Comments Add Comment

अप्रिल फूल नमनाउने गुगलको निर्णय

भन्यो - ठट्टाहरु अर्को अप्रिलका लागि साँच्नुस्

काठमाडौं । आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’ । यस दिनमा मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर रमाउने गर्छन् ।

तर कोरोना भाइरसले विश्वका मानिसहरुलाई आतंकित बनाइरहेको यो समय वास्तवमा ठट्टा गर्नका लागि उपयुक्त समय होइन । किनकी अरुलाई मुर्ख बनाउने वा जोक गर्ने रमाइलो समय अहिले छैन । यही गम्भीरतालाई इन्टरनेट जाएन्ट गुगलले पनि मनन गरेको छ र यो वर्ष अप्रिल फूल नमनाउने निधो गरेको छ ।

समाचार अनुसार गुगलले यो वर्ष अप्रिल फूल दिवसको प्रान्क रद्द गरेको छ । गुगलको मार्केटिङ विभागका प्रमुख लोरिन टुहिलले कम्पनीका उच्च पदस्थ कर्मचारीहरुलाई इमेलमार्फत् पत्राचार गर्दै गुगलले यस वर्ष अप्रिल फूल मनाउने आफ्नो परम्परालाई थाँति राखेको बताएका छन् ।

इमेलमा भनिएको छ, ‘सामान्य अवस्थामा अप्रिल फूल गुगलको परम्परा हो । यसले गुगल परम्परागत ढर्राको कम्पनी होइन र रमाइलो पनि गरिन्छ भन्ने देखाउँदछ । तर यो वर्ष कोरोना भाइरसको महामारीसँग लडिरहेकाहरुको सम्मानमा हामीले यो परम्परालाई थाँति राख्दैछौँ । अहिलेको हाम्रो सबैभन्दा ठूलो लक्ष्य भनेकै मानिसहरुको सहयोगी बन्नु हो । त्यसैले हाम्रा ठट्टाहरु अर्को अप्रिलका लागि जोगाई राखौँ । त्यतिबेला निश्चित रुपमा अहिले भन्दा निकै रमाइलो हुनेछ ।’

गुगलले दुई दशकदेखि अप्रिल फूल मनाउँदै आएको छ । अप्रिल १ को दिन आफ्ना विभिन्न प्लाटफर्महरुमा गुगलले प्रांक गर्ने गर्दछ ।

तर यो पटक कोरोना विरुद्धको लडाइँमा गुगलले आफूलाई समाहित गरेको छ । कोभिड–१९ सहायता कार्यहरुमा गुगलले ८० करोड डलर सहयोगको प्रतिबद्धता जनाइसकेको छ ।

एक ब्लग पोष्टमा कम्पनीका सिइओ सुन्दर पिचाइले म्यागिड ग्लोभ एण्ड सेफ्टी कम्पनीसँग मिलेर गुगलले २० देखि ३० लाखसम्म मास्क उत्पादनका लागि काम गरिरहेको बताए । साथै निकै महत्वपूर्ण चिकित्सा उपकरण तथा पिपिइको उत्पादन क्षमता बढाउनका लागि समेत आर्थिक सहयोग गरिने उनको भनाइ छ ।

त्यस्तै गुगलले विश्व स्वास्थ्य संगठन तथा विभिन्न सरकारी निकायहरुलाई २५ करोड डलर बराबरको नि:शुल्क विज्ञापन प्रकाशन गरिदिनेछ भने स्वास्थ्य क्षेत्रमा क्रियाशील साना तथा मध्यमस्तरका व्यवसायलाई ३४ करोड डलर बराबरको विज्ञापन ऋण सहायता प्रदान गर्नेछ ।

– एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment