Comments Add Comment

चीनबाट ल्याएको पीपीई : गाउन छ, चश्मा र टोपी छैन

१९ चैत, पोखरा । सरकारले चीनबाट ल्याएको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) सेट नाम मात्रको भएको पाइएको छ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि चाहिने पीपीईसहितका स्वास्थ्य उपकरणहरु ल्याउने जिम्मा ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनललाई दिएको थियो । महंगो मूल्यमा किनेको भनेर आलोचना भइरहेका बेला सरकारले सम्झौताअनुसार सामान नआएको भनेर सम्झौता रद्द गरेको छ ।

तर, आइतबार पहिलो लटमा आएका सामानमध्ये पीपीईमा पूरा सेट नै नभएको पाइएको छ ।

चीनबाट आएका पीपीईमध्ये सरकारले हरेक प्रदेशलाई करिब एक हजार थानका दरले बाँँडेको थियो । गण्डकी प्रदेशका लागि छुट्याएका सामानहरु मंगलबार पोखरा आइपुग्यो । ३७ हजार माग गरेको प्रदेश सरकारलाई एक हजार पीपीई थोरै हो । तर, जति आएको छ, त्यसलाई जिल्ला जिल्लामा पठाएर काम चलाउने निर्णय भयो ।

तर, जब पीपीई बक्स खोलेर हेरे, अधिकारीहरु छक्क परे ।

पीपीई त गाउन मात्रै छ भने अरु सामान पनि अधुरो भएकाले कामै नलाग्ने भयो । ‘पीपीईमा गडबड पो भएछ,’ प्रदेश स्वास्थ आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशक खिमबहादुर खड्काले अनलाइनखबरसँग भने, ‘एक हजार थान पीपीई आयो भनेर खोलेर हेर्दा त गाउनमात्रै रहेछ । यो अपुरो र अधुरो भयो ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि प्रदेशमा अपुरो पीपीई आएको स्वीकार गरे । अपुरो काम नलाग्ने भएकाले बाँकी तत्काल पठाइदिन संघीय सरकारलाई आग्रह गरेको भन्दै उनले भने, ‘माथि प्याकिङ गर्ने बेलामै गल्ती भएको हो कि भन्ने लाग्यो । यति नै हो भने अपुरो काम लाग्दैन होला ।’

स्वास्थकर्मीले लगाउने पीपीई सेटमा टोपी, चश्मा, बुट वा बुट कभर नै नभएको उनले बताए । ‘पीपीई भनेको गाउनमात्रै होइन । गाउन मात्रै त प्रयोग गर्नै मिल्दैन,’ आपूर्ति निर्देशक खड्काले भने, ‘हामीले बुधबार नै जिल्ला जिल्लामा पीपीई पठाउने भनेका थियौं । अपुरो आएपछि पठाउन सकिएन ।’

अपुरो सामान नेपाली बजारमा पनि नपाइने भएकाले कामै नलाग्ने भएको खड्काले बताए ।

अपुरो पीपीई आएपछि प्रदेश सरकारले स्वास्थ्य सेवा विभागमा सोधपुछ गरेको छ । ‘विभागमा पीपीईका केही सामग्री छुटेको हो कि के भएको हो भनेर सोध्यौं,’ खड्काले भने, ‘उताबाट भएकै त्यति हो भन्ने जवाफ आयो ।’

अधुरो पीपीई आएपछि अब के गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका नवराज शर्माले बताए ।

संघीय सरकारले २० हजार थान मास्क, २० हजार थानपञ्जा, ४ सय थान एन–९५ मास्क, १० थान इन्फ्रारेड थर्मोमिटर र एक सेट पीसीआर मेसिन पठाएको बताएको थियो । तर, एन–९५ मास्क पनि ४ सय थानमात्र आएको छ ।

पीसीआर मेसिनबाट पोखरामै कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण सुरु गर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment