Comments Add Comment

टाँडीको क्वारेन्टाइन : विहानै चिया-खाजा, हप्तामा ४ पटक फलफूल

पाँचथरदेखि कैलालीसम्मका मानिस क्वारेन्टाइनमा

१९ चैत, टाँडी (मोरङ) । ‘अहिले फलफूल खाने समय भएको छ । तपाईहरु फलफूल लिन तोकिएको क्याम्पमा आउनुहोला । फलफूल लिन आउँदा लाइनमा बसेर सामाजिक दूरी कायम गर्न अनुरोध छ ।’

मंगलबार दिउँसो करिब १ बजे नेपाली सेनाका एक सिपाहीले माइकिङ गरेलगत्तै क्याम्पबाट मानिसहरु फलफूल राखिएको ठाउँमा लामबद्ध भए । उनीहरु कम्तीमा ३ मिटर दूरी कायम गरी लामबद्ध भएर पालै पालो फलफूल लिए र पुनः क्याम्पतिर फर्किए ।

मोरङको टाँडीस्थित नेपाली सेनाको सूर्यदल गण परिसरमा रहेको क्वारेन्टाइनस्थलको दृश्य हो ।

कोरोना भाइरसको संक्रमण फैलिएको देशबाट हालै नेपाल आएकालाई यस क्याम्पमा राखिएको छ । जसमा वैदेशिक रोजगारीबाट फर्किएका र भारतबाट पूर्वका काकडभिट्टा र रानी नाकाबाट नेपाल प्रवेश गरेकाहरु छन् ।

क्वारेन्टाइनस्थलमा १० चैतबाट मानिस राख्न थालिएको हो । अहिलेसम्म ६ जना भारतीयसहित १०७ जना बसेका छन् ।
जसमध्ये तीन जना बिरामी भएपछि अस्पताल पठाइएको छ भने तीन जनालाई सम्बन्धित स्थानीय तहका प्रतिनिधिले होम क्वारेन्टाइन राख्ने भनी लगेका छन् ।

क्वारेन्टाइनस्थलको व्यवस्थापन संयोजक सूर्यदल गणका सेनानी प्रवेश दाहालका अनुसार दुबई, कतार र मलेसियाबाट फर्किएका १५ जना छन् । वैदेशिक रोजगारबाट फर्किएका पाँचथरका एक युवकको श्रीमती र दुई छोराछोरी पनि क्वारेन्टाइनमा छन् ।

क्वारेन्टाइनस्थलमा रहेकामध्ये सबैभन्दा धेरै प्रदेश १ को मोरङ जिल्लाका रहेको सेनानी दाहालले बताए । जसमा मोरङ जिल्लाका २४, खोटाङका १८, तेह्रथुमका १२, सुनसरीका ६ जना रहेका छन् । त्यसैगरी पाँचथरका ६, झापाका २, उदयपुरका र ताप्लेजुङका एक/एक जना रहेका छन् ।

प्रदेशबाहिर कैलालीका ८, सुर्खेतका ७, जाजरकोटका एक जना रहेका छन् । मंगलबार साँझ रानी नाकाबाट उद्धार गरिएका थप १५ जना पनि क्वारेन्टाइनमा रहेका छन् । उनीहरु पूर्वका नाका हुँदै नेपाल प्रवेश गरेकाले यहाँको क्वारेन्टाइनमा राखिएको हो ।

दैनिक खाजासहित खानाको व्यवस्था

नेपाली सेनाको व्यवस्थापनमा रहेको यस क्वारेन्टाइनमा सरकारले तोकेको मापदण्ड पूर्ण रुपमा पालना गरिएको छ ।

‘सरकारले तयार परेको मापदण्डलाई हामीले यहाँ पूर्ण पालना गरेका छौं’, सेनानी दाहालले भने ‘क्वारेन्टाइन स्थलमा रहनुभएका मानिसहरुको स्वास्थ्य, सुरक्षा, खानपानलगायतका आधारभूत आवश्यतालाई पूरा गरेका छौं ।’

क्वारेन्टाइनमा रहेका व्यक्तिलाई कसैले भेट्नुपरेमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाएर मात्र भेट्न पाउने छन् ।

क्वारेन्टाइनमा विहान साढे ७ देखि ८ बजेसम्म चिया र खाजा, दिउँसो साढे ११ बजेदेखि १२ बजेसम्म खाना, दिउँसो साढे २ देखि ३ बजेसम्म खाजा र बेलुका ७ बजे खाना खाने समय तोकिएको छ । हप्ताको चार पटक फलफूलको व्यवस्था गरिएको छ ।

खाना र खाजा लिन आउनेले कम्तीमा ३ फिटको दूरी कायम गर्नुपर्नेछ । यहाँ रेडियो सुन्न र इन्टरनेट चलाउन पाइने व्यवस्था पनि छ । क्वारेन्टाइन स्थलमा १५ वटा शौचालय र त्यति नै संख्यामा नुहाउने कोठा तयार पारिएको छ ।

यहाँ बस्नेहरुले छुट्टाछुट्टै रुपमा प्रयोग गर्ने गरी कपडा धुने साबुन, नुहाउने साबुन, मञ्जन र ब्रस दिइएको छ । यहाँ रहेका सय वटा त्रिपालभित्र २ सय जना क्वारेन्टाइनमा बस्न सक्छन् ।

क्वारेन्टाइनमा अनुशासन पालनामा कडाइ गरिएको सेनानी दाहालले बताए । ‘क्वारेन्टाइनभित्र निकै अनुशासित हुनुपर्छ’ उनले भने, ‘खाना खाँदा, बस्दा र हिँड्दा सामाजिक दूरी कायम गर्ने कुरालाई समेत हेक्का राख्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment