Comments Add Comment

फिनल्याण्डमा कसरी हुर्काइन्छ बालबालिका ?

नेपालमा बच्चाहरु खुशीको लागि धेरै अभिभावकहरु चिन्तित देखिन्छन् । बच्चाहरुको रेखदेख र उनीहरुको सबै आवश्यकता पूरा गर्ने बाहानामा एकातिर बच्चाहरु गलत बाटोमा लाग्ने गर्छन् भने अर्काे तिर अभिभावकहरुको समय समेत त्यसै खेर गइरहेको हुन्छ ।

स्कूलमा बच्चाको हेरचाहको लागि भनेर अभिभावकबाट पैसा लिने गरिन्छ । तर, धेरै स्कूलहरुमा दर्जनौं बच्चाहरुलाई एकै जनाले हेरचाह गर्न खोज्दा आवश्यक पोषण र खानपाना ध्यान दिन सकेको देखिँदैन । तर, विश्वमा यस्ता देशहरु पनि छन् जहाँ बच्चा हुर्काउने चलन एवं बच्चाको खुशीका कारण यो विश्वभरी नै चर्चित छ । त्यस्तै एउटा देश हो फिनल्याण्ड ।

अहिले विश्वविख्यात नोकिया र एङ्ग्री बर्डस् कम्पनीका कारण पनि चर्चित छ फिनल्याण्ड । पछिल्लो समय यी कम्पनीले आफूलाई विश्व बजारमा प्रमाणित गरिसकेका छन् । यसका बाहेक फिनल्याण्ड उत्कृष्ट विद्यार्थी, उत्कृष्ट विद्यालयको शिक्षा र बाल स्याहारको प्रणाली एवं शैक्षिक उपलब्धीको कारणले पनि यो विश्वमा चर्चित छ ।

अहिले विश्वले फिनल्याण्डबाट नै बच्चाको हेरचाह र स्वास्थ्यको शैली सिक्ने गरेको छ । यस्तै प्रणालीको विकास विश्वभरका अभिभावक एवं परिवारमा पनि देखिन थालेको छ । आखिर फिनल्याण्डमा कसरी हुर्किन्छन् त बच्चाहरु ?

बच्चाको लागि के हुन्छ राम्रो ?

फिनल्याण्डको समाज आफैंमा एक संगठित समाज हो । त्यसैले पनि बच्चाको अभिभावकत्व र स्याहार पनि लैङ्गिक समानताको आधारमा हुन्छ । जन्मदेखि नै यो प्रक्रिया सुरु हुन्छ । अधिकांश अस्पतालले बच्चा जन्मेपछि बाबुआमालाई नै एउटा कोठा दिन्छ ।

यो सोच आमालाई आफ्ना बच्चालाई स्तनपानका लागि प्रेरित गराउन ल्याइएको त्यहाँको सरकार बताउँछ । यसले आमालाई स्तनपानमा ध्यान केन्द्रित गर्न सहयोग पुग्छ । विशेषगरी बच्चाको बाबाले उसको सफाईमा ध्यान राख्न सकून् भन्ने यसको अर्को कारण हो । घरमा बच्चा ल्याएपछि पनि यो क्रम जारी रहन्छ ।

बाबाले धेरैजसो बच्चाको सफाई र खाना पकाउने काम गर्छन् । भेट्न आउने मानिसले पनि उनीहरुलाई कामको चाप केही कम होस् भन्ने हेतुले खानेकुरा लिएर आउँछन् ।

बेबी बक्स

फिनल्याण्डको सरकारले मातृशिशु स्वास्थ्य सेवामा पनि प्रभावकारी काम गरेको पाइन्छ । सन् १९३० को दशकयता निरन्तर रुपमा आमाहरुलाई बच्चा राख्नको लागि ‘बेबी बक्स’ दिने गरिएको छ ।

यसमा बच्चाको कपडा, स्लिपिङ ब्याग, नुहाउने सामग्रीहरु, डाइपरका साथै परिवार नियोजनको सामग्रीसम्म राखिएको हुन्छन् । तर, परिवारलाई यसको सट्टामा पैसा लिनसक्ने व्यवस्था पनि छ ।

पहिलो सन्तान जन्माउने अभिभावकले जहिले पनि बक्स नै छान्ने गरेका छन् । किनकी बक्समा भएका सामग्रीहरु सामान्य पैसाले किन्न सकिँदैन । साथै त्यति धेरै गुणस्तरीय पनि हुँदैनन् । दोस्रो बच्चाको समयमा भने धेरैले आफ्नै पैसाले आवश्यक सामानहरु किन्छन् ।

