Comments Add Comment

भेन्टिलेटरले कसरी गर्छ काम ?

अहिले संसारभरी कोरोना भाइरसको संक्रमण झन्–झन् बढ्दै गएको छ । नेपालमा पनि पाँच जना व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । यद्यपि, अहिलेसम्म नेपालमा यो भाइरसका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । सरकारले कोरोना भाइरस नफैलियोस् भन्नका लागि नेपालभरी नै लकडाउन गरेको छ ।

यसैबीच, अहिले कोरोना संक्रमित बिरामीहरुका लागि अत्यावश्यक भेन्टिलेटरका बारेमा चर्चा चुलिएको छ । संक्रमितलाई अस्पतालले उपचारका लागि भेन्टिलेटरको सुविधा प्रदान गर्नुपर्ने हुन्छ । यद्यपि, अस्पतालहरुमा पर्याप्तमात्रामा भेन्टिलेटरहरु नहुँदा यसले भविष्यमा समस्या पर्नसक्ने स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुले सचेत गराउँदै आएका छन् ।

भेन्टिलेटरको व्यवस्था

कोरोना भाइरसको गम्भीर अवस्थालाई ध्यान दिँदै अस्पतालहरुले भेन्टिलेटरको व्यवस्था गर्दै आइरहेका छन् । बिरामीको अवस्था गम्भीर हुनासाथ भेन्टिलेटरले उनीहरुको ज्यान बचाउनका लागि सहयोग गर्छ । भेन्टिलेटरको आवश्यकता कुन समयमा पर्छ र आउने समयमा सरकार यसको आपूर्तिका लागि कत्तिको तयार छ ? भन्ने कुरा महत्वपूर्ण विषय हो ।

भेन्टिलेटरले कसरी काम गर्छ ?

भेन्टिलेटर एउटा त्यस्तो मेसिन हो, जसले कुनै पनि बिरामीलाई सास लिन सहयोग पुर्‍याउँछ । यसले फोक्सोसम्म अक्सिजन पुर्‍याउने काम गर्छ र कार्बनडाईअक्साइडलाई बाहिर निकाल्छ । भेन्टिलेटरलाई जीवन संरक्षक मेसिन पनि भनिन्छ। किनभने यसलाई त्यो समयमा प्रयोग गरिन्छ, जब बिरामीको फोक्सोले कम काम गर्न थाल्छ । सर्जरीभन्दा पहिला पनि यसको प्रयोग गर्न सकिन्छ ।

भेन्टिलेटर मेसिनमा एउटा ट्युब जोडिएको हुन्छ, जसलार्ई बिरामीको मुख,नाक अथवा घाँटीमा सानो प्वाल पारेर शरीरमा हालिन्छ । कोभिड–१९ उपचारमा करिब पाँच प्रतिशत बिरामीलाई मात्र क्रिटिकल केयरको आवश्यकता पर्छ । त्यस्ता बिरामीलाई उपचारका लागि आईसीयूमा भर्ना गरिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ का ८० प्रतिशत बिरामीहरु अस्पतालको उपचार बिना नै ठिक हुन्छन् । तर, पाँच बिरामीहरुमध्ये एक जना गम्भीर रुपले बिरामी हुन्छ र उनीहरुलाई सास फेर्न गाह्रो हुन्छ ।

कोरोना भाइरसमा भेन्टिलेटरको आवश्यकता

कोरोना भाइरसबाट संक्रमणको गम्भीर अवस्थामा भाइरसले फोक्सोमा नोक्सान पुर्‍याउन थाल्छ । मानिसको फोक्सो शरीरको त्यो अंग हो, जहाँबाट अक्सिजन शरीरमा पुग्छ र कार्बनडाईअक्साइड शरीरबाट बाहिर निस्कन्छ ।

यदि यो भाइरस तपाईंको मुखको माध्यमबाट सास नलीमा प्रवेश गरेर फोक्सोसम्म पुग्यो भने त्यसले फोक्सोमा साना-सानो प्वाल बनाइदिन्छ । कोरोना भाइरसले बनाएको स-सानो प्वालमा पानी जम्न थाल्छ । जसका कारण सास फेर्न गाह्रो हुन्छ र तपाईंले लामो सास फेर्न सक्नुहुन्न ।

यो अवस्थामा बिरामीलाई भेन्टिलेटरको आवश्यकता पर्छ । यस्तो स्थितिमा भेन्टिलेटरले फोक्सोमा अक्सिजन पुर्‍याउँछ । भेन्टिलेटरमा ह्युमिडीफायर पनि हुन्छ, जसले त्यसबाट आउने हावालाई तातो र चिसो समावेश गर्छ, जसका कारण शरीरको तापक्रम सामान्य बनिरहन्छ ।

फोक्सोको काम गर्छ

कोरोना भाइरसबाट संक्रमित व्यक्तिको अवस्था यदि गम्भीर छ भने अस्पतालमा भर्ना गरिन्छ र उसलाई अक्सिजन दिइन्छ । जुन बिरामीको फोक्सोले राम्ररी काम गरेको छैन । त्यस्ता बिरामीहरुलाई भेन्टिलेटरमा हालिन्छ । त्यो समयमा भेन्टिलेटरले फोक्सोको काम गर्छ ।

भेन्टिलेटरबाट फिर्ता आउने सम्भावना

अधिकांश मानिसहरुलाई भेन्टिलेटर भन्ने बित्तिकै डर लाग्छ । मानिसहरुबीचको आमधारणा के छ भने भेन्टिलेटरबाट फिर्ता आउने सम्भावना निकै कम हुन्छ । कोरोना भाइरसको प्रसंगमा त भेन्टिलेटरमा पुगेपछि फिर्ता आउन सम्भावना झनै कम हुने चर्चा छ । यस सम्बन्धमा चिकित्सकहरु के भन्छन् भने भेन्टिलेटरमा आएपछि पनि बिरामीहरु ठिक हुन्छन् । कोरोना भाइरसबाहेक अन्य बिरामीहरुमा त ७० देखि ८५ प्रतिशत बिरामी ठिक भएर बाहिर निस्कन्छन् । यद्यपि, कोरोना भाइरसको प्रसंगमा भने यो प्रतिशत केही कम हुन्छ ।

भेन्टिलेटरभन्दा बढी आवश्यक सुरक्षात्मक उपकरण

उपकरणहरुको तयारी कति मानिसमा संक्रमण भएको छ र कतिको गम्भीर छ भन्ने कुरामा निर्भर गर्छ । तर, भेन्टिलेटरलाई हामी व्यवहारिक रुपले हेर्नुपर्छ । कोरोना भाइरसको सामना गर्ने विभिन्न उपकरणहरुमध्ये भेन्टिलेटर पनि एक हो। तर, यो नै कोरोना भाइरसको उपचार भने होइन ।

विशेषज्ञहरुका अनुसार कोरोना भाइरसका एक सय बिरामीहरुमध्ये ८० जना बिरामीको उपचार घरमा नै हुन्छ । एउटा अनुमानका अनुसार बचेका २० मध्येमा पनि केवल ४–५ जनालाई मात्र भेन्टिलेटरको आवश्यकता पर्छ । तर, भेन्टिलेटरभन्दा हामीलाई पर्सनल प्रोटेक्शन इक्युपमेन्ट, मास्क र बिरामीको रेखदेखमा जुटेका स्वास्थ्य कर्मचारीहरुको धेरै आवश्यकता हुन्छ ।

भेन्टिलेटर केही बिरामीहरुलाई मात्र आवश्यक छ । तर, सुरक्षा सम्बन्धी उपकरण र नर्स र डाक्टर हरेक बिरामीका लागि आवश्यक छ । हामीले यो उपचारमा दिनरात जुटेका डाक्टर नर्स र सफाईकर्मीहरुको सुरक्षालाई पनि सुनिश्चित गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment