Comments Add Comment

कोरोनाविरुद्ध लड्न चिनियाँ मोडल अपनाइने

९ चैत, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसको संक्रमण रोक्न नेपालमा पनि चिनियाँ मोडल अपनाइन्ने बताएका छन् ।

चिनियाँ सरकारसँग उसले अपनाएको उपाय अंगीकार गर्न चिनियाँ चिकित्सकबाट प्रशिक्षण माग गरेको उनले बताए । ‘हिजोसम्म एउटा होमवर्क थियो त्यो भन्दा अब चिनियाँ मोडलमा जाने, उनीहरुको सुझाव/सल्लाहलाई अंगीकार गर्ने’, त्यसका लागि चीनसँग चिकित्सकको टिमबाट प्रशिक्षण माग गर्ने भन्ने भएको छ’ मन्त्री भट्टले भने ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट चीनमा ३ हजार २ सय जनाको मृत्यु भएको थियो । अहिले चीनमा यो रोगको संक्रमण करिब नियन्त्रणमा आएको छ ।

युरोपतिर महामारीकै रुप लिइरहेका बेला चीनमा कोरोना भइरस नियन्त्रणउन्मुख हुँदै गएपछि सरकार चिनियाँ मोडलमै सर्तकता अपनाउने निश्कर्षमा पुगेको मन्त्री भट्टको भनाइ छ ।

चिनियाँ अनुभव र विधि सिक्न भिडियो कन्फरेन्समार्फत चिनियाँ चिकित्सक र नेपाली चिकित्सकको भिडियो कन्फरेन्स गराइने मन्त्री भट्टले सुनाए ।

‘यहाँबाट उता (चीन) लैजाँदा खर्चिलो र समय लाग्ने भएकाले उनीहरुको अनुभव, विधिबारे भिडियो कन्फरेन्समार्फत नेपालका डेडिकेटेड अस्पतालका डाक्टरलाई सुझाव दिइनेछ’ आइतबार संघीय संसद राज्यका नीति निर्देशक सिद्धान्तको अनुगमन तथा मूल्यांकन निर्देशक समितिको बैठकमा मन्त्री भट्टले भने ।

मन्त्री भट्टका अनुसार कोरोनाबाट बच्न जुनसुकै देश वा संस्थाले उपलब्ध गराउने सहयोग नेपालले स्वीकार गर्नेछ । ‘चीनले र भारतले वा जुन सुकै देश वा संस्थाले जे उपलब्ध गराउँछ त्यो लिने भन्या छौं’ उनले भने ।

मन्त्री भट्टले चीनले झैं नेपालमा पनि कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा नेपाली सेनालाई संलग्न गराउने तयारी भएको बताए ।

‘नेपाली सेनाले आफ्नो तर्फबाट पुरै तयारी गरेको छ । उनीहरुले एक हप्ताभित्र सम्भावित सबै कुराको तयारी गरिसक्ने भनेका छन्’ मन्त्री भट्ट भन्छन्, ‘सशस्त्र प्रहरीको हस्पिटललाई डेडिकेटेडका रुपमा निर्णय भइसकेको छ ।’

आपूर्तिमन्त्री भट्टले माग अनुसारको स्वास्थ्य परीक्षण उपकरण आपुर्ति गर्न नसकिएको पनि स्वीकार गरे । आन्तरिक रुपमा उत्पादन गर्ने र चीनलगायतका देशबाट औषधि र स्वास्थ्य उपकरण ल्याउने तयारी भएको उनले जानकारी दिए ।

सीमा बन्द गर्ने विषय छलफलमै

समिति बैठकमा सांसदहरुले तत्काल भारतसँगको खुला सीमा बन्द गर्न माग गरेका थिए । जवाफमा मन्त्री भट्टले यसबारे भारत सरकारसँग छलफल भइरहेको बताए ।

‘बोर्डरमा आइसकेकालाई रोक्न सकेनौं । त्यसकारण भीड देखिएको हो’ मन्त्री भट्ट भन्छन्, ‘बोर्डर टाइट गर्ने र बन्द गर्नेबारे भारतसँग छलफल भइरहेको छ ।’

समिति बैठकमा सत्तारुढ दल नेकपाका सांसदद्वय पम्फा भुसाल र भीम रावलले एकतर्फी रुपमा भए पनि भारतीय नाका बन्द गर्न माग गरेका थिए ।

मन्त्री भट्टले खुला सीमा नाका बन्द गर्नुपर्ने सुझावलाई मन्त्रिपरिषद बैठकसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment