Comments Add Comment

कोरोना भाइरसपछिको फुटबल कस्तो होला ?

१८ चैत, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभावबाट फुटबल टाढा रहन सकेको छैन ।

विश्वभरका मुख्य फुटबल गतिविधि बन्द छन् भने विस्तारै क्लब, खेलाडी र प्रशिक्षकहरुमा आर्थिक समस्या सिर्जना हुँदैछ ।

यरोपेली फुटबलको सर्वोच्च संस्था युईएफएलेसमेत युरो २०२० लाई २०२१ सम्मका लागि स्थगित गरिसकेको छ । यस्तै युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल कहिले हुने भनेर घोषणा हुन सकेको  छैन ।

युरोपका धेरै देशको लिग अन्तिम चरणमा पुगेर रोकिएका छन् । यो सिजन पूरा हुन नसके खेलाडी र लिगलाई ठूलो घाटा हुनेछ ।

टेलिभिजन प्रत्यक्ष प्रशारणबाट प्राप्त रकम र प्रायोजनबाट स्पेनमा मात्रै ७ सय मिलियन युरो र युरोपमा ७ विलियन युरो घाटा भएको छ ।

इटली, दी नेदरल्याण्ड्स र स्पेनमा जारी सिजन रद्ध हुने सम्भावना बढ्दै गएको छ । यस्तै फुटबल खेल सञ्चालन नहुँदा खेलाडीको तलब काटिँदैछ ।

यस्तै ट्रान्सफर मार्केटमा पनि खर्च गर्ने पैसा अभाव हुने देखिएको छ जसले गर्दा खेलाडीको तलब कम हुने सम्भावना छ । सीआईईएस फुटबल अब्जरभेटरीका अनुसार पउल पोग्बाको अहिलेको मुल्य ३५ मिलियन युरो मात्र छ । इंग्ल्याण्डको म्यानचेष्टर युनाइटेडबाट खेलिरहेको उनको सम्झौता २०२१ मा सकिनेछ ।

यदि रियल मड्रिडले एडेन हाजार्ड यस समरमा भित्र्याएको भए १०० मिलियन युरोको सट्टा ६५ मिलियन युरो पर्न सक्थ्यो ।

युरो २०२० सर्नुले लिगहरु यसै समरमा सक्नको लागि ढोका खुलेको थियो तर ट्रान्सफर विन्डो खुलेपछि पनि फुटबल तत्कालै फर्कने सम्भावना कम छ ।

यदि यस सिजन डोमेस्टिक लिगहरु सम्पन्न हुने भयो भने च्याम्पियन्स लिग रद्ध हुन सक्ने तथ्यबारे युईएफए सजग छ । विश्व फुटबलको नियमनकारी निकाय यी सबै समस्याको समाधान तय गर्नका लागि काम गरिरहेको छ । तर कोरोना भाइरसले खेलकुदमा कति असर पारेको छ भन्ने कुरा समयले मात्र बताउन सक्नेछ ।

मार्काको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment