Comments Add Comment

कोरोना प्रभाव : युट्युब र नेटफ्लिक्सले घटाए भिडियो क्वालिटी

कोरोना भाइरसले आम जनजीवनमा प्रभाव पारिरहेकै छ । मानिसहरू आफ्नो कार्यस्थल जान नपाई घरभित्रै बस्नुपर्दा इन्टरनेटको खपत उच्च दरमा बढ्नुका साथै भिडियो स्ट्रिमिङ्ग साइटहरूमा प्रयोगकर्ताको चाप अत्यधिक बढेको छ । यसका कारण साइटहरू नै कोल्याप्स हुने जोखिम बढिरहेको छ ।

यही जोखिमलाई मध्यनजर गर्दै युट्युब र नेटफ्लिक्सले भिडियोको स्ट्रिमिङ्ग क्वालिटी घटाउने भएका छन् । प्रयोगकर्ताको चाप अकल्पनीय रूपमा बढेसँगै युट्युब र नेटफ्लिक्सले युरोपेली मुलुकहरूमा एक महिनाका लागि भिडियो स्ट्रिमिङ्ग क्वालिटी घटाउने भएका हुन् ।

भिडियो स्ट्रिमिङ्ग गुणस्तर घटाउँदा युरोपियन नेटवर्कहरूमा नेटफ्लिक्सको इन्टरनेट ट्राफिक २५ प्रतिशतले घट्ने अनुमान नेटफ्लिक्सका प्रवक्ताले गरेका छन् ।

त्यस्तै युट्युबको मातृ कम्पनी गुगलका प्रवक्ताले युट्युब प्रणालीको बढ्दो चापलाई कम गर्नका लागि तथा युट्युब प्रयोगकर्तालाई सन्तोषजनक सेवा प्रदान गर्नका लागि सम्बन्धित मुलुकका सरकारहरूका साथै नेटवर्क अपरेटरहरूसँग मिलेर काम गरिरहेको बताएका छन् ।

इन्टरनेटलाई कोल्याप्स हुनबाट बचाउनका लागि एचडी भिडियो प्रशारणमा रोक लगाउन युरोपेली युनियनले गरेको अपिलसँगै युट्युब र नेटफ्लिक्सले यस्तो निर्णय गरेका हुन् ।

युरोपेली मुलुकहरूमा लकडाउनसँगै दशौँ लाख कामकाजी मानिसहरूले घरबाटै अनलाइन मार्फत काम गरिरहेका तथा विद्यार्थीहरूले इन्टरनेटबाटै लेखपढ गरिरहेका अवस्थामा इन्टरनेटमा अकल्पनीय चाप बढेको भन्दै इयूका अधिकारीहरूले जुनसुकै बेला इन्टरनेट कोल्याप्स हुनसक्ने चिन्ता जाहेर गरेका थिए ।

इन्टरनेटलाई कोल्याप्स हुनबाट जोगाउनका लागि भिडियो स्ट्रिमिङ्ग साइटहरूले एचडी भिडियोमा रोक लगाएर इन्टरनेटको ट्राफिक कम गर्नुपर्ने इयूका अधिकारीहरूले बताएका थिए ।

इयूको इन्टरनेट बजार हेर्ने आयुक्त थिएरी ब्रेटनले बुधबार र बिहीबार नेटफ्लिक्सका सीर्ईओ रिड हास्टिङसँग भेट गरी भिडियो स्ट्रिमिङ्ग साइटहरूका कारण इन्टरनेट नेटवर्कमा परेको अत्यधिक चापका बारेमा जानकारी गराएका थिए ।

बैठकपछि जारी गरेको विज्ञप्तिमा ब्रेटनले भनेका थिए, ‘भाइरस संक्रमणविरुद्धको संघर्ष भइरहेको यस अभूतपूर्व समयमा इन्टरनेटलाई सञ्चालनमा राख्नका लागि स्ट्रिमिङ्ग प्लाटफर्म, टेलिकम अपरेटर तथा प्रयोगकर्ताहरूले सहकार्य गरी जिम्मेवारीपूर्वक आवश्यक कदम चाल्नुपर्दछ ।’

सन् २०१९ मा अमेरिकाको नेटवर्किङ उपकरण कम्पनी स्याण्डभाइनका अनुसार, इन्टरनेट प्रोभाइडरहरूबाट उपभोक्तालाई प्रदान हुने इन्टरनेट डाटामध्ये ६० प्रतिशत डाटा भिडियो स्ट्रिमिङ्गमा खर्च हुने गरेको छ । त्यसमा कूल ट्राफिकको १२ प्रतिशत हिस्सा नेटफ्लिक्स र १२ प्रतिशत हिस्सा युट्युबले ओगटेको छ ।
नेटफ्लिक्सका प्रवक्ताका अनुसार, युरोपमा भिडियोको स्ट्रिमिङ्ग क्वालिटी घटाउँदा पनि केही प्रयोगकर्ताले मात्र भिडियोको गुणस्तरमा गिरावट आएको अनुभव गर्नेछन् भने अन्यले कुनै प्रभाव अनुभव गर्ने छैनन् ।

उता अमेजनका प्रवक्ताका अनुसार, अमेजनले समेत प्राइभ भिडियो सर्भिसमा स्ट्रिमिङ्ग गति घटाउने नेटवर्क जाम घटाउने प्रयास सुरु गरेको छ ।

युरोपेली आयोगका अनुसार, युरोपमा इन्टरनेटको खपतमा अभूतपूर्व रूपमा वृद्धि भएको भए पनि हालसम्म इन्टरनेटमा गडबडी आउने वा नेटवर्कमा असर पर्ने घटना भएको छैन ।

उता, टेलिकम अपरेटरहरूले पनि आफ्ना प्रयोगकर्ताहरूलाई इन्टरनेटमा भिडियो हेर्दा एचडी क्वालिटीमा नभई स्टाण्डर्ड क्वालिटीमा हेर्न आग्रह गर्ने बताएका छन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment