११ मंसिर, सुर्खेत । इन्दु बर्मा र रोमा थापाको महत्वपूर्ण साझेदारीमा एपीएफ क्लबले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा मधेश प्रदेशलाई ८० रनले पराजित गरेको छ।
लगातार दोस्रो जितसँगै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ। एपीएफले दिएको १४४ रनको लक्ष्य पछ्याएको मधेशले ७ विकेट गुमाएर ६३ रन मात्रै बनाउन सक्यो।
मधेशका सुरुआती तीन ब्याटर एलिशा यादव, सना प्रविन र कप्तान पूजा महतो रन नबनाई आउट भए।
सरस्वती चौधरीले १७ र अनुराधा चौधरीले १४ रन बनाए। रोजी कडारी ८ रनमा अविजित रहँदा सिवानी साहले ६ रन थपिन्। मधेशले १८ अतिरिक्त रन पाएको थियो।
एपीएफका सुमन विष्ट र राजमती ऐरीले २–२ तथा कविता जोशी र रेखा रावलले १–१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ६ विकेट गुमाएर १४३ रन बनाएको थियो।
३ रनमै तीन विकेट गुमाएको एपीएफलाई इन्दु र रोमाले सम्हालेका थिए। उनीहरूले चौथो विकेटका लागि ९५ रनको साझेदारी गरे। कप्तान सीता रानामगर र राजमती ऐरी शून्यमा आउट भएपछि दबाबमा परेको एपीएफका लागि यो साझेदारी महत्वपूर्ण बन्यो।
इन्दुले ५१ बलमा ९ चौकासहित ५६ रन बनाइन्। इन्दु आउट भएपछि रोमाले कविता जोशीसँग मिलेर ३७ रनको साझेदारी गरिन्। रोमा ४४ बलमा ४ चौकासहित ४४ रनमा अविजित रहिन्। कविताले २३, करुणा भण्डारीले ५ र रेवती धामीले २ रन बनाइन्। एपीएफले १३ अतिरिक्त रन पाएको थियो।
मधेशका लागि कप्तान पूजा महतोले २ तथा सरस्वती चौधरी, प्रसिद्धिका खड्का र प्रज्ञा क्षेत्रीले १–१ विकेट लिए।
प्रतिक्रिया 4