Comments Add Comment

बुवालाई कलाकार मात्र सोचेर अभिनय गराएको छु : साकार पन्त

हास्यटेलिश्रृंखला ‘हिजोआजका कुरा’ एकताका खुबै चर्चित थियो । त्यसताका टेलिभिजन गाउँ–गाउँ र घरघरसम्म पुगेको पनि थिएन । गाउँभरका मानिसहरु एउटा घरमा भेला भएर टिभी हेर्ने जमाना थियो ।

हिजोआजका कुरा यति धेरै लोकप्रिय थियो कि यसमा अभिनय गर्न मात्र होइन, मुख मात्रै देखाउन पनि सन्तोष पन्तका घरमा नवकलाकारहरु लाइन लाग्थे । तर, साकार पन्तले भने यसरी लाइन लाग्नुपर्थेन । थुप्रै एपिसोडमा बालकलाकारका रुपमा अभिनय गरेका साकार सन्तोष पन्तका छोरा जो थिए ।

निर्देशकका छोरा भएर मात्र होइन, अभिनयमा पनि साकार पारंगत थिए । सिरियलमा प्राय उनी सन्तोष पन्तका छोरा वा नाति बनेका हुन्थे ।

उनै साकार अहिले लाठे भइसकेका छन् । त्यसबेला बुवाको निर्देशनमा अभिनय सिकेका साकार अहिले बुवालाई निर्देशन गर्ने स्थानमा आइपुगेका छन् । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘हिजो आजका कुरा’ अहिले निर्माण भएको छ । योभन्दा अगाडि सहायक निर्देशक बनेर बुवालाई सघाएको अनुभव साकारसँग छ ।

तर, जब हिजो आजका कुरा बन्द भयो, साकार अष्ट्रेलिया पुगे । त्यहाँ उनले ४ वर्ष फिल्म मेकिङ पढे । ४ वर्षपछि नेपाल फर्किएका उनले विभिन्न कार्यक्रमहरु तयार गरेका छन् । ठाउँ ठाउँको कुरा, मेडिकल ड्रामा, केही सर्ट चलचित्र लगायतमा काम गरे । अब उनको परिक्षा ठूलो पर्दामा हुँदैछ ।

कुनै समयको चर्चित सिरियलको नाममा चलचित्र निर्देशन गर्न पाउनुलाई उनले अवसरको रुपमा लिएका छन् ।

उनले भने, ‘यो हाम्रै परिवारको ब्राण्ड भएकाले मैले यसलाई प्रयोग गर्न पाएको छु । सबैले थाहा पाइसकेको नाममा चलचित्र निर्देशन गर्नु मेरो लागि ठुलो अवसर पनि हो ।’

साकारको अगाडि अवसरसँगै चुनौतीहरु पनि धेरै छन् । ब्राण्ड नाममाथि धेरै दर्शकको अपेक्षा हुन्छ । त्यो अपेक्षा पूरा गर्नुपर्ने चुनौती साकारलाई छ । भन्छन्, ‘नाममाथि दर्शकले अपेक्षा गर्नुभएको छ । त्यही अपेक्षा पूरा गर्न पनि मैले भरपुर मेहनत गरेको छु । त्यसले राम्रो काम गर्न प्रेरित गरेको छ ।’

आफ्नो पितालाई निर्देशन गर्न कत्तिको असहज भयो उनलाई ?

साकार भन्छन्, ‘मैले पहिल्यै पनि उहाँलाई निर्देशन गरिसकेको हो । अझ यो चलचित्रमा त उहाँ पूर्ण रुपमा मेरो कलाकार हो । उहाँलाई पिता सोचेर भन्दा पनि मेरो कलाकार सोचेर काम गराएको छु ।’

साकारलाई सन्तोषको छायाँ भन्नेहरु पनि धेरै छन् । बुवाकै कारण मात्र उनले चिनिने अवसर पाएको आरोप लागिरहेको हुन्छ । साकार यस कुरालाई स्विकार्छन् पनि । उनी भन्छन्, ‘मलाई मेरो बुबाको नामबाट चिनिन पाउँदा खुसी लाग्छ । उहाँको छोरा भनेर चिनाउन पाउनु त गर्वको कुरा हो ।’

बुबाकै कारण आफू यस क्षेत्रमा आएको साकार बताउँछन् । ‘यदी उहाँ नभएको भए म यस क्षेत्रमा हुने नै थिइनँ होला,’ साकार भन्छन्, ‘मेरो पहिलो गुरु भनेको नै मेरो बुबा हो । उहाँबाट धेरै कुराहरु सिक्न पाएको छु । त्यसलाई अहिले अभ्यास गर्ने प्रयास गरेको थिए ।’

गीत कपी भएको आरोप !

चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक भइसकेको छ । सार्वजनिक ‘माया जदौ’ गीतले युट्युरबमा गज्जब प्रतिक्रिया पाइरहेको छ ।

गीतले पाएको भ्युज र प्रतिकृयाले खुसी बनाएको साकार बताउँछन् । उनले भने, ‘हाम्रो पहिलो प्रचार सामाग्री नै बुम होस् भन्ने थियो । त्यो कुरालाई यस भिडियोले साकार गरिदिएको छ ।’

भिडियोमा चलचित्र क्षेत्रमा धेरै कलाकारहरुको अनुहार देखाइएको छ । पुरानो पुस्तादेखि नयाँ पुस्ताका कलाकारलाई भिडियोमा समेटिएको छ । यति धेरै कलाकार जुटाउन कुनै गाह्रो नभएको साकारले बताए ।

उनले भने, ‘मलाई सबैले माया गर्नुहुन्छ त्यसैले उहाँहरुलाई भन्न गाह्रो भएन । तर, समय लिन चाहीँ गाह्रो भएको थियो । तर, धेरैले मिलाइदिनु भएको छ । त्यसको लागि आभारी छु ।’

यति हुदाँ हुदैँ भिडियोलाई एक बलिउड चलचित्रको गीतबाट कपी गरिएको आरोप लागेको छ । तर, साकार आफूले कपी नगरेको दावी गर्छन् । उनले भने, ‘होला, हामी केही हदसम्म प्रभावित भएका छौँ । तर, कपी नै भएको भन्न मिल्दैन ।’

यो गीत चलचित्रको भन्दा पनि हिजो आजका कुराको २५ औं वर्ष सेलिब्रेसनको थिममा तयार गरिएको साकारले बताए । उनले भने, ‘हामीले भिडियोमा नै २५ औं वर्ष सेलिब्रेसनको हो भनेका छौँ । तर, गीतलाई हामीले चलचित्रमा पनि लिंक गरेका भने छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment