Comments Add Comment

चीनमा बिक्री अनुमति नपाएका कम्पनीको किट निर्यातमा प्रतिबन्ध

१९ चैत, काठमाडौं । चीनले आफ्नो मुलुकभित्र बिक्री गर्न अनुमति नदिइएका कोरोना परीक्षण किट र अन्य मेडिकल सामग्री विदेश निर्यातमा रोक लगाएको छ । मेडिकल सामग्री त्रुटिपूर्ण रहेको गुनासो आउन थालेपछि चीनले यस्तो निर्णय गरेको हो ।

द साउथ चाइना मर्निङ पोष्टका अनुसार यो निर्णय कोरोना परीक्षण किट, मास्क, सुरक्षाका कपडा, भेन्टिलेटर र थर्मोमिटरजस्ता सामग्री निर्यात गर्ने सबै कम्पनीमा लागू हुनेछ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वभर फैलिएको बेला विश्वभर परीक्षण किट, सुरक्षाका कपडा र अन्य मेडिकल सामग्रीको माग अत्यधिक मात्रामा बढेको छ । र, यस्ता सामग्री बिक्री वितरण गर्नेमा चिनियाँ कम्पनी अग्रपङ्तिमा छन् । गत सातासम्म एक सय दुई चिनियाँ कम्पनीले विदेशमा सामग्री निर्यात गरेका छन् ।

जबकी यसरी निर्यात गर्नेमध्ये २१ कम्पनीले मात्र चीनमा आफ्नो सामग्री बिक्री गर्ने अनुमति पाएका थिए ।

साथै पछिल्लो समय चिनियाँ सामाग्रीमा प्रश्न उठेको छ ।

गत साता स्पेनको सरकारले चिनियाँ कम्पनीले निर्माण गरेको मेडिकल उत्पादनहरुले केवल ३० प्रतिशत सही नतिजा दिने गरेको समाचार सार्वजनिक भएको थियो । साथै, नेदरल्याण्डमा पनि छ लाख मास्क स्वास्थ्यकर्मीले प्रयोग गर्न नमिल्ने पाइएको थियो ।

मंगलबार चीनको वाणिज्य मन्त्रालय, सामान्य प्रशासन र राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले संयुक्त विज्ञप्ति जारी गर्दै मुलुकभित्र बिक्री गर्न अनुमति नपाएका कम्पनीहरुको किट लगायतका स्वास्थ्य सामग्री निर्यातमा रोक लगाउने निर्णय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment