Comments Add Comment

युएईमा सुन र कार जितेका ३ नेपालीले पाए ८६ लाख नगद

युएई । अल अहलिया एक्सचेञ्जको विन्टर प्रोमोसन योजनाका बिजेतालाई उपहार हस्तान्तरण गरिएको छ । बुधबार आबुधाबी मुसाफा ब्रान्चमा एक कार्यक्रमको आयोजना गरी १ किलो सुन र २ वटा कार जितेका ३ जना नेपालीसहित विजेतालाई उपहार वितरण गरिएको हो ।

श्रीजङ्गा-४, ताप्लेजुङका यमनाथ भट्टराईले १ किलो सुन, रोल्पाका झकबहादुर गिरी र रूपन्देही सैनामैनाकी सीता पाण्डेले निशानको कार जितेका थिए ।

उनीहरुले जितेको उपहार युएई मूल्य अनुसार बिक्री गरी नगद उपलब्ध गराएको एक्सचेञ्जका नेपाल प्रमुख बेनी माधव ढकालले जानकारी दिए ।

भट्टराईले बुधबारको युएई मूल्य अनुसार १ किलो सुनको करिब ५८ लाख ५३ हजार रुपैयाँ पाएका छन् ।

यस्तै गिरी र पाण्डेले निसानको सनी कारको युएई मूल्य ४५ हजार दिराम (करिब १३ लाख ९५ हजार रुपैयाँ) का दरले पाएको एक्सचेञ्जले जनाएको छ ।

उपहार वितरण कार्यक्रममा एक्सचेञ्जका सीईओ हुसेन अल हस्मि, जनरल म्यानेजर कमल सुब्बा, नेपाल प्रमुख बेनीमाधव ढकाल, सेन्चुरी बैक युएई प्रमुख प्रकाश पौडेललगायतको उपस्थिति थियो ।

एक्सचेञ्जका सीईओ हुसेनले विजेतालाई बधाई तथा शुभकामना दिदै आगामी दिनमा पनि ग्राहक लक्षित योजनालाई निरन्तरता दिदै जाने बताए ।

एक्सचेञ्जका जनरल म्यानेजर कमल सुब्बाले युएईमा अल अहलिया एक्सचेञ्जबाट रेमिट गर्नेमा नेपाली पहिलो स्थानमा रहेको जनाउँदै सबैलाई वैधानिक तवरबाट रेमिट गर्न आग्रह गरे ।

उपहार पाएपछि अनलाइनखबरसँग कुरा गर्दै यमनाथ भट्टराईले भने, ‘निरन्तरको मेहनतले सफलता मिल्दो रहेछ । यहाँ रहने नेपालीलाई अल अहलिया एक्सचेञ्जबाट पैसा पठाउन आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment