News Summary
Generated by OK AI. Editorially reviewed.- सिक्किममा भएको महिला मैत्रीपूर्ण फुटबल खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३-० ले पराजित गरेको छ ।
- निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।
- गोलकिपर अन्जना राना मगरले दुई पेनाल्टी बचाउँदै नेपाललाई जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।
१२ कात्तिक, काठमाडौं । मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा पराजित गरेको छ ।
सिक्किमको पाल्जोर स्टेडियममा बुधबार भएको अनअफिसियल मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३-० ले पराजित गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । जहाँ अन्जना राना मगर नायक बन्दै दुई पेनाल्टी बचाइन् ।
पेनाल्टीसुटआउटमा नेपालका लागि सविता राना मगर, रश्मि कुमारी घिसिङ र निशा थोकरले गोल गरे । अनिता बस्नेतको प्रहार बाहिरिएको थियो ।
यस्तै भारतको दुई प्रहार नेपाली गोलकिपर अन्जना राना मगरले बचाइन् । उनले प्रियदर्शनी र अस्ताम ओरामको प्रहार बचाइन् भने सन्तोषको प्रहार बाहिरिएको थियो ।
त्यसअघि निर्धारित समयमा भारतले पहिले अग्रता लिएको थियो । सौम्य गोगुलोथले ३०औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । नेपालका डिफेण्डर निशा थोकरको गल्तीमा सौम्यले गोल गरेकी हुन् । तर त्यो अग्रता लामो समय भने टिकेन । नेपालका लागि रश्मि कुमारी घिसिङले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा बराबरी गोल फर्काइन् । कप्तान अनिता बस्नेतको कर्नरमा पेनाल्टी बक्समा रहेकी रश्मिले गोल गरेकी हुन् ।
सिक्किम राज्यको ५०औं स्थापना दिवसको अवसर पारेर नेपाल र भारतको महिला टिमबीच खेल आयोजना गरिएको हो । जहाँ नेपालले दोस्रो रोजाईँका खेलाडीहरुलाई अवसर दिइएको थियो । यस्तै भारतले पनि रिजर्भ टिम र युवा खेलाडीहरुलाई खेलाएको थियो ।
शिलोङमा भएको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाल र भारतको टोली सिक्किम पुगेको थियो । ट्राईनेसन्स मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो ।
प्रतिक्रिया 4