Comments Add Comment
कोरोनाविरुद्ध साझा रणनीति बनाउने प्रयास :

सार्क राष्ट्रबीच आज भिडियो वार्ता, प्रधानमन्त्री ओली सहभागी हुने

२ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले आज भिडियो कन्फरेन्समार्फत् छलफल गर्ने भएका छन् । भिडियो कन्फरेन्स नेपाली समयअनुसार साँझ सवा पाँच बजे हुनेछ ।

भिडियो वार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली आफैं सहभागी हुनेछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली सहभागी हुन लागेको यो पहिलो औपचारिक कार्यक्रम हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयभित्र रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले सार्क देशहरुले कोरोनाविरुद्ध लड्न साझा रणनीति बनाउने बताएका छन् ।

भिडियो कन्फरेन्समार्फत् सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो देशले गर्दै आएको र गर्नुपर्ने कामका विषयमा धारणा राख्नेछन् । त्यसपछि एकीकृत रणनीति बनाउने योजना छ ।

यसअघि मोदीले सामाजिक सन्जाल ट्वीटरमार्फत् सार्क सदस्य राष्ट्रहरुले कोरोनाविरुद्धको लडाइँमा एकीकृत योजना बनाउन प्रस्ताव गरेका थिए । उनको यो प्रस्तावमा नेपालसहित सबै सदस्य राष्ट्रहरुले सहमति जनाएका थिए ।

भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण लामो समयदेखि सार्क निष्कृय छ । तर, भिडियो कन्फरेन्समा पाकिस्तान पनि सहभागी हुने बताइएको छ ।

सार्कको सदस्यमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन् । हाल सार्कको अध्यक्षता नेपालले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment