
१९ चैत, काठमाडौं । ‘कोरना भाइरसको लक्षण छैन । मेरो फेरि एक पटक परीक्षण गरियोस्’ कोभिड–१९ को परीक्षणमा पोजेटिभ आउँदा पनि उनी भन्दै थिए । उनी अर्थात् कोरोनाबाट संक्रमित भएका चौथो नेपाली नागरिक ।
दुबईबाट भारत हुँदै नेपाल आएका धनगढीका ३४ वर्षका उनको आत्मविश्वासमा सुरुदेखि नै कमी थिएन । सेती प्रादेशिक अस्पतालमा भर्ना भएको उनको शुक्रबार रिपोर्ट पोजेटिभ आयो । त्यसपछि स्वास्थ्यकर्मीहरु पनि नजिक पर्न डराए ।
तर, उनले हिम्मत हारेनन् । आफूलाई बेवास्ता गरिएको र तातोपानीसम्म नदिएको खबर सञ्चारमाध्यमहरुलाई दिए । त्यसपछि चिकित्सक पनि केही गम्भीर देखिए ।
‘मैले सुरु देखिनै हिम्मत हारिन’ उनले भने, ‘अहिले पनि मलाई केही भएको छैन जस्तो लाग्छ ।’
उनले टेलिफोनमा भने भने, ‘यो सामान्य रोग हो । यसले कमजोर व्यक्तिमा आक्रमण गर्छ । यो रोग लागेपछि खुशी हुनुपर्छ, हाँसिरहनुपर्छ । म त्यस्तै गर्छु ।’
उनकाअनुसार स्वास्थ्यमा सुधार भइरहेको छ । ‘हिजो अस्ति सामान्य पखादा लागेको थियो । डाक्टरले भनेका यो निको हुने लक्षण हो रे’ उनले भने, ‘डाक्टरले भने अनुसार औषधि खाइरहेको छु । केही दिनमै ठिक हुन्छु भन्ने लागेको छ ।’
उनको दोस्रो चरणको नमुना संकलन गर्न बाँकी नै छ । ‘नियमित परीक्षण भइरहेको छ । केही सुधार आएको पाइएको छ’ सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले भने ।
परिवारको पनि नमुना संकलन
धनगढीका कोरोना संक्रमित युवकको परिवारका सदस्यहरुको पनि नमुना संकलन गरिएको छ ।
सेती प्रादेशिक अस्पतालमा बुधबार उनका परिवारका १० जना सदस्यको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए ।
शनिबारदेखि धनगढी रंगशालाको क्वारेन्टाइनमा रहेका उनका परिवारका सदस्यलाई मंगलबार मात्रै घर फिर्ता गरिएको थियो । उनीहरुमा कुनै लक्षण नदेखिएपछि फिर्ता गरिएको डा. जोशीले बताए ।
उनीहरुको पनि नमुना लिनुपर्ने अवस्था आएपछि बुधबार पुनः अस्पताल ल्याएर नमुना संकलन गरिएको जोशीले जानकारी दिए । बुधबार नै परिवारका १० जना सदस्यसहित अन्य दुई जना स्वास्थ्यकर्मी र एक जना धनगढी रंगशालाको क्वारेन्टाइनमा रहेका व्यक्तिको पनि घाँटीको स्वाब संकलन गरिएको छ ।
सेती अस्पतालबाट यसअघि २६ जनाको स्वाब परीक्षण गरिएकोमा २५ जनाको नेगेटिभ र एक जनाको पोजेटिभ रिपोर्ट आएको छ । बुधबार संकलन गरिएका १३ जनाको नमुना बुधबार साँझ वा बिहीबार बिहान काठमाडौ “पठाउने तयारी भइरहेको डा. जोशीले बताए ।
प्रतिक्रिया 4