News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार ठगीका ३३ अभियुक्त २३ र २४ भदौको जेनजी आन्दोलनपछि फरार भएका छन् र अझै सम्पर्कमा आएका छैनन्।
- २४ भदौको आगजनीमा कालीमाटी प्रहरी वृत्तमा रहेका ३४ अभियुक्त भागेका थिए, जसमा ३३ जना वैदेशिक रोजगार ठगीका थिए।
- वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले फरारमध्ये एक जना मात्र सम्पर्कमा आएको र अनुसन्धानपछि मुद्दा चलाउने जानकारी दिनुभयो।
१२ कात्तिक, काठमाडौं । वैदेशिक रोजगार ठगी कसुरमा फरार रहेका ३३ अभियुक्त अझै सम्पर्कमा आएका छैनन् । २३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा फरार ३४ अभियुक्तमध्ये ३३ जना अझै सम्पर्कमा नआएका हुन् ।
वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेका अभियुक्तलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको थियो । तर, २४ भदौमा वृत्तमा आगजनी तथा तोडफोड भएपछि वृत्तको थुनामा रहेका अभियुक्तहरू भागेका थिए । जसमा ३४ जना वैदेशिक रोजगार सम्बन्धी ठगीका अभियुक्त पनि थिए ।
तीमध्ये एक जना आफैं सम्पर्कमा आएको वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए ।
फरारमध्ये एक जना मात्रै सम्पर्कमा आएको र अन्य अझै फरार रहेको उनको भनाइ छ । फरार अभियुक्तहरूलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गर्दै आएको छ ।
जेनजी आन्दोलन क्रममा आगजनी हुँदा विभागसमेत पूर्णरूपमा जलेर नष्ट भएको थियो । आगजनीका कारण विभागभित्रका सम्पूर्ण कागजात समेत जलेर नष्ट भएका थिए ।
यतिबेला वैदेशिक रोजगार कार्यालयबाट अस्थायी रूपमा सेवा प्रवाह हुँदै आएको छ । प्रवक्ता शिवाकोटीले ठगीको उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान गर्दै आएको छ ।
अनुसन्धानपछि विभागले वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा चलाउने गरेको छ भने अधिकांश केशमा दुवै पक्षबीच मेलमिलाप गराउने गरिएको छ ।
प्रतिक्रिया 4