११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र टर्च र्यालीमा सहभागी हुने टोलीलाई शुक्रबार बिदाइ गरिएको छ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, कार्यकारी समितिका सदस्य पवन शाही, सदस्य शक्तिप्रसाद गौचन र कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाललगायतले सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलबाट टोलीलाई बिदाइ गरेका हुन्।
र्याली टोलीमा नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, हरिबहादुर रोकाया र देबु थापा, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ तथा कराते खेलाडी मन्डेकाजी श्रेष्ठ सहभागी छन्।
र्यालीको औपचारिक सुरुवात दैलेखको शिरस्थानबाट हुनेछ। त्यसपछि टोली कालीकोट हुँदै जुम्ला पुग्नेछ। जुम्लामा चर्चित अल्ट्रा धाविका सुनमाया बुढा पनि टोलीमा सहभागी हुने कार्यक्रम छ। कालीकोट र जुम्लामा ट्रफी र टर्चसहित नगर परिक्रमा गराइनेछ।
जुम्लाबाट मंसिर १५ गते सुर्खेत आइपुग्ने टोलीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले स्वागत गर्ने कार्यक्रम रहेको अध्यक्ष विष्टले जानकारी दिएका छन्।
प्रतिक्रिया 4