+
+
Shares

लेकालीको अडियो काण्डको प्रदेश ५ को संसदमा चर्चा

छानबिन गर्न प्रतिपक्षी सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १६:३३

४ चैत, बुटवल । कम्युनिस्ट सरकारको पैसामा कांग्रेसका कलाकारलाई स्टेजमा उफारेकाले बुटवलको मेला बन्द गराएको भन्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट एक कलाकारले फोन संवाद काण्डले प्रदेशसभामा प्रवेश पाएको छ ।

मंगलबार बसेको प्रदेशसभा वैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु फखरुद्दिन खान र वीरबहादुर रानाले उक्त अडियो काण्डमा प्रदेश सरकारका दुईजना मन्त्रीहरुको नाम पनि जोडिएकाले निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे ।

रुपन्देही ५ का सांसद फकरुद्दिन खानले नेकपा निकट कलाकार नारायण खनाल (लेकाली)ले बोलेको कुरा व्यक्तिगत नभइ सत्ता र शक्तिको आडमा राज्य आतंकको नमूना भएको टिप्पणी गरे ।

जनताको करबाट उठेको रकमलाई कम्युनिस्ट सरकारको पैसा भनेर भन्नु आपत्तिजनक भएको र कम्युनिस्टका कलाकारलाई स्टेजमा नबोलाएका कारण मन्त्री र सीडीओलाई दबाब दिएर मेला बन्द गराउनुले विधिको शासन र कानुनी राज्यको उपहास भएको सांसद खानको तर्क छ । ‘जनताले तिरेको करलाई पार्टीको पैसा भन्ने, यो प्रवृत्ति बहुमतको दम्भमा कम्युनिस्टहरुको राज्य आतंकको नमूना हो,’ सांसद खानले भने, ‘अडियोमा दुईजना मन्त्रीको नाम पनि जोडिएको छ, त्यसैले यसको निष्पक्ष छानबिन हुनुपर्छ ।’

कलाकार लेकालीले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरी र सामाजिक विकासमन्त्री सुदर्शन बराल र सीडीओ महादेव पन्थलाई फोन गरेर/थर्काएर मेला बन्द गराएको फोन संवादमा बोलेका थिए ।

पाल्पाका सांसद वीरबहादुर रानाले सत्तारुढ पार्टी सम्वद्ध कलाकारको अडियो सुन्दा मुलुकमा कोरोना भाइरसभन्दा पनि खतरानाक रुपमा कम्युनिस्ट कार्यकर्तामा बहुमतको आडमा मनपरी गर्ने मनोवृत्तिले सीमा नाघेको आभास भएको बताए ।

‘कम्युनिस्ट कार्यकर्ताले मन्त्री र सीडीओलाई थर्काउने, युवा संघ परिचालन गरेर मेला बन्द गराउनेसम्मका हर्कत गर्नु कोरोना भाइरसभन्दा खतराको विषय हो,’ सांसद रानाले भने, ‘मन्त्रीहरुको समेत नाम मुछिएको छ, छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउनुपर्छ ।’

लेकालीले मेला महोत्सवमा नेकपा निकट कलाकारलाई नबोलाए प्रदेश ५ भरि नै मेला महोत्सव गर्न नदिने धम्की दिएका थिए । उनले कम्युनिस्टको ठाउँमा कांग्रेसका कलाकारलाई स्टेजमा बोलाउँदा ढुंगामुढा खानु स्वभाविक भएको पनि बोलेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश ५ ले फागुन २१ गतेदेखि चैत २ गतेसम्म सञ्चालन गर्ने गरी सुरु गरेको मेला एकहप्ता नहुंदै स्थगित भएको थियो ।

बैठकमा बोल्दै सांसद डिल्लीबहादुर चौधरी, रामजी घिमिरे, कूलप्रसाद पोखरेल, विजयबहादुर यादव, धनकली चौधरी, दीपा विक, भोजप्रसाद श्रेष्ठ, धर्मबहादुरलाल श्रीवास्तवले असिना पानीले अर्घाखाँचीको शीतगंगा नगरपालिका र भूमिकास्थान गाउंपालिकामा एक-एक जना गरी दुईजनाको र बर्दियामा असिनापानीसँगै चट्याङ पर्दा दुईजनाको मृत्यु मृत्यु भएको र अन्नबालीमा ठूलो क्षति भएकाले राहत तथा क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?