११ मंसिर, सुर्खेत । दीपक बोहराको अर्धशतकीय पारीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
कालुन्चोक मैदानमा शुक्रबार भएको खेलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले हराउँदै दुई अंक जोडेको हो। टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५४ रन बनाएको थियो ।
एपीएफका लागि दीपक बोहराले ४४ बलमा ४ चौका र ३ छक्कासहित ५७ रन बनाए। सुमित महर्जनले २१ बलमा २८ तथा अमर सिंह रौटैलाले १३ बलमा १६ रनको योगदान दिए ।
१५५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो। कोशीका अंकित सुवेदीले सर्वाधिक ५२ रन बनाए। उनले ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। कृतिक कामतले ३८ बलमा २७ तथा समीर कार्कीले ७ बलमा ११ रन बनाए।
एपीएफका अमर सिंह रौटेलाले ३ विकेट लिए। अविनाश बोहराले २ तथा भुवन कार्की, सन्तोष यादव र प्रज्ज्वल शाहले १–१ विकेट हात पारे।
प्रतिक्रिया 4