News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीले क्षतिग्रस्त गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा असोजभित्र यातायात सञ्चालन गर्ने गरी सडक विभागले मर्मत र ट्रयाक खोल्ने काम गरिरहेको छ।
- कोल्पुखोला, रातोमाटे र देवीघाटमा अस्थायी मर्मत, ब्याक कटिङ र बेलीब्रिज जडानपछि गल्छीदेखि विदुरसम्म यातायात सञ्चालन भइसकेको छ।
- विदुरदेखि बेत्रावतीसम्मको ३०० मिटर अवरुद्ध सडकमा नेपाली सेनाले ब्लास्टिङ गरेर ट्रयाक खोल्न थालेको छ, र बेत्रावती तथा स्याफ्रुबेँसीमा बेलीब्रिज जडान बाँकी छ।
६ असोज, काठमाडौँ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । सडक विभागका अनुसार हाल अधिकांश स्थानमा सडक मर्मतपछि यातायात सञ्चालन भइसकेको छ ।
सडक विभागका महानिर्देशक डा विजय जैसीले गल्छी-स्याफ्रुबेँसीसम्मको सडक दसैँसम्म यातायात सञ्चालन गर्नेगरी काम भइरहेको बताए। उनका अनुसार धादिङ-नुवाकोट जोड्ने कोल्पुखोलामा अस्थायी मर्मत सकिएर यातायात सञ्चालन भइसकेको छ । हाल उक्त स्थानमा स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया सकाएर निर्माण व्यवसायीले काम सुरु गरिसकेका छन् ।
सोही सडकको रातोमाटेमा करिब २०० मिटर सडक बाढीले कटान गरेकामा ‘ब्याक कटिङ’ गरी यातायात सञ्चालनमा ल्याइसकिएको छ । साथै नुवाकोटको देवीघाटमा पनि नेपाली सेनाले बेलीब्रिज जडान गरिसकेकाले गल्छीदेखि विदुरसम्म यातायात सञ्चालन भइसकेको छ ।
विभागका अनुसार विदुरदेखि बेत्रावतीसम्म करिब १० किलोमिटरमध्ये नौ किलोमिटर सडकखण्ड खुलिसकेको छ भने करिब ३०० मिटर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ । उक्त क्षेत्रमा नेपाली सेनाले ‘ब्लास्टिङ’ गरी दुवैतर्फबाट ट्रयाक खोल्ने काम सुरु गरिसकेको छ । उक्त स्थानमा केही दिनमा यातायात सञ्चालन हुने अपेक्षा गरिएको छ । त्यसपछि बेत्रावती र स्याफ्रुबेँसीमा बेलीब्रिज जडान बाँकी हुनेछ । उक्त दुई स्थानमा बेलीब्रिज जडान भएपछि गल्छी-स्याफ्रुबेँसीसम्म यातायात सञ्चालन हुनेछ ।
“रसुवाको बेत्रावेतीमा पुरानो पुल भएकै ठाउँमा बेलीब्रिज जडान गरिनेछ । यसका लागि पुरानो फाउण्डेसन भेटिएको छ, फाउण्डेसन मर्मत सकिएपछि बेलीब्रिज जडान गरिनेछ”, महानिर्देशक जैसीले भने, “यसका लागि पहिले बिदुर-बेत्रावतीमा सडक निर्माण हुनुपर्नेछ ।” उक्त स्थानमा नेपाली सेनासँग भएको ७२ मिटर लामो बेलीब्रिज जडान गरिनेछ ।
बेत्रावतीपछि धुन्चेहुँदै स्याफ्रुबेँसीसम्म पनि सडकमा समस्या छैन । स्याफ्रुबेँसीमा भने एउटा बेलीब्रिज जडान गर्नुपर्नेछ । उक्त स्थानमा ७६ मिटरको बेलीब्रिज जडान गर्नेगरी डिजाइनको काम सुरु गरिएको छ । “स्याफ्रुबेँसीमा करिब ९० मिटरको पुल आवश्यक भए पनि उपलब्ध संरचनाअनुसार ७६ मिटरको बेलीब्रिज प्रयोग गर्ने तयारी गरिएको छ”, विभागले भनेको छ ।
स्याफ्रुबेँसीबाट रसुवागढीतर्फ करिब १५ किलोमिटर सडक बाढीका कारण पूर्ण रूपमा प्रभावित छ । उक्त स्थानमा सर्भेक्षण सुरु भइसकेको छ । बाढीले कटान गरेको मुग्लिन-गल्छी सडकखण्डमा पर्ने कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सकिएर दुईतर्फी रुपमा यातायात सञ्चालन भइसकेको छ । रासस
प्रतिक्रिया 4