Comments Add Comment

भारतको व्यवहारप्रति नेपाल असन्तुष्ट, सीमामा क्वारेन्टाइन बनाउने प्रस्ताव

हामीले भारतीयलाई समान व्यवहार गरेका छौं, उताबाट त्यही अपेक्षा छ : परराष्ट्रमन्त्री

१८ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन चैत १० बाट अन्तरर्राष्ट्रिय सीमा नाकाबाट आवागमन पूर्ण रुपमा बन्द गरेको छ ।

तर नेपालीहरु आउने क्रम रोकिएको छैन । सुरुमा सूचना नपाएर बाटोमा अलपत्र परेका भन्दै भारतीय सुरक्षाकर्मीहरुले नेपालीलाई दशगजा क्षेत्रमा ल्याएर छाडे । सरकारले पनि अलपत्र परेका आफ्नै नागरिक हुन् भनेर आउन दियो ।

नेपाल प्रवेश गर्न चाहनेहरुको संख्या नरोकिएपछि कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिले ११ चैतमा अन्तिम पटकका लागि नेपाल आउन दिने निर्णय गर्‍यो । साथै नेपाली नागरिकहरु जहाँ छन्, त्यही सुरक्षित बस्न आग्रह गर्‍यो ।

नेपालले भारतीय नागरिकलाई गरेको जस्तो व्यवहार भारतीय पक्षबाट नेपालीमाथि नभएको भन्दै कूटनीतिक माध्यमबाट असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ ।

तर अझै नेपालीहरु सीमा नाकामा आउने क्रम नरोकिएपछि सरकारले भारतीय पक्षसँग छलफल थालेको छ । भारतले नेपाली नागरिकलाई नेपालतिर जाउन् भन्ने झैं व्यवहार गरेको भन्दै नेपाली पक्षले असन्तुष्टि जनाएको छ ।

किनकी नेपालमा सँगसँगै भारतमा पनि लकडाउन छ र, हिँडडुलमा समेत रोक लगाइएको छ । तर दिल्ली, मुम्बई मात्र होइन, लद्दाख क्षेत्रमा काम गरेका नेपालीसमेत अहिले दशगजा क्षेत्रमा आइपुगेका छन् । लकडाउनका बेला उनीहरु जहाँ छन्, त्यहीँ राख्नुपर्नेमा नेपालतर्फ पठाएकोमा नेपाली पक्षको असन्तुष्टि छ ।

नेपालमा पनि लाखौंको संख्यामा भारतीय मजदुर छन् । उनीहरुमध्ये धेरै नेपालमा छन् । केही भने आफूखुसी वीरगञ्ज नाकामा पुगे पनि नेपालले भारततर्फ पठाएको छैन ।

तर नेपालले भारतीय नागरिकलाई गरेको जस्तो व्यवहार भारतीय पक्षबाट नेपालीमाथि नभएको भन्दै कूटनीतिक माध्यमबाट असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ ।

साथै आवतजावत खुला गर्दा लकडाउन र सीमा बन्दीको अर्थ नहुने भएकाले जुन देशका नागरिक जहाँ छन्, त्यहीँ क्वारेन्टाइन बनाएर राख्ने विकल्प नेपालले भारतलाई दिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भारतसँग सीमा क्षेत्रमा आएर बसेका व्यक्तिहरुबारे छलफल भइरहेको बताए ।

संकटको बेलामा आफ्ना हुन् वा विदेशी जो भए पनि समान व्यवहार गर्नुपर्ने भन्दै उनले नेपालले त्यही अनुसार व्यवहार गरिरहेको र भारतीय पक्षबाट नेपाली नागरिकमाथि पनि त्यस्ते व्यवहार होस् भन्ने अपेक्षा रहेको बताए ।

सीमा नाकाबाट पटकपटक प्रवेश दिने हो भने दुवै देशमा जोखिम बढ्ने भएकाले सीमा क्षेत्रमा रहेका दुवै देशका नागरिकलाई सम्बन्धित देशले त्यहीँ क्वारेन्टाइन बनाएर राख्ने विकल्पमा समेत छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

अहिले पनि सयौं नेपाली सीमा क्षेत्रमा आएर देशभित्र प्रवेश गर्न नाराबाजी गरिरहेका छन् । दार्चुलामा केही व्यक्ति महाकाली नदीमा पौडी खेलेर प्रवेश गरेका तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । आफ्ना नागरिकप्रति सरकार संवेदनशील भएर नै नाका बन्द गरिसकेपछि पनि प्रवेश दिइएको तर यो प्रक्रिया कहिल्यै नटुंगिने भएकाले जोखिम बढ्ने खतरा रहेको मन्त्री ज्ञवालीले बताए ।

मन्त्री ज्ञवालीले अनलाइनखबरसँग व्यक्त धारणा, उनकै शब्दमा

भारतीय श्रमिकहरु पनि नेपालको भूमिमा रोकिएका छन् । कस्तो नीति लिने भन्ने समन्वय गर्नपर्ने छ । वास्तवमा संकटका बेला आफ्ना हुन् वा विदेशी सबैसँग समान ढंगले व्यवहार गर्ने, सुरक्षा दिने दायित्व सम्बन्धित सरकारको हो । हामीले त्यही भनेका छौं र हामी त्यही गर्छौं । तर फर्काउने हो भने त्यो पनि एउटा समझदारीमा हुनुपर्ने हो ।

वीरगन्जमा गएर बसेका भारतीय नागरिकको पनि समस्या छ । सिमानामा रहेका हाम्रा नागरिकहरुको पनि समस्या छ । हाम्रो छलफल भइरहेको छ । हाम्रोमा पनि ठूलो संख्यामा भारतीय नागरिक छन् । अहिले केही सिमानामा गएर बसेका छन् । अरु पनि ठूलो संख्यामा छन् ।

अब सम्बन्धित देशहरुले आफ्नो सीमाभित्र रहेका नागरिकको सुरक्षाको दायित्व चाहिँ लिनुपर्छ । यस्तो संकटको बेलामा चाहिँ आफ्नै देश जाऊ भन्न मिल्दैन । त्यसकारण हामीले चाहिँ आफ्नो सीमाभित्र रहेका भारतीय नागरिकको पनि सुरक्षा र उनीहरुको जीवन निर्वाहको दायित्व निर्वाह गरिरहेका छौं ।

नेपालमा कार्यरत भारतीय नागरिक पनि सिमानामा पुगेका छन् । उनीहरुलाई के गर्ने भन्ने पनि भारत सरकारले थाहा पाउनुपर्‍यो । हाम्रो नागरिकको हकमा पनि हामी परामर्श गरिरहेका छौं । अर्को कुनै व्यवस्था नभएसम्म चाहिँ सीमामा रहेकाहरुलाई के सुविधा दिन सकिन्छ भनेर छलफल भइरहेको छ ।

कम्तीमा खानपिनको व्यवस्था होस् । अर्को व्यवस्था नहुन्जेलको निम्ति त्यो आवश्यक छ । हाम्रो सीमाभित्र रहेका भारतीयको जिम्मा हामीले लिनुपर्छ । उता भएका हाम्रा नागरिकको जिम्मा उताको सरकारले लिनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता पनि हो ।

उहाँहरुलाई दुवै देशले अर्को निर्णय नगर्दासम्म सीमामै टेन्ट टाँगेर क्वारेन्टाइन बनाएर राख्ने कि भन्ने पनि छलफल भइरहेको छ । किनभने दुवैतिर जोखिम छ । यसरी दुवैले लकडाउन पनि गरेको र अन्तर्राष्ट्रिय सीमाहरु पनि बन्द गरेको अवस्थामा यसरी खुलेआम आवतजावत पनि भइरहने हो भने त यसले न त लकडाउनको अर्थ हुने भयो, न त सिमाना बन्दको अर्थ हुने भयो ।

त्यसो भएको हुनाले दुवै देशले पारस्परिक सम्बन्ध र समन्वयको आधारमा यो समस्याको हल गर्नुपर्ने भएको छ । समन्वयको प्रयास भइरहेको छ । हाम्रा नागरिकलाई हामीले सिमाना एकतर्फी बन्द गर्दा पनि भित्र्याएर क्वारेन्टाइनमा राख्ने प्रयास गरेको हो ।

सीमा बन्द गर्ने निर्णय भएपछि पनि हजारौं नेपालीलाई भित्र्याइयो । तर यो त नेभर इन्डिङ प्रोसेस हुनेभयो । यसले त जोखिममात्र बढाउने भएन कि हामीले गरेका प्रयासहरुको पनि अर्थ नहुने भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment