१० मंसिर, काठमाडौं । सीसीएएन टी–१० क्रिकेट च्याम्पियनसिप बिहीबारदेखि सुरु भएको छ। चन्द्रागिरि क्रिकेट मैदानमा भएको उद्घाटन दिनका खेलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए), चन्द्रागिरि क्रिकेट एसोसिएसन नेपाल (सीसीएएन) र क्यानन क्रिकेट क्लब विजयी भएका छन्।
उद्घाटन खेलमा जीएचसीएले थानकोट वारियर्सलाई नौ विकेटले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको थानकोट ९.३ ओभरमा ७० रनमा अलआउट भयो। उसका आरश तामाङले १६ र प्रदीप धामीले १५ रन बनाए। जीएचसीएका रुपेश श्रीवास्तवले चार विकेट लिए।
७१ रनको लक्ष्य जीएचसीएले ५.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। अशोक पौडेलले अविजित २८, क्रिस कार्कीले २२ र नितेश मोक्तानले अविजित २१ रन बनाए।
दोस्रो खेलमा घरेलु टोली सीसीएएनले पुष्पलाल स्पोर्ट्स क्लबलाई ७१ रनले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको सीसीएएनले निर्धारित १० ओभरमा पाँच विकेट गुमाएर १३५ रन बनायो। उसका दिनेश सुबेदीले २४, संगम न्यौपाने र स्वरूप श्रेष्ठले समान २३ रन जोडे। पुष्पलालका विक्रम पाण्डेले दुई तथा अमन यादव र दीपक भण्डारीले समान एक विकेट लिए।
१३६ रनको लक्ष्य पछ्याएको पुष्पलालले निर्धारित १० ओभरमा पाँच विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो। उसका जनक क्षेत्रीले सर्वाधिक ३६ रन बनाए। सीसीएएनका मुकेश ओझाले दुई तथा संगम न्यौपाने र नटराजन कुमारले समान एक विकेट लिए।
तेस्रो खेलमा क्यानन क्रिकेट क्लबले जम्पर्स क्रिकेट एकेडेमीलाई नौ विकेटले पराजित गर्यो। टस हारेर पहिले ब्याटिङ गरेको जम्पर्सले निर्धारित १० ओभरमा आठ विकेट गुमाएर ७५ रन बनायो। उसका अनिश सापकोटाले १५ तथा रञ्जित दाहाल र रोबिन्द्र कुमारले समान १३ रन बनाए। क्याननका गणेश विष्टले चार विकेट लिए।
७६ रनको लक्ष्य क्याननले ४.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। उपेन्द्र खत्रीले १७ बलमा ४९ रनको आक्रामक इनिङ खेले। आश्रय अधिकारीले २२ रन बनाए।
प्रतिक्रिया 4