+
+
Shares

महाप्रलयपछि बगरमा बिताएका २४ दिन

विपत्ति सबैका लागि एउटै हुँदैन रहेछ। कसैका लागि यो घर गुम्नु हो, कसैका लागि आफन्त गुम्नु। कसैका लागि बच्चाको दूध जुटाउन नसक्नु हो, कसैका लागि रात काट्ने सुरक्षित ठाउँ नहुनु। र, कसैका लागि आफ्नो दुःख सुनिदिने एउटा मान्छे नहुनु।

सुष्मा न्यौपाने सुष्मा न्यौपाने
२०८३ असोज ६ गते ८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखिकाले १० भदौमा रसुवाको बाढीको खबर सुनेपछि नुवाकोट र तेस्रो दिन रसुवा पुगेर २४ दिन राहत वितरण र व्यवस्थापनमा खटिएको बताएकी छन्।
  • बाढीले रसुवामा घर, सडक, पुल, रोजगारी र बस्ती तहसनहस पारेर धेरै परिवारका सदस्य बेपत्ता, मृत वा विस्थापित भएको उनले वर्णन गरेकी छन्।
  • लेखिकाले राहतपछि पुनर्निर्माण, सुरक्षित आवास, शिक्षा, जीविकोपार्जन र बेपत्ताको खोजीमा तीनै तहका सरकार र सबै निकायको दीर्घकालीन सहकार्य आवश्यक रहेको बताएकी छन्।

बाढी गएको केही घण्टामै म नुवाकोट र तेस्रो दिन रसुवा पुगेकी थिएँ। त्यस दिनदेखि २४ दिनसम्म राहत वितरण र व्यवस्थापनका लागि हिँड्दा देखेका दृश्य, सुनेका चित्कार र त्रासदीको अनुभूति :

१० भदौमा काठमाडौंको धापासी कार्यालयमा थिएँ। रसुवामा बाढी आएको खबर सुनेपछि बुबालाई फोन गरें। उहाँले आत्तिएको स्वरमा यत्ति भन्नुभयो- सबै सकियो।

त्यो एउटा वाक्यले नै मन चिसो भयो। मोबाइल खोलेर हेर्दा देखिएका दृश्यहरू मैले कहिल्यै कल्पना पनि गरेकी थिइनँ। बाढीको उर्लंदो भेल, बगिरहेका घरहरू, भत्किएका संरचना र त्रासदी ! ती हेर्दाहेर्दै हातखुट्टा फतक्क गले, आँखाबाट आँसु बग्न थाले।

टिमुरेदेखि बेत्रावतीसम्मका गाउँ र चिनेका मान्छे, साथी, आफन्तका अनुहार एकसाथ आँखामा घुम्न थाले। पहिरेबेंसी, खाल्डे, कैजलटार, बेत्रावती, हाकु, स्याफ्रुबेंसी, मैलुङ र टिमुरेसम्मका चिनेजानेका मानिसहरूलाई फोन गर्न थालें। रुपा मिस, बजिया, बुटी दिदी, सुमित्रा दिदी, बद्री दाइ, अर्जुन न्यौपाने सर, वाङटासी दाइलगायतसँग कुरा भयो।

कसैको आवाजमा त्रास थियो, कसैको बोली नै फुट्न सकेको थिएन। कतिपयले त क्षणभरमा के भयो ? भन्ने पनि विचार गर्न सकेका थिएनन्। फोन गरेकामध्ये धेरैसँग त्यस दिन कुरा हुन सकेन र अब कहिल्यै हुने पनि छैन। किनकि बाढीसँगै उहाँहरू विलाइसक्नुभएको छ।

अफिसमा उपलब्ध टिमसँग छोटो छलफलपछि हामी नुवाकोटको विदुरतर्फ निस्कियौं। लाग्नेजतिलाई फोन गर्दै हिँड्यौं। हरेक फोन नउठ्दा मुटु झस्कन्थ्यो। फोन उठ्दा पनि अब कस्तो खबर सुन्नुपर्ने हो ? भन्ने डर लाग्थ्यो। मनले रसुवाको बाढीलाई केही वर्षअघिको मेलम्ची बाढीसँग तुलना गरिरहेको थियो। तर यो यति भयानक भएको थाहा भइसकेको थियो कि त्यो तुलना पनि केही बेरमै अर्थहीन लाग्न थाल्यो।

दिउँसो करिब १ बजे हामी नुवाकोटको ढुङ्गे बजारको उकालोमा पुग्दा त्रिशूली नदीको स्वरूप र ढुङ्गेको अवस्था देखेर मन र मस्तिष्कले नै काम गर्न छाड्ला जस्तो भयो। फोनमा सुनेको र फोटो–भिडियोमा देखेको भन्दा अवस्था निकै भयावह थियो। बाढीले ढुङ्गेको उकालोसम्मै बगाएको र छोपेको रहेछ।

खोँच परेको स्थान भएकाले ढुङ्गे र विदुर आसपासबाट धेरै परसम्म देख्न सकिने अवस्था थिएन। बेत्रावती देखिन्छ कि ! भन्ने आशाले नुवाकोट दरबार, चोगते, गेर्खु हुँदै गैरीखर्कसम्म पुग्यौं। जीवनमा पहिलोपटक होला, आफ्नो जन्मभूमिको भूगोल टाढाबाट देख्न त्यति अत्यास र रहर लागेको। जति नदी देखिँदै गयो, त्यति नै भयावह दृश्यहरू देखिन थाले।

गेर्खुटारबाट सोलेतिर हेर्दै एक वृद्ध बा भावविह्वल थिए। उनले छोरी–ज्वाइँको परिवार नै बाढीले बगाएको थाहा पाइसकेका रहेछन्। १९९० सालको भूकम्प सुनेका र २०१९ सालको पहिरो तथा त्यसपछिका थुप्रै बाढी–पहिरो र भूकम्प भोगेका ती बाले यसलाई बाढीको नामसमेत नदिई भन्दै थिए- बाढी त बगेर पानी पो आउँथ्यो। यो त उडेर काल आएको रहेछ। भेट्टाएजति सबैलाई सोहोरेर लग्यो।

उनको यो वाक्य पूरै विपत्तिको आकार बताइदिन काफी थियो। त्यो दिन ती बाका आँखामा मैले त्यही महाप्रलय देखें।

त्यो कठिन र लामो रात

हामी नुवाकोट दरबार हुँदै गेर्खुमा थियौं। साँझ ठूलो पानी पर्न थालेको थियो। हामी फर्किंदै थियौं। बाटोमा भागेर ज्यान बचाएकाहरू गेर्खुतिर उकालो लाग्दै गरेको भेटियो, अनुहारमा कहालीलाग्दो त्रास बोकेर।

रसुवाको धारापानीलगायत थुप्रै ठाउँबाट आफ्ना छोराछोरीलाई स्कुल पठाएका अभिभावकहरू उनीहरूलाई खोज्दै आइपुगेका थिए। उत्तरगया बोर्डिङ स्कुलबाट भागेर बाँचेका बालबालिकाहरू उपल्लो गेर्खु पुगेको थाहा पाएपछि हामी पनि त्यहाँको शान्ति कल्याण विद्यालय पुग्यौं।

उत्तरगया बोर्डिङका चार–पाँच जना शिक्षक र ५४ जना विद्यार्थी जङ्गल–जङ्गल भागेर त्यहाँ पुगेका थिए। कोही बेहोस थिए। बाढी हेर्न गएका स्थानीयले उनीहरूलाई भेटेपछि विद्यालयमा ल्याएर राखेका रहेछन्। गाउँलेहरू मिलेर घरमा भएका कपडा लगाइदिने, खाना खुवाउने र आवश्यक व्यवस्था मिलाउने काम गरिरहेका थिए। आफूसँग जे थियो, त्यही दिएका थिए।

हामीले चोगते बजार पुगेर चप्पल किनेर ल्याई बाँड्यौं। आफ्ना बच्चा फेला पार्ने अभिभावक खुसीले बच्चालाई अँगालोमा बेरिरहेका थिए, सन्तान फेला नपार्नेहरू भावविह्वल थिए।

धारापानीकी सिर्जनाको कथा सम्झिँदा म अझै मन थाम्न सक्दिनँ। उनको सात वर्षको छोरो बाढीको भेलमा हुत्तिँदै–हुत्तिँदै फुत्किएर जङ्गल पुग्यो र बाँच्यो। तर पाँच वर्षकी छोरी भेट्टाउन सकिनन्। छोरोलाई काखमा च्यापेर नभेटिएकी छोरीको वियोगमा भक्कानिइरहेकी सिर्जनाको अवस्थालाई कुन शब्दले बयान गर्न सक्छ र !

उत्तरगया बोर्डिङ स्कुलका थुप्रै विद्यार्थी स्कुल र बाटोबाटै बगेका थिए। भागेर ज्यान बचाएकी शिक्षक रिताले स्कुलभन्दा माथि पुगेर तलतिर हेर्दा विद्यार्थीहरूले तारजाली–गेट समातेर हात हल्लाइरहेका थिए भन्ने सुन्दा म थामिन सकिनँ। सुरक्षाका लागि बनाइएको त्यो तारजाली र गेट थिएन भने धेरै विद्यार्थी भाग्न सक्थे कि !

भागेर बाँचेका साना नानीहरूलाई उपल्लो गेर्खुका स्थानीयले गरेको सकेजति सहयोगले गाउँ किन चाहिन्छ ?, सङ्कटका बेला समुदाय किन चाहिन्छ ?, मानिसहरू एकअर्काका लागि किन उभिनुपर्छ ? भन्ने प्रश्नहरूको उत्तर गहिरोसँग महसुस भयो।

त्यस दिन हाम्रो योजना गेर्खुबाट फेरि विदुरसम्म फर्किने थियो। तर भागेर बाँचेका ड्राइभरहरूका ठूला ट्रक गेर्खुटारबाट छिरेर त्यतै पुगेकाले बाटोमा गाडीहरू जाम भए। झमझम पानी परिरहेको थियो। अँध्यारो रात, अवरुद्ध बाटो र फर्किने कुनै विकल्प थिएन।

बसाइ गाडीकै सिटमा हुने भयो। बोगटीटारका श्रीकृष्ण श्रेष्ठले केही प्याकेट चाउचाउ ल्याइदिनुभयो। पछाडिको ट्रकका दाजुहरूले गाडीमा बोकेको ग्यास र भाँडा दिनुभयो। सँगै लाइनमा गाडी गुडाइरहेका थुप्रै साथी बाढीसँगै बगे, तर केही भाग्यमानीहरू बचेर त्यहाँ पुगेका थिए। छाता ओढ्दै चाउचाउ उमालेर खायौं र गाडीकै सिटमा रात बितायौं।

साथीहरू बेला–बेला निदाउँदै, झस्किँदै र ब्युँझिँदै गरिरहनुभएको थियो। जहाँ र जहिले पनि निदाउन सक्ने म त्यो रात आँखा जोड्न सकिनँ। एकछिन झुपुक्क भए पनि ती कहालीलाग्दा दृश्य र दिमागमा आउने–जाने अनेक तरङ्गले तुरुन्तै झस्काइदिन्थे। आँखामा कहालीलाग्दा दृश्य थिए, कानमा मानिसहरूका चित्कार गुन्जिरहेका थिए र मन बेचैन थियो। त्यो रात जीवनमै पहिलोपटक यति लामो र कठिन लागिरहेको थियो।

त्यही सडकमा सातबिसेकी एक दिदी दुई बच्चासहित भेटिनुभयो; जसले सर्वस्व गुमाइसक्नुभएको थियो। केही क्षण हामीसँगै यात्रा गर्नुभएकी ती दिदी बोल्नसम्म सक्ने अवस्थामा हुनुहुन्नथ्यो। पछि उहाँका आफन्तबाट उहाँबारे थाहा पाउँदा मन झन् चिरियो।

उहाँका सासू–ससुरा सातबिसेको पेट्रोलपम्पबाटै बगेका रहेछन्। श्रीमान् टिमुरेबाटै बेपत्ता भएछन्। काखमा च्यापेको तीन महिनाको छोरालाई बाढीका दुईवटा छालबाट बचाउनुभएको रहेछ, तर तेस्रो छालले उसलाई खोसेर लगेछ। उहाँ आफैं कतै अल्झिएर खै कसरी बाँच्न सफल हुनुभएको रहेछ ! दुई साना छोरी घाइते अवस्थामा भेटिएका थिए। तिनै छोरीहरूलाई च्यापेर आफन्त खोज्दै विदुर जाँदै हुनुहुन्थ्यो। केही बेरपछि भेटिएका एक जना आफन्तले उहाँलाई विदुरतिर लैजानुभयो।

आखिरमा एउटी आमाले आफ्नै आँखाअघि परिवार गुमाउँदा पनि बाँकी छोरीहरूलाई च्यापेर हिँड्ने शक्ति कहाँबाट ल्याउँछिन् र ! त्यो सुत्केरी शरीर त्यो कहालीलाग्दो बाढीसँग जुधेर कसरी निस्कियो होला ? र, त्यसपछि घण्टौं हिँड्ने तागत कहाँबाट आयो होला ?

बेत्रावतीसम्मको स्तब्ध यात्रा

भोलिपल्ट देवीघाट र विदुर क्षेत्रतिर गयौं। जहाँ गए पनि न बाँचेकाहरूसँग बोल्ने शक्ति बाँकी थियो, न हामीसँग निकाल्ने शब्द। देवीघाटमा प्रहरीहरू लास निकालिरहेका थिए। नदीदेखि निकै माथिको वृद्धाश्रममा समेत बाढी पसेर मानिसहरू बगाएको थियो। मानिसहरू आफ्ना मान्छे, घर र सम्झना खोजिरहेका थिए। तर बाढीले बगाएर लगेका चिज कहाँ भेटिन्थ्यो र ?

हामी काठमाडौं फर्कियौं र फेरि १२ भदौमा सकेजति राहत सामग्री बोकेर रसुवातिर हिँड्यौं- चौघडा, बाहुनबेसी, नर्जा, लच्याङ, सरमथली, पाटीखर्क, पार्च्याङ, भोर्ले, अम्बास र सिम्ले हुँदै बेत्रावतीसम्म।

जतिजति बाढीको स्वरूप देखिँदै गयो, त्यति नै आफ्नै अनुमान गलत साबित हुँदै गयो। यसले गरेको तहसनहस सोचेभन्दा असाधारण बढी थियो। केही बाँकी बचेको होला भन्ने आशा हराउँदै गइरहेको थियो।

 

रसुवा पुग्दा सुनसान थियो। न मान्छे थिए, न गाडी। जताततै विनाशको छाया थियो। गाउँमा जसका आँखामा पनि आँसु र त्रास थियो। त्यस्तो गाउँ थिएन, जसका परिवारका सदस्य वा आफन्त बाढीमा नपरेका होऊन्। नदी आसपास मात्रै होइन, सिङ्गो जिल्ला नै बगरझैं उराठ थियो।

कुनै बेलाको हाम्रो किनमेलको बजार बेत्रावती बगरमा बदलिएको थियो। त्यहाँ पुग्दा म शिरदेखि पाउसम्मै फतक्कै भएँ। सबैभन्दा पहिले केही समयअघिसम्म दुई वर्ष कार्यालय बनाएर बसेको घरतिर नजर गयो; जसको केही निसान पनि बाँकी थिएन। वरपरका घरहरू, मानिसहरू र त्यहाँको चहलपहल अब आँखामा मात्र बाँकी थिए। त्यहाँ डरलाग्दो बगर मात्रै थियो। गङ्गा दिदीको घरको केही भाग बाँकी रहेछ। तर उहाँ पनि नरहेको खबरले फेरि निःशब्द बनायो। त्यो बगरमा उभिँदा लाग्यो- बाढीले घर मात्र होइन, हाम्रो एउटा सभ्यता नै बगाएको रहेछ।

रसुवा पुगेदेखि नै उत्तरगया गाउँपालिका, वडा कार्यालयहरू, उपलब्ध जनप्रतिनिधि तथा कर्मचारी र सामाजिक संस्थाहरूसँग छलफलमा लाग्यौं। होल्डिङ सेल्टरमा बसेकाहरूसँग भेट्ने, उनीहरूका कुरा सुन्ने र आँसु साट्ने काम निरन्तर भयो।

भूमिहीन र विपन्न नागरिकका लागि वर्षौंदेखि काम गर्दै आएकाले त्यहाँ रहेका अधिकांशसँग चिनजान नै थियो। जति पीडा र समस्यामा भए पनि बाँचेकाहरूलाई बचाउनैपर्ने भएकाले उनीहरूको तथ्याङ्क सङ्कलन, सहयोगको अपिल तथा स्रोत जुटाउन सक्दो पहल गरियो। तर त्यहाँका केही कथा यस्ता थिए, जसलाई व्याख्या गर्ने शब्द थिएनन्।

११ वर्षभित्र चारवटा ठूला विपत्ति भोगिसकेका पहिरेबेंसीका स्थानीयको कथा तीमध्येकै एक हो। भुइँचालो, पहिरो, बाढी र अहिलेको महाबाढीले उनीहरूको सर्वनाश गरेको थियो। खाल्डेमा झन्डै ३०० परिवार भूकम्पपीडित थिए; जसले खोलाछेउको बगरमा ११ वर्ष टहरोमा बिताएका थिए।

उनीहरूको घरको लडाइँका लागि हामी पनि लडेका थियौं, कैयौं पटक सिंहदरबार धाएका थियौं। उनीहरूले राज्यसँग सुरक्षित घर मागेका थिए, सुरक्षित जीवन मागेका थिए। तर त्यो पूरा हुन नपाउँदै बाढीले उनीहरूको बाँकी आशासमेत बगाएर लग्यो।

छोराछोरी, बाबुआमा गुमाएर जो बाँचेका थिए, उनीहरूलाई के भनेर सान्त्वना दिने ? कुन आश्वासनले उनीहरूको मन थाम्ने ? परिवारका सदस्य गुमाएर आफू बाँचेर आउनुभएका पूर्ण दाइले भन्नुभयो- म बाँचेको सार नै रहेन।

आखिरमा राज्यसँग वर्षौंदेखि मागेको घर नपाउँदै बाढीले घर र परिवार नै खोसेपछि उनीहरूलाई अब के भन्ने ?

राहतको काम : बिहानैदेखि रातिसम्म

दुई–तीन दिनपछि सहयोग जुट्न थाल्यो। गाउँपालिकाको अनुरोधअनुसार म संलग्न भूमि अधिकार मञ्च र आत्मनिर्भर केन्द्रले राहत प्याकिङ र वितरणमा सक्दो सहजीकरण सुरु गर्‍यो। घरबारविहीन परिवार, बेपत्ता परिवार र अन्य समुदायका लागि छुट्टाछुट्टै प्याकेज तोकिएको थियो। खाद्यान्नदेखि अन्य अत्यावश्यक सामान आएका थिए। आएका राहत सामग्री गाउँपालिकामा दर्ता गरेर राखिएका थिए र गाउँपालिकाको निर्देशनअनुसार हामीले वितरण र व्यवस्थापनमा सघाएका थियौं।

बिहानदेखि रातिसम्म खटियौं। बोरा बोक्यौं, सामग्री मिलायौं र प्रभावित परिवारसम्म आवश्यक राहत पुर्‍याउने प्रयास गर्‍यौं। लहरेपौवाको शिवालय र माझगाउँको भीमसेनस्थानक होल्डिङ सेन्टर व्यवस्थापनमा सहजीकरण गरिरहेकै थियौं। १५ गतेदेखि शिवालय सेल्टरमा स्काउटले खाना व्यवस्थापन गर्ने भएपछि हामीले स्वयंसेवक सहयोग र अन्य समन्वय तथा व्यवस्थापनमा सहयोग गर्यौं। भीमसेनस्थानमा भने निरन्तर हामीले नै गरिरहेका थियौं।

होल्डिङ सेल्टरमा बसेकाहरूलाई सहयोग गरिरहँदा एउटा कुरा स्पष्ट भयो- राहतमा प्राप्त सामग्रीले सबैका आवश्यकता पूरा हुँदैनन्। कहिले किरिया बसेकाहरूका लागि कपडा, फलफूल र आवश्यक चिज किन्नुपर्थ्यो, कहिले सुत्केरीका लागि प्याड र घिउ, कहिले बच्चाका लागि ल्याक्टोजिन र डाइपर। कहिले तरकारीको आवश्यकता हुन्थ्यो, कहिले बिरामीलाई अस्पताल पठाउनुपर्थ्यो।

बाढी गएको १६ दिनकी सुत्केरी रहेकी एक महिलालाई ५० जनाको समूहमा बस्न अत्यन्तै मुस्किल भएपछि कोठा खोजेर व्यवस्थापन गर्नुपरेको थियो। कक्षा १० मा पढ्दै गरेको बच्चाका लागि शैक्षिक सामग्री र अरू बच्चालाई भुलाउन खेलौना तथा खेल सामग्री चाहिन्थे। यी कुरा साना देखिन्थे, तर नभई नहुने आवश्यकता थिए।

विपत्ति सबैका लागि एउटै हुँदैन रहेछ। कसैका लागि यो घर गुम्नु हो, कसैका लागि आफन्त गुम्नु। कसैका लागि बच्चाको दूध जुटाउन नसक्नु हो, कसैका लागि रात काट्ने सुरक्षित ठाउँ नहुनु। र, कसैका लागि आफ्नो दुःख सुनिदिने एउटा मान्छे नहुनु। जसका परिवारका सदस्य गुमेका थिएनन् वा घर बगेको थिएन, उनीहरूको पनि अन्न उब्जाउने खेत बगेको थियो। बजारमा काम गरेर खाने परिवारको श्रमबाट आउने ज्याला खोसिएको थियो।

जिन्दगीभरको कमाइले बनाएका हजारौं घरको नामोनिसान रहेन। जमिन, व्यवसाय, सम्पत्ति र रोजगारीका आधारहरू बगे। बाढीअघिसम्म रसुवाकै ठूलो थोक व्यवसाय चलाउने, जसको गोदाममै सयौं बोरा चामल हुन्थे; एक जना दाइ राहतको चामल लिन बस्नुपरेको थियो। करोडौंको सम्पत्ति क्षणभरमा सकिएका उहाँ भन्दै हुनुहुन्थ्यो- के गर्ने बहिनी, जीवनमा यस्तो दिन पनि भोग्नुपर्ने रहेछ।

बाँचेकाहरू भएको ठाउँमा पुग्दा आफूलाई सम्हाल्न निकै मुस्किल हुन्थ्यो। अरूलाई सान्त्वना दिन खोज्दा आफ्नै आँसु थामिँदैनथ्यो। श्याममाया घले, रणबहादुर नेपालीजस्ता थुप्रै परिवारको नामोनिसान नै नरहने गरी सबै बगायो। अझै पनि जिउँदै भेटिने आशा बोकेर आफन्तहरू खोजिरहेका थिए। म आफैंलाई पनि अझै धेरै मानिस त्यहीँकतै जीवित होलान्, हिँडिरहेका होलान्, हाँसिरहेका होलान् जस्तो लागिरहन्छ।

परिवारले त झन् कसरी सहजै स्वीकार गर्न सक्थे र ! आफ्ना कलिला छोराछोरीको चिनो मात्र भए पनि भेटिन्छ कि ! भन्ने आशामा खोज्दै हिँडेका भावविह्वल बाआमाहरू थिए। राति सुतेपछि बच्चाले बोलाएको आवाज सुनेर मध्यरातमा त्यो कहालीलाग्दो बगरमा पुगेका अभिभावकहरू थिए। बच्चाहरू घर जाने भनिरहेका थिए। कसैले बा–आमा चाहियो भनिरहेका थिए। हामीले बाँचेकाहरूलाई राहत वितरण र व्यवस्थापनमा जति सक्यौं, सबै गर्‍यौं।

राहत वितरणमा केही कमी–कमजोरी र प्राविधिक त्रुटि भए होलान्, तर नियतमा कुनै खोट थिएन। यो कसैलाई देखाउन वा प्रचार गर्न गरिएको काम थिएन। पीडामा सकेको मलम लगाउने एउटा सानो प्रयास मात्र थियो। यही बीचमा धेरैले सहयोग देख्नुभयो, केहीले स्वार्थ। जसले जे देखे पनि यो वादविवाद गर्ने र प्रमाणित गर्ने समय थिएन। गाउँपालिका र वडाको निर्देशन तथा निर्णयअनुसार उपलब्ध राहत आवश्यक परिवारसम्म पुर्‍याउन सक्दो प्रयास गर्‍यौं। ३० भदौपछि उक्त काम गाउँपालिकालाई हस्तान्तरण गर्‍यौं र २ असोजमा काठमाडौं फर्कियौं।

कसरी पुनरुत्थान गर्ने ?

बाढीपछि रसुवाको अर्थतन्त्र, रोजगारी र जनजीवनका आधारहरू एकैपटक हल्लिएका छन्। अब रसुवा कसरी उठ्ला ? रसुवालीहरू कसरी उठ्लान ? जसले घर गुमाए, उनीहरूले फेरि घर कसरी बनाउलान् ? जसले परिवार गुमाए, उनीहरूले जीवनको खालीपन कसरी सहलान् ? जसको रोजगारी गुम्यो, उनीहरूले परिवार कसरी पाल्लान् ? जसको खेत बगर भयो, उनीहरूले भोलि के खालान् ? यी प्रश्नहरूले मनलाई शान्त हुन दिँदैनन्।

विपत्तिपछि राहत वितरणको चरण सकिएपछि अझ कठिन समय आउँछ- बाँचेकाहरूको दीर्घकालीन व्यवस्थापन कसरी गर्ने ? भन्ने। केवल राहत बाँडेर पुग्दैन, बाँचेकाहरूलाई फेरि जीवनप्रति भरोसा कसरी दिलाउने ? भन्ने मुख्य कुरा हो। उनीहरूलाई सम्मानसहित उभिन सक्ने वातावरण कसरी बनाउने ? भन्ने पेचिलो कुरा हो।

बाँचेकाहरूलाई केवल पीडित भनेर होइन, सम्मानका साथ हेर्नुपर्छ। उनीहरूको दुःख सुन्नुपर्छ, उनीहरूकै निर्णय र आवश्यकतालाई महत्त्व दिनुपर्छ। उनीहरूलाई एक्लो महसुस हुन दिनुहुँदैन। विपत्तिपछि मानिसलाई खाना र छानोसँगै आफ्ना मान्छेहरूको साथ पनि चाहिन्छ। उनीहरूले सहयोग प्राप्त गर्दा मर्यादित र सम्मानित वातावरण पाउने व्यवस्था गरिनुपर्छ।

पुनर्निर्माण भनेको केवल भत्किएका संरचना बनाउनु होइन। यो भत्किएका जीवन, हराएका भरोसा र अधुरा भविष्यलाई फेरि जोड्ने काम हो। यसलाई प्राविधिक रूपमा संरचना बनाउने विषयले मात्रै पूरा गर्दैन। अब रसुवा र रसुवालीलाई उठाउन तीनै तहका सरकार, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, निजी क्षेत्र, जनप्रतिनिधि, राजनीतिक दल, विज्ञ र सम्पूर्ण नागरिकको दायित्व छ। सबैको हातेमालो र इमानदार प्रयासले यो सम्भव छ।

मेरो विचारमा घरबारविहीन परिवारका लागि सुरक्षित स्थानमा मर्यादित आवास निर्माण गर्नुपर्छ। स्थानीय परिवेश, प्रभावित समुदायको आवश्यकता र वास्तविक अवस्थालाई केन्द्रमा राखेर पुनर्निर्माण तथा पुनर्वासको ठोस नीति र कार्ययोजना बनाउनुपर्छ।

रसुवाको पुनर्निर्माणका लागि सबैभन्दा पहिले लाइफलाइन सडक र पुलहरू जोडिनुपर्छ। आवागमन सहज नभएसम्म शिक्षा, स्वास्थ्य, व्यापार, राहत र रोजगारीका काम सहज हुन सक्दैनन्। सडक सञ्जाल टुटेपछि बाढीप्रभावित मात्र नभएर सिङ्गो जिल्ला नै मुस्किलमा छ।

दोस्रो, प्रभावित परिवारलाई राहतमा निर्भर बनाइराख्ने होइन, आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु आवश्यक छ। रोजगारी, सीप, व्यवसाय, कृषि र आर्थिक उपार्जनका अवसरमा जोड्नुपर्छ। जसले घर, जमिन र व्यवसाय गुमाएका छन्, उनीहरूलाई फेरि कमाउने आधार दिनुपर्छ। बाढीले घरबार, परिवार र सर्वस्व गुमाएका परिवारका सदस्यहरूलाई अब आउने हरेक रोजगारी, सीप, शिक्षा, व्यवसाय र आर्थिक अवसरमा अधिकतम जोड दिइनुपर्छ। उनीहरूलाई केवल राहत होइन, आफ्नो जीवन आफैं चलाउन सक्ने आधार चाहिएको छ।

तत्कालीन राहत वितरणदेखि पुनर्निर्माण र पुनर्लाभसम्मका हरेक गतिविधि पारदर्शी हुनुपर्छ। हरेक विपत्तिपछि सहयोग रकम दुरुपयोगका कुरा सुनिन्छन्, योपटक त्यो हुनुहुँदैन। प्राप्त स्रोत र सहयोगको अधिकतम हिस्सा प्रभावित समुदायसम्म पुग्ने व्यवस्था चाहिन्छ र त्यसका लागि निर्णय प्रक्रियामा स्थानीय समुदायको सहभागिता हुनुपर्छ।

सबैभन्दा महत्त्वपूर्ण त बाढीपछि बाँचेकाहरूको मुख्य चिन्ता बालबालिकाको शिक्षा र भविष्यलाई लिएर छ। अभिभावक गुमाएका तथा विपन्न परिवारका बालबालिकाको विषय झन् संवेदनशील छ। उनीहरूको गुणस्तरीय शिक्षा, सुरक्षा, संरक्षण र मानसिक स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ। आजको सहयोगले बच्चाको भविष्य जोगाउन सक्छ।

पीडितलाई चाहिएको भरोसा

बाढी गएको केही घण्टामै म नुवाकोट र तेस्रो दिन रसुवा पुगेकी थिएँ। त्यस दिनदेखि २४ दिनसम्म प्रभावित बस्तीहरूमा हिँड्दा देखेका दृश्य, सुनेका चित्कार र भेटेका मानिसहरू मनबाट हट्न सकेका छैनन्। धेरै आफन्त, साथी र चिनजानका मानिस गुमेका स्थानमा पुग्नसमेत भ्याइएन। तर मनमा गहिरो छाप बनेर बसिरहेको छ।

यो बीचमा दिन र रात कसरी बिते, पत्तै भएन। राहत सामग्री जुटाउने, वितरण गर्ने, पीडितका कुरा सुन्ने, आवश्यकता पहिचान गर्ने र सम्बन्धित निकायसम्म आवाज पुर्‍याउने काममै समय बित्यो। यसबीच तीज आयो र गयो भन्ने पनि थाहा भएन।

प्रभावित परिवारहरूको पीडा र उनीहरूको आँखामा देखिएको असहायपनबाट आफू अलग हुन सकिनँ। काठमाडौं फर्किए पनि मन रसुवाकै बगरमा छ। त्यहाँका भग्नावशेष, बगर र आफन्तको खोजीमा भौंतारिरहेका मानिसहरू आँखामा आउने–जाने गरिरहेका छन्। मस्तिष्कले पनि सहज रूपमा काम गर्न सकेको छैन।

बुजना, अप्सरा, श्रिजिलाजस्ता कलिला नानीहरू, जसको आफ्नो परिवारको कोही बाँकी छैन; अब उनीहरूको भविष्य के होला ? भनेर अत्यास आउँछ। सयौं कलिला युवती एकल भएका छन्। कतिका गर्भमा हुर्कंदै गरेका सन्तान गर्भमै टुहुरा बनेका छन्। कतिका बुढेसकालका सहारा खोसिएका छन्। कतिका जीवनसाथी गुमेका छन्। कतिका घरमा अब कहिल्यै नफर्किने मान्छेको प्रतीक्षा मात्र बाँकी छ। परिवार र समाज मात्र होइन, देशकै भविष्य धान्ने हजारौं युवा बाढीसँगै विलीन भएका छन्।

यी सबै देखिसकेपछि र भोगिसकेपछि आफूले सकेको सहयोग गरें भन्ने सन्तोषभन्दा अझै धेरै गर्न बाँकी छ भन्ने अनुभूति बलियो भएको छ। फर्किंदै गर्दा कविराज दाइले भन्नुभएको एउटा कुरा बारम्बार सम्झिरहेकी छु।

तीन सन्तानसहित सर्वस्व गुमाएर बाँच्न सफल उहाँले भन्नुभएको थियो- सबै गुमाएर बाँचेका हामी तपाईंहरूकै भरोसामा छौं। खान त पाइएला, तर आफ्नोजस्तो लाग्ने मान्छेहरू नदेख्दा झन् मन आत्तिन्छ। चाँडै आउनु है ! तपाईंहरूको मुख मात्रै देखे पनि आँट बढ्छ। उहाँका यी शब्द सुन्दा मसँग कुनै जवाफ थिएन। आँखामा आँसु मात्रै भरिए।

त्यतिबेला मलाई महसुस भयो- विपत्तिमा मानिसलाई राहत सामग्री मात्र चाहिँदैन रहेछ। उसलाई साथ चाहिन्छ, भरोसा चाहिन्छ, आफू एक्लो छैन भन्ने अनुभूति चाहिन्छ। कहिलेकाहीँ परिचित अनुहार, केही आत्मीय शब्द र छेउमा उभिने मान्छेले पनि पीडितको मनमा बाँच्ने साहस थपिदिँदो रहेछ।

रसुवामा धेरै परिवारको अथाह पीडा छ। धेरैका आफन्त बेपत्ता छन्। धेरै घरपरिवार आशा र अनिश्चितताको बीचमा बाँचिरहेका छन्। राहतको चरण सकिएको घोषणा गर्दैमा उनीहरूको समस्या सकिँदैन। उद्धार, राहत, पुनर्लाभ, पुनर्निर्माण, पुनर्वास र जीविकोपार्जनका चुनौती अझै बाँकी छन्।

अब हामीले उनीहरूलाई एक्लै छाड्नुहुँदैन। उनीहरूको घर निर्माणमा साथ दिनुपर्छ, बालबालिकाको शिक्षामा सहयोग गर्नुपर्छ, रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्नुपर्छ। बेपत्ता आफन्तहरूको खोजी र पहिचानका लागि निरन्तर पहल गर्नुपर्छ।

मृतकहरूलाई फर्काएर ल्याउन सकिँदैन। तर बाँचेकाहरूलाई बाँच्ने आधार दिन सकिन्छ। उनीहरूको काँधमा हात राख्न सकिन्छ। उनीहरूलाई भरोसा दिन प्रयास गर्न सकिन्छ- तपाईंहरू एक्लो हुनुहुन्न, हामी पनि साथमा छौं भनेर।

बाढीपछि केही दिनको अवधिमै धेरै सहयोग जुट्यो- व्यक्तिदेखि संस्थासम्म, देशदेखि विदेशसम्म अकल्पनीय सहयोग प्राप्त भयो। पीडामा मलम लगाउन सहयोग गर्नुभएका सबै सहयोगी हातहरूप्रति हार्दिक नमन छ। धेरैले सम्झनुभयो, माया देखाउनुभयो। कठिन बाटो पार गरेर राहत बोकी आउनुहुनेहरू, आफ्नो कमाइबाट सहयोग गर्नेहरू, समय दिएर खटिनेहरू र आवाज उठाउनेहरू सबैप्रति आभार छ।

तपाईंहरूको सहयोगले कठिन समयमा धेरै परिवारलाई राहत मिल्यो। धेरैलाई आफू एक्लो नभएको अनुभूति भयो। अब थुप्रै संस्था पुनर्निर्माण र पुनःस्थापनाको काममा जोडिन तयार भएका छन्। यो सहयोगलाई दीर्घकालीन अभियानमा बदल्न आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?