Comments Add Comment

युइएफएद्वारा जुन महिनाको सबै खेल स्थगित

काठमाडौं । युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएले आगामी जुन महिनामा हुने सबै खाले फुटबल प्रतियोगिता स्थगित गरेको छ । युइएफएले बुधबार ५५ सदस्य राष्ट्रसँग भिडियो कन्फ्रेन्स गर्दै जुन महिनामा तय भएको युरोपका राष्ट्रिय टिमका खेलहरु समेत स्थगित गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको कारण खेलहरु स्थगित गरिएको हो । जसमा युरो २०२० को प्लेअफ म्याच र वुमन्स युरो २०२१ को छनोट खेलहरु रहेका छन् । युरोकप यसअघि २०२१ को लागि सरिसकेको छ ।

यस्तै, युइएफएअन्तर्गत् पर्ने सबै क्लब प्रतियोगिता समेत स्थगित गरिएको युइएफएले जनाएको छ । यसको अर्थ च्याम्पियन्स लिग र युरोपा लिग पनि स्थगित भएको छ । युइएफएले अर्को सूचना नआएसम्मको लागि खेल स्थगित गरिएको जनाएको छ ।

यस्तै, युइएफएले उमेर समूहको केही प्रतियोगिता रद्द नै गरेको छ भने केही स्थगित गरेको छ । मेमा तय भएको युरोपियन यू १७ च्याम्पियन र जुनमा तय भएको वुमन्स युरोपियन यू१९ च्याम्पियन्सिप रद्द गरिएको छ ।

जुलाईमा तय भएको युइएफए यू१९ च्याम्पियनसिप स्थगित गरिएको छ । उक्त प्रतियोगिता फिफा यू२० वर्ल्डकपको छनोट प्रतियोगिता समेत हो । यस्तै मेमा तय भएको युरोपियन वुमन्स यू१७ च्याम्पियनसिप स्थगित गरिएको छ ।

यस प्रतियोगिता फिफा यू१७ वर्ल्डकपको छनोट प्रतियोगिता समेत हो । यसैगरी, २०२० अप्रिलमा तय भएको युइएफए फुटसल च्याम्पियनसिप फाइनल पनि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment