Comments Add Comment

अफगानिस्तानमा आजबाट युद्धबिराम, २९ फेब्रुअरीमा शान्ति सम्झौताको तयारी

अमेरिका र अफगानिस्तानका तालिवान लडाकुबीच ऐतिहासिक सहमति भएको भन्दै स्वागत

१० फागुन, काठमाडौं । अफगानिस्तानमा १८ वर्षभन्दा बढी समयदेखि जारी सशस्त्र द्वन्द्व अन्त्यको संकेत देखिएको छ । किनभने अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच यही फेब्रुअरी २९ तारिखमा शान्ति सम्झौता गर्ने तयारी भइरहेको छ ।

त्यसअघि शनिबारदेखि एक हप्तासम्म तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले आक्रमण नगर्ने सहमति गरिसकेका छन् । यो एक हप्ताको बीचमा देखिने घटनाक्रमको आधारमा औपचारिक रुपमा शान्ति सम्झौता गरेर द्वन्द्व अन्त्य गर्ने सहमति भएको अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जावेद फैसलले बताएका छन् ।

अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि लामो समयदेखि अमेरिकाले पहल गर्दै आएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले पनि साउदी अरबको भ्रमणपछि शुक्रबार भनेका छन्, ‘अफगानिस्तानको हिंसा घटाउने सहमतिलाई सफल कार्यान्वयन गरिएसँगै अमेरिका–तालिवानी सम्झौतामा हस्ताक्षर गर्ने काम अघि बढ्ने अपेक्षा गरिएको छ ।’

पोम्पेओले भने, ‘चुनौती अझै बाँकी छ, तर हालसम्म भएको प्रगतिले आशा प्रदान गर्दछ र वास्तविक अवसरको प्रतिनिधित्व गर्दछ । अमेरिकाले सबै अफगानी नागरिकलाई यस क्षणको उपयोग गर्न आग्रह गर्दछ ।’

अन्तर्राष्ट्रिय समुदायबाट स्वागत

यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टोलटेनवर्गले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिका–तालिवान सहमतिको स्वागत गरेका छन् । उनले सहमतिले अफगानिस्तानको दीर्घकालीन शान्तिको सम्भावित मार्गलाई खुला गरेको उल्लेख गरेका छन् ।

‘अफगानिस्तानमा हिंसामा उल्लेखनीय कटौतीको बारेमा समझदारी भएकोमा म स्वागत गर्दछु,’ स्टोल्टनवर्गले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो हिंसा घटाउने तालिवानको इच्छाशक्ति र क्षमताको परीक्षा हो र यसले शान्तिका लागि विश्वासको योगदान गर्नेछ । यसले अफगानीहरूबीच वार्तालाप, दिगो शान्ति र मुलुकलाई फेरि आतंककारीका लागि सुरक्षित ठाउँ नहुने कुरा सुनिश्चित गर्न सक्नेछ ।’

अफगानिस्तानमा नेटोको १६ हजार सैनिक छन् जसले स्थानीय सेनाहरुलाई प्रशिक्षण, सहयोग र सल्लाह दिने गरेको छ ।

अमेरिका–तालिवानबारे नयाँ सहमतिलाई रूसले पनि स्वागत गरेको छ । उसले यो ऐतिहासिक सम्झौता अफगानिस्तानको शान्तिको लागि ‘महत्वपूर्ण घटना’ हुने बताएको छ । मस्कोका अफगानिस्तानका राजदूत जमीर काबुलोभले राज्य सञ्चालित समाचार संस्था आरआईए नोवोस्तीसँग कुरा गर्दै यदि सम्झौता समारोहमा आफूलाई आमन्त्रण गरिएमा त्यहाँ सहभागी हुने बताएका छन् । यो अफगानिस्तानमा शान्ति प्रक्रियाको लागि महत्वपूर्ण घटना हुने उनको धारणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment