेको हो ।

धुर्मस सुन्तली फाउण्डेशनले राष्ट्रिय गौरवको परियोजनाका रुपमा गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको छ । यसअघि, विश्वविद्यालयका निवर्तमान रजिष्ट्रार प्रा.डा.मनराज कोलाक्षपतिले महानगरपालिकासँग सहमतिअनुसार जग्गाको शोधभर्ना पत्र लेखी माग गरेका थिए ।

विश्वविद्यालयले गत जेठ २९ गते महानगरपालिकालाई पत्र लेखी आवधिक योजना र नियमित अध्ययन अनुसन्धानका कार्यक्रम चलाउन जग्गाको आवश्यकता परेकोले यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरेको थियो ।

क्रिकेट रंगशालाले विश्वविद्यालयलाई कुनै असर गर्दैन

रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई कुनै असर नगर्ने सरोकारवालाहरुले बताएका छन् ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालले क्रिकेट रंगशालाले विश्वविद्यालयको पठनपाठन तथा कार्यक्रम सञ्चालनमा कुनै असर नपर्ने बताए ।

‘यो यसै पनि फालिएको जमिन थियो, त्यसको उपयोग भएको थिएन, फार्मका लागि पनि हामीसँग जमिन छ, नभएको हैन’ उनले भने, ‘विश्वविद्यालयले महानगरपालिकालाई सित्तैमा त्यसै जग्गा दिएको पनि त हैन, उहाँहरुले शोध भर्ना दिनुहुन्छ हामी त्यहाँ अन्य कार्यक्रम चलाउँछौं, यो भन्दा राम्रो ठाँउमा दिनुहुन्छ ।’

त्रिभुवन विश्वविद्यालयका निर्वतमान उपकुलपति प्रा.डा. तीर्थ खनियाँले क्रिकेट रंगशाला बन्दैमा विश्वविद्यालयको पठनपाठन र अन्य कार्यक्रम सञ्चालन गर्न सकिदैन भन्ने कुरा नबुझ्ने मान्छेले गर्ने टिप्पणी भएको बताए ।

‘त्रिवि क्रिकेट मैदान भन्ने नाम नसुनेकाहरुले विरोध गर्छन्’ प्रा.डा. खनियाले भने, ‘कृषि विश्वविद्यालय परिसरमा रंगशाला बन्ने भएपछि यसको पनि नाम चर्चामा आएको छ, जग्गा त विश्वविद्यालयकै नाममा छ नि ।’

विश्वविद्यालयको भौतिक संरचना निर्माण तथा अध्ययन एवम् अनुसन्धानमा रङ्गशालाले असर नपार्ने दुबै जना निवर्तमान उपकुलपतिहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment