६ असोज, काठमाडौं । चीनमा पुँजीवादको विस्तारसँगै ओझेलमा परेको मार्क्सवादी अर्थशास्त्रलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्रान्तिले पुनः जीवित गराइदिएको छ। ग्रिसका पूर्व अर्थमन्त्री तथा फुदान विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता यानिस भारोउफाकिसका अनुसार, केही वर्षअघिसम्म चीनका शीर्ष विश्वविद्यालयहरूमा मार्क्सवादलाई केवल औपचारिकतामा मात्र सीमित राखिएको थियो। तर अहिले एआई र रोबोटिक्सको तीव्र विकासले चिनियाँ मार्क्सवादी अर्थशास्त्रीहरूलाई नयाँ ऊर्जा र वैचारिक बल प्रदान गरेको छ।
चिनियाँ मार्क्सवादीहरू लामो समयदेखि देश पुँजीवादी दिशामा जाँदा उत्तर एटलान्टिक अर्थतन्त्रहरू जस्तै ‘रेन्ट ट्र्याप’ (लगानी उत्पादनमूलक क्षेत्रबाट हटेर घरजग्गा वा सम्पत्तिको मूल्य वृद्धिमा सीमित हुने अवस्था) मा फस्ने चिन्तामा थिए। उत्पादनमूलक क्षेत्रमा प्रतिस्पर्धा बढेर नाफाको दर घट्न थालेपछि लगानीकर्ताहरू कम जोखिममा बढी प्रतिफल पाइने घरजग्गा तथा वित्तीय क्षेत्रतर्फ आकर्षित हुन्छन्। यसले गर्दा उद्योगहरू सुक्दै जान्छन् र देशको औद्योगिक जग कमजोर बन्दै जान्छ।
चीनको घरजग्गा क्षेत्रको विशाल कम्पनी एभरग्रान्डको पतनलाई धेरैले यस्तै ‘रेन्ट ट्र्याप’को सङ्केतका रूपमा हेरेका थिए। यद्यपि, चिनियाँ राज्य संयन्त्रले हरित ऊर्जा, विद्युतीय सवारी साधन, सेमिकन्डक्टर र एआई जस्ता क्षेत्रमा रणनीतिक लगानीमार्फत यस्तो सङ्कट टार्दै आएको दाबी सरकारी विद्वानहरूले गर्दै आएका छन्।
तर, मार्क्सवादी अर्थशास्त्रीहरूको भने अझै छुट्टै चिन्ता थियो। सन् २०२५ को सुरुवातमा केही अर्थशास्त्रीहरूले चीनको विशाल व्यापार बचत (ट्रेड सर्प्लस) लाई चिनियाँ र पश्चिमी दुवै वर्गका श्रमिकहरूविरुद्धको वर्ग सङ्घर्षको परिणामका रूपमा विश्लेषण गरेका थिए। चीनसँग सञ्चित रहेको करिब १७० खर्ब चिनियाँ युआन (लगभग २५ खर्ब अमेरिकी डलर) बचत यदि सम्पत्ति खरिदमा मात्र प्रयोग भयो भने चीन ‘रेन्ट ट्र्याप’बाट उम्कन सक्दैन। अर्कोतर्फ, सो रकम विकासोन्मुख देशहरूमा लगानी गर्दा चीन पनि पश्चिमी देशहरू जस्तै अन्य देशबाट नाफा निचोर्ने ‘रेन्टियर’ राष्ट्र बन्ने खतरा रहन्छ।
मार्क्सवादी अर्थशास्त्रको मूल सिद्धान्तअनुसार आर्थिक मूल्य केवल मानवीय श्रमबाट मात्र सिर्जना हुन्छ। मेसिन वा प्रविधिले श्रमको स्थानान्तरण मात्र गर्छन्, नयाँ अतिरिक्त मूल्य सिर्जना गर्न सक्दैनन्। मेसिनको प्रयोग बढेसँगै वस्तुको मूल्य र नाफाको दर घट्दै जान्छ, जसले गर्दा पुँजीवादले नाफा जोगाउन युद्ध वा ठूला आर्थिक सङ्कटहरूको सहारा लिनुपर्ने हुन्छ।
चिनियाँ मार्क्सवादीहरूको विश्लेषणअनुसार अमेरिकामा अहिले यही स्थिति दोहोरिँदै छ। सिलिकन भ्यालीका ठूला प्रविधि कम्पनीहरू भौतिक उत्पादनभन्दा एआई एजेन्टहरू बनाएर भाडा (रेन्ट) उठाउन केन्द्रित छन्। यसले अमेरिकी अर्थतन्त्रमा श्रमको मूल्य घटाएर असमानता र सामाजिक असन्तोष बढाएको छ।
यसको विपरीत, चीनका एआई कम्पनीहरूले भने औद्योगीकरण र भौतिक उत्पादनमा जोड दिएका छन्। चिनियाँ फर्महरूले तरकारी खेतीदेखि जटिल औद्योगिक उत्पादन र आपूर्ति शृङ्खलासम्म एआई र रोबोटको प्रयोग व्यापक बनाएका छन्। अझ महत्त्वपूर्ण कुरा, यी धेरैजसो एआई प्रविधिहरू ‘ओपन सोर्स’का रूपमा साना उत्पादकहरूसम्म सस्तोमा पुर्याइएको छ।
चिनियाँ मार्क्सवादी अर्थशास्त्रीहरूका अनुसार जब एआई र रोबोटिक्सले श्रम समयलाई शून्यको नजिक पुर्याउँछन्, तब वस्तुहरूको उत्पादन यति अत्यधिक हुन्छ कि तिनको विनिमय मूल्य पूर्ण रूपमा घट्छ। केवल वस्तुको उपयोगिता मात्र बाँकी रहन्छ। यसरी उत्पादन क्षमता उच्च विन्दुमा पुग्दा सम्पत्तिको कृत्रिम मूल्य घट्छ, ‘रेन्ट ट्र्याप’ हराउँछ र पुँजीवादी नाफाको ढाँचा स्वतः भत्किन्छ।
पुँजीवादी ढाँचामा नाफा घट्ने डरले प्रविधिको पूर्ण उपयोग हुन सक्दैन भने चीनको राज्य-पुँजीवादी संरचनाले अल्पकालीन नाफाभन्दा दीर्घकालीन लक्ष्यलाई प्राथमिकता दिन्छ। यसले गर्दा चीनले स्वचालन (अटोमेसन) लाई यसको अन्तिम विन्दुसम्म पुर्याउन सक्छ। यसबाट सिर्जित अत्यधिक उत्पादनलाई सस्तो र गुणस्तरीय वस्तुका रूपमा जनतामा वितरण गरी माक्र्सले परिकल्पना गरेको “क्षमताअनुसारको काम र आवश्यकताअनुसारको उपभोग” हुने साम्यवादी व्यवस्थाको भौतिक आधार तयार गर्न सकिने उनीहरूको तर्क छ।
यद्यपि, विश्लेषकहरूले केही गम्भीर प्रश्नहरू पनि उठाएका छन्। एआई र रोबोटिक्सले ल्याउने यो अभूतपूर्व उत्पादकत्वको युगमा चिनियाँ राज्यले साँच्चै नै जनताको कल्याण र स्वतन्त्रताका लागि काम गर्छ वा प्रविधिमाथि नियन्त्रण कायम गरी एउटा नयाँ अभिजात वर्ग जन्माउँछ भन्ने कुरा हेर्न बाँकी नै छ।
प्रतिक्रिया 4