+

१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मीको लगातार दोस्रो जित

२०८३ मंसिर  ११ गते १७:२९ २०८३ मंसिर ११ गते १७:२९

११ मंसिर, सुर्खेत । त्रिभुवन आर्मी क्लबले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ। शुक्रबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई २–० गोलले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्मीले दोस्रो हाफमा दुई गोल गर्‍यो। ६४औं मिनेटमा लाकेन लिम्बुले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ९७औं मिनेटमा दोस्रो गोल थप्दै आर्मीको जित सुनिश्चित गरे।

खेलमा पाँच पहेँलो कार्ड देखाइएको थियो। आर्मीका लाकेन लिम्बुले १२औँ, अनुभव पुरीले ३९औँ र बिमल पाण्डेले ९२औँ मिनेटमा पहेँलो कार्ड पाए। बागमतीका रोनिस राजबाहकले ८८औँ र भुवन कामीले ९२औँ मिनेटमा पहेँलो कार्ड पाएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।

पहिलो खेलमा लुम्बिनी प्रदेशलाई हराएको आर्मीले बागमतीलाई पनि पराजित गरेपछि ६ अंक जोडेको छ। पहिलो खेलमा कोशी प्रदेशसँग बराबरी खेलेको बागमतीको एक अंक छ।

शनिबार पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब तथा दोस्रो खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

१०औँ राष्ट्रिय खेलकुद पुरुष फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय