११ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
समूह ‘डी’ अन्तर्गत शुक्रबार कालुन्चोक क्रिकेट मैदानमा भएको खेलमा मधेशले पुलिसलाई २९ रनले पराजित गरेको हो । मधेशले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले पूरा २० ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनायो ।
पुलिसका लागि रासिद खानले सर्वाधिक ४१ रन बनाए । चन्द्रकान्त पौडेलले १९ तथा श्रवण यादवले १६ रन बनाए । दिलिप नाथले १४ तथा सागर ढकालले १० रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेशले २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो । सन्तोष कार्कीले सर्वाधिक ६० रन बनाए भने विवेक यादवले ३७ रन बनाएर अविजित रहे ।
पुलिसका रासिद खान, चन्द्रकान्त पौडेल, दीपक सेरला र श्रवण यादवले १-१ विकेट लिए ।
यो समूहमा पुलिस र मधेश मात्र छन् । दुई टिममात्र भएकोले समूहमा दुई खेल खेलाएर समुह विजेता टुङ्गो लगाइने दशाैं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटका संयोजक तथा क्यान केन्द्रीय सदस्य श्री केसीले जानकारी दिए ।
‘क्रिकेटमा ११ टिम भएकोले त्यो समूहमा दुई टिम मात्र भयो । त्यसैले दुई खेल हुनेछ । अब मधेशले अर्को खेल जितेमा सिधै सेमिफाइनल पुग्नेछ। पुलिसले जितेमा रनरेट निर्णायक हुनेछ’ उनले भने ।
प्रतिक्रिया 4