+

१०औं राष्ट्रिय खेलकुदलाई स्वच्छ र सभ्य बनाउन वीरेन्द्रनगरको अपिल

२०८३ मंसिर  ११ गते १६:३७ २०८३ मंसिर ११ गते १६:३७

११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य, सभ्य र स्वच्छ बनाउन वीरेन्द्रनगर नगरपालिकाले नगरवासी, उद्योगी–व्यवसायी, संघसंस्था तथा नागरिक समाजसँग सक्रिय सहभागिताका लागि अपिल गरेको छ ।

नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी) ले अपिल जारी गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा पाहुनालाई आत्मीय स्वागत र सत्कार गर्न सबै नगरवासीलाई आग्रह गरेकी छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मंसिर ८ गतेदेखि प्रतियोगिताका खेल सञ्चालन भइरहेका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने र मंसिर २७ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ ।

नगरपालिकाले १०औं राष्ट्रिय खेलकुदलाई कर्णालीको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ । हजारौं पाहुनाको स्वागत, सत्कार र व्यवस्थापनसँगै नगरको स्वच्छता कायम राख्नु सबैको साझा जिम्मेवारी भएको नगर प्रमुख ढकालले उल्लेख गरेकी छन् ।

अपिलमा टोल विकास संस्था र आमा समूहलाई ‘मेरो टोल, सफा टोल’ अभियानअन्तर्गत घरआँगन, सडक, गल्ली, नाली र चोकको सरसफाइ तथा फोहोरको वर्गीकरण र उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

त्यस्तै उद्योगी, व्यवसायी तथा होटल सञ्चालकलाई आफ्ना व्यावसायिक स्थल सजाउन र पाहुनाका लागि स्वच्छ, सुरक्षित तथा सहुलियतपूर्ण आवास र खानाको व्यवस्था गर्न अनुरोध गरिएको छ ।

१०औँ राष्ट्रिय खेलकुद वीरेन्द्रनगर नगरपालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय