Comments Add Comment

मैले कोरोनाविरुद्धको लडाइँ जितेँ : गोलकिपर रेइना

१९ चैत, काठमाडौं । एस्टन भिल्लाका गोलकिपर पेपे रेइनाले कोरोना भाइरसको कारण कुनै समय आफूलाई सास फेर्नै गाह्रो भएको बताएका छन् । लोनमा एस्टन भिल्ला पुगेका रेइनाले मार्च महिनाको सुरुमा कोरोनाको केही लक्षण देखिएको खुलाएका हुन् ।

इटालियन पत्रिका कोरियरे डेलो स्पोर्टसँग उनले कोभिड-१९ सँग आफ्नो खराब अनुभवको बारेमा कुरा गरेका छन् र यसलाई आफ्नो जीवनको ‘अन्तिम मिनेटको डर’ भनेका छन् ।

‘भर्खरै मात्र मैले कोरोनाविरुद्धको लडाइँ जितेको छु’ इटालियन पत्रिकासँग रेइनाले भने,‘मेरा लागि सबैभन्दा कठिन क्षण भनेको मैले राम्रोसँग श्वास लिन सकिरहेको थिइनँ । त्यो २५ मिनेट जसमा म अक्सिजनबाट बाहिर थिएँ । यो मेरो जीवनको सबैभन्दा भयानक क्षण थियो ।’

रेइनाले कोरोना भाइरसको लक्षण देखिँदा आफूले निकै थकित महसुस गरेको बताए । ‘ज्वरो, सुख्खा खोकी र टाउको दुख्ने समस्याले मलाई कहिल्यै छाडेन । लगातार थकाई महसुस भइरह्यो’ रेइनाले भने ।

उनले अघि भने,  ‘जब त्यहाँ अक्सिजन नभएको मैले बुझेँ त्यो मेरो लागि ठूलो डर भयो । डरको अन्तिम क्षण । लाग्थ्यो मेरो घाँटी नै बन्द गरिएको छ । त्यसको नतिजास्वरुप म सुरुको ६ देखि ८ दिन घरभित्रै बसे ।’

रेइनाले आफूलाई सुरुवाती चरणमा असहज हुन थालेपछि आवश्यक सावधानी अपनाएको तर टेष्ट भने नगरेको बताए ।

पछिल्लो साता अरुलाई असर नगरोस् भनेर आफूले सावधानी अपनाइरहेको रेइनाले बताए । प्रिमियर लिग यस सिजन सक्न आतुर रहे पनि रेइनाले यो महत्वपूर्ण नरहेको बताए ।

रेइनाले अहिले आफ्ना लागि फुटबल प्राथमिकतामा नरहेको बताएका छन् । उनले लिग सक्नु महत्वपूर्ण नभएको भन्दै अहिले प्राथमिकता मानिसको स्वास्थ्य रहेको बताए । कोरोना भाइरसको कारण प्रिमियर लिग अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment