२२ फागुन, पोखरा । आहा ! रारा गोल्डकप फुटबलमा आयोजक सहाराले विजयी सुरुवात गरेको छ ।
बिहीबार भएको उद्घाटन खेलमा १० खेलाडीमा सिमित भएको साहाराले ब्रिगेड ब्वाइजलाई ३–२ गोल अन्तरले हराएको हो । पोखरा रंगशालामा भएको खेलमा सहारा २७ औं मिनेटमा नै १० खेलाडीमा सीमित भएको थियो । उसका जीवन रायमाझीले दोहोरो पहेँलोसँगै रातो कार्ड पाएका थिए ।
तर ब्रिगेडले त्यसको फाइदा उठाउन सकेन । दुई पटक लिएको अग्रता पनि जोगउन सकेन ।
खेलको ५७ औं मिनेटमा राजेश परियारले गोल गर्दै ब्रिगेड ब्वाइजलाई अग्रता दिलाए । तर चार मिनेटपछि नै सहाराका लागि क्यामरुनका खेलाडी सिवीले बराबरी गोल फर्काए । कमल थापाको फ्रिकिकमा सिवीले उत्कृष्ट हेड गोल गरेका हुन् ।
गोलको सेलिब्रेसन सक्दा नसक्दै ब्रिगेडले फेरि अग्रता लियो । उसका लागि ६२ औँ मिनेटमा विजय गुरुङले गोल गरे । यो अग्रता पनि धेरै समय भने टिक्न सकेन ।
७८ औँ मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै सहारालाई बराबरीमा पुर्याए । निर्धारित समयमा खेल बराबरी भएपछि अतिरिक्त समयको सदुपयोग गर्दै सहाराले एक गोल थप्यो अतिरिक्त समयको १२ औं मिनेटमा त्रिदेव गुरुङले विजयी गोल गरे ।
शुक्रबार एपीएफ क्लब र झापा ११ बीच हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया 4