Comments Add Comment

२० वर्षपछि महात्मा बुद्ध गोल्डकप प्रतियोगिता आयोजना हुँदै

१२ फागुन, बुटवल । २० वर्षदेखि आयोजना हुन नसकेको महात्मा बुद्ध गोल्डकप फुटबल प्रतियोगिताले यो वर्षदेखि निरन्तरता पाउने भएको छ । २०५५ सालसम्म सञ्चालन भएको प्रतियोगिता त्यसयता हुन सकेको थिएन ।

सिद्धार्थनगर नगरपालिका र पर्फेक्ट इभेन्ट स्क्वायड प्रालि भैरहवाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले आगामी चैत २ गतेदेखि प्रतियोगिता सुरु हुने जानकारी गराएको हो ।

भैरहवाको प्रतिष्ठित फुटबल प्रतियोगितालाई निरन्तरता दिने उद्देश्यले नीति तथा कार्यक्रम र बजेटमै यसलाई समेटिएको नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बताए । प्रतियोगिता सञ्चालन गर्न करिब ६५ लाख खर्च लाग्ने र नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउने उनले जानकारी दिए । बाँकी रकम अर्को आयोजक संस्था पर्फेक्ट इभेन्ट स्क्वायड प्रालिले जुटाउने अधिकारीले बताए ।

प्रतियोगितामा आयोजक टिमसहित भारत र नेपालका प्रतिष्ठित ८ वटा टिमको सहभागिता रहने पर्फेक्ट इभेन्ट स्क्वायड प्रालिका सचिव रोशनसिंह खड्काले बताए ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले ३ लाख रुपैयाँ तथा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्ता घोषित गरी पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा सहभागी हुने टिमलाई २५ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको उनले बताए ।

भैरहवाको अञ्चलपुर युवा क्लबले सुरु गरेको फुटबल प्रतियोगितालाई २०४२ सालपछि तत्कालीन सिद्धार्थनगर नगर पञ्चायतको पहलमा स्तरवृद्धि गरी महात्मा बुद्ध गोल्डकपको रुपमा सञ्चालन हुँदै आएको थियो । स्थानीय तह जनप्रतिनिधिविहीन भएसंगै प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment