Comments Add Comment

छाउ हुँदा विद्यालय छाड्ने छात्राको संख्या घट्दै

२४ फागुन, बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिका–४ सिमकुरुको भावना आधारभूत विद्यालयमा अध्ययनरत रमिता रोकाया र बीमा रोकाया दुई वर्ष अघि वार्षिक परीक्षाको समयमा महिनावारी भए । महिनावारी हुँदा विद्यालय जानु हुँदैन भन्ने अन्धविश्वास थियो । त्यसै कारण कक्षा ७ मा पढ्ने दुवै परीक्षा छोड्न तयार भए तर विद्यालय गएनन् । विद्यालय नजिकै देवीदेउताको मन्दिरसमेत भएकोले समाजकै डरले उनीहरु विद्यालय पुगेनन् । उनीहरुलाई अर्को प्रश्न पत्र बनाएर परीक्षा लिन विद्यालयलाई सम्भव थिएन । शिक्षकले पनि विद्यालयमा नै आएर परीक्षा दिन लगाउने आँट गरेनन् बरु घरमै प्रश्न पत्र पु¥याएर शिक्षकको निगरानीमा परीक्षा दिन लगाइयो ।

यो कुरुक्षेत्रको एउटा प्रतिनिधिमूलक प्रसङ्ग मात्र हो । विद्यालय परिसरमै भगवती माई, कैलाश, मस्टा देउताका मन्दिर छन् । देउताकै डरले उनीहरु महिनावारी भएको पाँच दिन विद्यालय नआउने गरेको भावना आधारभूत विद्यालयका निमित्त प्रधानाध्यापक दिनानाथ चौधरीले बताए । छात्रा मात्र नभई विद्यालय पढाउने शिक्षिकादेखि विद्यालय व्यवस्थापन समितिका महिला सदस्यसमेत विद्यालयमा पढाउन र बैठकमा जाँदैनन् । महिनावारी हुन थालेका छात्राले वर्षको ६० दिन अनिवार्य विद्यालय बाहिर बस्नुपर्ने बाध्यता थियो । तर, हाल बिरामी र घरको अनिवार्य कामबाहेकका अरु दिन नियमित विद्यालय आउने गरेको शिक्षकको भनाइ छ ।

सोही नगरपालिका–४, कुरुक्षेत्रका देवलडाँडा मावि, भावना र बूढीनन्दा आधारभूत विद्यालयमा देखिने यी समान प्रकृतिका समस्या हुन् । महिनावारी हुँदा छात्रा विद्यालय नआउने देवलडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रह्लाद श्रेष्ठ स्वीकार्छन् । ‘अहिले केही समय भयो छात्रा नियमित विद्यालय आउँछन्, अघिल्लो शैक्षिक सत्रसम्म कोही पनि आउँदैन थिए,’ ? श्रेष्ठले भने, ‘विद्यालयमा छात्रा नै बढी हुने तर उनीहरुनै नआउँदा पठनपाठनमा समस्या भएर शैक्षिक उपलब्धि नै न्यून हुन्थ्यो । यो शैक्षिक सत्रदेखि केही सुधार भएको छ ।’

देवडाँडा माविको शैक्षिक उपलब्धि दर हालसम्म पनि ४० देखि ४५ प्रतिशत छ । ‘छात्रा नियमित आउन थालेपछि सुधार भएको हो, केटाले मात्र नियमित कक्षा लिएर हुँदैन, शिक्षिका पनि नआउने दैनिकजसो पढाइ नै प्रभावित हुने गरेको थियो,’ प्रअ श्रेष्ठले सुनाए ।

उनका अनुसार अझै कुरुको घोडाकोट क्षेत्रका ३५ बढी छात्रा नियमित विद्यालय आउने गरेका छैनन् । बाटोमा दोगाडे खोला पर्ने र पर्वतबाट आएको पवित्र पानी महिनावारी भएको महिलाले नाघ्न नहुने अन्धविश्वासले नआएको बताइएको छ । तर यो शैक्षिक सत्रदेखि भने कुनै समस्या नभएको वडाध्यक्ष राजन रोकायाको भनाइ थियो । कुरुक्षेत्रलाई देवभूमिका रुपमा चिनिन्छ । कुरुक्षेत्रमा १२ कोटी देउता बस्ने गरेको धार्मिक मान्यता छ । हिँड्ने बाटासमेत अलग हुने र सिङ्गो बस्तीमा समेत छाउ हुँदा बस्न नपाइने प्रचलन छ । राज्यले ल्याएको कानून र त्यसको कार्यान्वयनसँगै सबै प्रकारका विभेद र अन्धविश्वास हटाउने अभियानपछि अवस्था सुधार हुँदै गएको छ ।

‘वर्षमा ६० दिन बढी छात्रा गयल हुनुपर्ने अवस्था थियो, अब त्यो हटेको र शैक्षिक गुणस्तरमा सुधार देखिन थालेकामा खुशी लागेको छ’, वडा अध्यक्ष रोकायाको भनाइ छ ।

विद्यालयमा पढाइ र शैक्षिक उपलब्धिसँगै महिलाको स्वास्थ्य र सुरक्षामा पनि सुधार हुँदै गएको भावना आधारभूत विद्यालयका शिक्षिका बेलकुमारी रोकायाले बताए । पिसविन नामक गैरसरकारी संस्था र वडा कार्यालयले संयुक्तरुपमा छाउपडीविरुद्धको अभियान चलायो । गोठ भत्काएपछि बल्ल नियमित विद्यालय आउने र गोठ छोडेर घरभित्र बस्न थालेको वडाध्यक्ष रोकायाको भनाइ थियो । जनप्रकाश मावि कोल्टी कक्षा १२ मा पढ्ने करिश्मा रोकायासँग छाउ हुँदा विद्यालय नगएको सम्झना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment