News Summary
Generated by OK AI. Editorially reviewed.- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा वर्षा र हिमपातका कारण आधार शिविर पदयात्रामा गएका करिब १५० पर्यटक रोकिएका छन्।
- प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले कात्तिक १४ गतेसम्म अन्नपूर्ण आधार शिविर पदयात्रामा रोक लगाइएको बताए।
- नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मीको टोलीले पर्यटकको सहजीकरणका लागि आधार शिविरतर्फ गएको छ।
१२ कात्तिक, म्याग्दी। वर्षा र हिमपात रोकिएपछि क्षेत्र देखि पर्यटक फर्कन थालेका छन् ।
सोमबार रातिदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने मौरिस हर्जोग पदमार्ग भएर आधार शिविर पदयात्रामा गएका पर्यटक बीच बाटोबाटै फर्कन थालेका हुन्।
अन्नपूर्ण आधार शिविर घुम्न गएकी म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगकी टीका पुर्जा पुनले हिउँ परेपछि मङ्गलबार दिनभर भुसकेतको आश्रयस्थलमा बसेको र आज पञ्चकुण्ड तालसम्म पुगेर फर्किएको बताइन् ।
‘पञ्चकुण्ड तालदेखि आधार शिविर जाने पदमार्गमा हिउँ जमेकाले जान सकेनौँ’, उनले भनिन्, ‘मौसममा सुधार भएपछि पैदलयात्रा गरेर हुमखोला आएका छौँ।’ आधार शिविरबाट हिँडेर आएकाहरूलाई हुमखोलाबाट नारच्याङ झर्ने सवारीसाधनको अभाव भएको छ।
उक्त पदमार्गमा करिब १५० जना पर्यटक हिमपात र वर्षात्का कारण मङ्गलबार रोकिएका थिए। यही कात्तिक १४ गतेसम्मका लागि अन्नपूर्ण आधार शिविर पदयात्रामा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए।
आधार शिविर गएका पर्यटकको सहजीकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय उद्धारकर्मी इन्द्रसिंह शेरचनको टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरेर आधार शिविरतर्फ लागेको छ ।
जिल्ला प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जिल्लाका पर्यटकीय स्थलहरुमा गएका पर्यटकहरू हालसम्म सुरक्षित रहेका जानकारी दिए ।
यसैगरी म्याग्दीको मुदी हुँदै धौलागिरि चक्रीय पदमार्ग भएर मुस्ताङको मार्फा जाने क्रममा रोकिएका तीन जना बेलायती र १२ नेपाली शेर्पा तथा पथप्रदर्शकको उद्धारका लागि जोमसोमबाट सुरक्षाकर्मी टोली गएको जनाइएको छ।
प्रतिक्रिया 4