बाल स्याहार

मातृशिशु स्वास्थ्य कार्यकर्ताले बच्चा जन्मिनुभन्दा पहिला नै घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्छन् । नर्सले आमालाई गर्भवती भएदेखि नै बाल स्याहारका केही कामहरुको जिम्मा लगाउँछन् ।

बच्चाको सातौं वार्षिक जन्मोत्सवसम्म बाल स्याहारको नियम आमाले पूरा गर्नुपर्छ । त्यसको विवरण पनि उनीहरुले बुझाउनुपर्ने हुन्छ । यसले बच्चालाई निरन्तर स्याहार गर्ने मौका मिल्छ ।

उनीहरुले बच्चाको विकास मापन गर्छन्, आमाको स्तनपानको प्रक्रिया र सुधारको अनुगमन गर्छन र सबैभन्दा महत्वपूर्ण कुरा परिवारले कसरी हेरिरहेको छ भन्ने कुराको मूल्यांकन गर्छन् । त्यसपछि बच्चाको अभिभावकत्व निभाउनु झनै समस्याको कुरा हो । नर्सहरुलाई सम्भावित घरेलु हिंसा र हस्तक्षेपबाट बचाउन के गर्ने भन्ने कुराको तालिम पहिले नै दिइएको हुन्छ ।

नयाँ साथी बनाउन पनि सहयोग

बच्चा जन्मेपछि आमाबाबु दुबैलाई २४ साताको बिदा दिइन्छ । स्थानीय अधिकारीहरु र चर्चमा कफी पिउने कार्यक्रम गरेर पनि सामाजिक भाइचारा विकास गर्ने काम गर्छन् । यो क्रममा उनीहरु कसरी बच्चाको ख्याल राख्न सकिन्छ ? भन्ने बारेमा छलफल गर्छन् ।

एकअर्कालाई सहयोग

बच्चा जन्मेपछि आमाबाबुले एक अर्कालाई सहयोग गर्नु महत्वपूर्ण कुरा हो । फिनल्याण्डमा यो अभ्यास सामान्य नै हो । उनीहरु दुबैले बच्चालाई खेल्न, खुवाउन र सफाइमा सहयोग पुर्‍याउँछन् ।

बच्चा विद्यालय जान थालेपछि पनि यो क्रम जारी नै रहन्छ । बच्चाहरु पनि आफैंमा स्वतन्त्र भएर आफ्नो काम गर्न प्रयास गर्छन् । दुबै अभिभावक काममा गएको अवस्थामा प्राथमिक विद्यालयमा पढ्ने बच्चा सबैभन्दा पहिला घर आइपुग्छन् । उनीहरुले आफ्ना अभिभावकलाई घरमा दुईदेखि तीन घण्टासम्म कुर्नुपर्ने हुन्छ ।

यो समयमा उनीहरुले आफ्नो खाजा, सानोतिनो घरको काम तथा घरभित्र र बाहिरको उनीहरु आफ्नै काम गर्छन् । त्यसपछि बेलुका सबै परिवार मिलेर खाना बनाउँछन् ।

आमालाई काम गर्ने स्वतन्त्रता

यस किसिमको व्यवस्थाले जनशक्तिमा महिला र पुरुषको सहभागिता बराबर हुन्छ । साथै फिनल्याण्डको काम गर्ने व्यवस्था पनि अभिभावकहरुको लागि निकै प्रभावकारी छ । अभिभावकलाई बच्चा घरमा आउने समयमा केही समय घर जान दिइन्छ र पछि पुन: काम गरेर आफ्नो काम सकाउन पाइन्छ ।

फिनल्याण्डको राजनीतिमा पनि लैङ्गिक समानताले निकै ठूलो अर्थ राख्ने गरेको छ । सन् १९०७ यता फिनल्याण्डमा महिलाले मतदानको अधिकार पाएका छन् । पहिलोपटक फिनल्याण्डमा १९ महिला सांसद चुनिएका थिए । अहिले संसद्मा ४२ प्रतिशत महिलाको हिस्सा रहेको छ । फिनल्याण्डको सरकारले ल्याएको पछिल्लो नियमले पनि लैङ्गिक समानताको लागि महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment