Comments Add Comment

धरानमा पनि सुरु भयो कोरोना भाइरस संक्रमणको परीक्षण

१६ चैत, विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको परीक्षण सुरु भएको छ ।

यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्र कोरोना भाइरसको परीक्षण गर्ने गरिएको थियो ।

तर, लकडाउनका कारण देशबाट नमुना संकलन गर्न कठिनाई भएपछि सरकारले धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानमा शनिबार मात्र ल्याब स्थापना गरिएको थियो । जसको नेतृत्व प्रतिष्ठानको मोलिकुलर बायोलजी युनिट अन्तर्गत प्रा. डा. नारायण भट्टराईले गर्नेछन् ।

‘अस्पताल भर्ना भएका तीन जना बिरामीको नमुनाबाट परीक्षण गर्न थालिएको छ’, प्रा.डा. भट्टराईले भने । कोरोना भाइरसका शंकास्पद बिरामीहरुको ‍र्‍यालको संकलनको काम भने माइक्रोबायलोजी विभागले गर्नेछ ।

प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जिवकुमार शर्माले प्रयोगशालाबाट दैनिक १२ जनाको स्वाब परीक्षण गरिनेछ ।

ल्याबको क्षमता अधिकतम उपयोग गर्दा ३० वटासम्म नमुना परीक्षण गर्न सकिने छ ।

मुख्यमन्त्रीले गरे निरीक्षण

यसैबीच, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रतिष्ठानमा स्थापना गरिएको ल्याबको आइतबार निरीक्षण गरेका छन् । उनीहरुले ल्याबसँगै हेल्प डेस्क र आइसोलेसनको पनि निरीक्षण गरे ।

प्रतिष्ठानमा कोरोनाका बिरामीहरुलाई गरिने उपचारबारे प्रतिष्ठानका कार्यबाहक उपकुलति प्रा.डा.गुरुप्रसाद खनालले जानकारी गराए भने ल्याबबारे प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका नारायण भट्टराईले जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment