+
+
Shares

बालुवाटार फर्किए प्रधानमन्त्री, तर भेटघाट र बाहिरी हिँडडुलमा रोक

सागर बुढाथोकी सागर बुढाथोकी
२०७६ फागुन ३० गते १९:०५

३० फागुन, काठमाडौं । मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी स्वास्थ्य लाभपछि शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएका छन् । ‘उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । त्यसैले डिस्चार्ज गरेका हौं’ अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले भने ।

अस्पतालबाट बाहिरिने क्रममा उनलाई चिकित्सकहरुले समाएर गाडीसम्म ल्याएका थिए । गाडी चढ्नुअघि प्रधानमन्त्री ओलीले हाँसेर हात हल्लाएका थिए ।

सामान्य त एक सातामा नै फलोअपका लागि अस्पताल आउनुपर्ने हो तर अस्पतालको मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागकी प्रमुख  डा. दिव्या सिंह शाह आफैं प्रधानमन्त्रीको निजी चिकित्सक छिन् र ओली बालुवाटारमा नै चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा रहनेछन् ।

विषेश इन्भेस्टिगेसन गर्नुपर्ने भए मात्र प्रधानमन्त्री अस्पताल आउनसक्ने डा. खड्गाले बताए ।

तत्काल नियमित भेटघाट नगर्ने

चिकित्सकहरुका अनुसार बालुवाटारमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रहँदा प्रधानमन्त्रीले आवश्यक सतर्कताका साथ नियमित काम गर्न सक्ने छन् ।

तर तत्काल नियमित भेटघाट र बाहिर हिँडडुल गर्न मिल्दैन । उपचारमा संलग्न प्रा. डा. उत्तम शर्माले भने, ‘बालुवाटार गइसकेपछि पनि धेरै मानिससँग भेटघाट गर्न दिँदा उहाँलाई संक्रमणको जोखिम हुन्छ ।’

चिकित्सकहरुका अनुसार मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिलाई तीन महिनासम्म संक्रमणको उच्च जोखिम हुन्छ । त्यसैले यो अवधिसम्म भीडभाड तथा सार्वजनिक कार्यक्रमहरुमा नजान प्रधानमन्त्री ओलीलाई सुझाइएको छ ।

उनीहरुका अनुसार प्रधानमन्त्रीलाई बालुवाटारमा शान्त र सफा वातावरणमा राख्नुपर्छ । त्यसअनुसारकै व्यवस्था बालुवाटारमा मिलाइएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली दोस्रो मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएका थिए । उनको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

अस्पतालमा रहँदा उपचारमा संलग्न चिकित्सकहरु बाहेक आठौं दिन मिर्गौला दाता समीक्षा संग्रौला र नवौं दिन प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई भेट्न दिइएको थियो ।

तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?