+

जिम्न्यास्टिकमा दोस्रो चरणको प्रतिस्पर्धा सुरु, ९० खेलाडी सहभागी

२०८३ मंसिर  ११ गते १९:१७ २०८३ मंसिर ११ गते १९:१७

११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकतर्फ दोस्रो चरणका प्रतिस्पर्धा सुरु भएका छन्। वीरेन्द्रनगरस्थित मिनी कभर्डहलमा जारी प्रतियोगितामा नौ टोलीका ९० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

बिहीबार र शुक्रबार फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायत विधामा पहिलो चरणका खेल सम्पन्न भएपछि खेलाडीहरू दोस्रो चरणमा प्रवेश गरेका हुन्।

जिम्न्यास्टिकका मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार अधिकांश खेलाडीले प्रारम्भिक चरणको प्रतिस्पर्धा पूरा गरी दोस्रो चरणमा स्थान बनाएका छन्। तीन चरणमा सञ्चालन हुने प्रतियोगिताको कम्पिटिसन–२ (अलराउन्ड) विधामा ४२ महिला र ४८ पुरुष गरी ९० खेलाडी सहभागी छन्।

प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, बागमती, लुम्बिनी, गण्डकी र कोशी प्रदेशसँगै विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाले सहभागिता जनाएका छन्। कर्णाली प्रदेशबाट भने एक जना मात्र खेलाडी सहभागी छन्।

प्रतियोगितामा खेलाडीहरूले विभिन्न विधामार्फत आफ्नो कौशल, शारीरिक सन्तुलन र प्रदर्शन क्षमता प्रस्तुत गरिरहेका छन्।

प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार योजनाबद्ध रूपमा अघि बढेको बताए।

‘खेल पूर्वाधार निर्माण, नियमित प्रतियोगिता र व्यावसायिक खेलको विस्तारमार्फत खेल क्षेत्रको विकासका लागि योजनाबद्ध कदमहरू अघि बढाइनेछ,’ उनले भने, ‘प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रममार्फत खेल क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखिसकेको छ।’

उनले दशौँ राष्ट्रिय खेलकुदले नयाँ प्रतिभा पहिचान गर्न र प्रदेशस्तरमा खेल पूर्वाधार विकास गर्न मद्दत पुग्ने अपेक्षा व्यक्त गरे।

१०औँ राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय