Comments Add Comment

भारतबाट आउनेक्रम रोकिएन, थप २२९ चेकपोष्ट खडा

सीमावर्ती क्षेत्रमा निगरानी समिति बनाइँदै

२५ चैत, जनकपुरधाम । लकडाउनकै बीच प्रदेश २ का नाका प्रयोग गरेर भारतबाट आउने क्रम नरोकिएपछि प्रहरीले सीमा नाकामा थप चेकपोस्ट खडा गरेको छ । यसअघि प्रदेशका नाकामा १ सयको हाराहारीमा चेकपोस्ट रहेकोमा त्यसलाई बढाएर ३ सय २९ पुर्‍याइएको हो ।

लकडाउनमा पनि भारतीय नाका हुँदै नेपाल प्रवेश गर्ने क्रम यथावत् रहेपछि चेकपोस्ट संख्या बढाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी प्रद्युम्न काकीले जानकारी दिए । यसका लागि नेपाल तथा सशस्त्र प्रहरी दुवैको संख्या बढाइएको उनले बताए ।

‘प्रदेशमा पहिला सय वटाको हाराहारीमा मात्रै चेक पोष्ट थियो,’ डीआईजी कार्कीले भने, ‘अहिले त्यसलाई बढाएर ३ सय २९ पुर्‍याएका छौं ।’

भारतबाट नेपाल आउन सक्ने सम्भावित ठाउँहरूमा चेकपोष्ट बनाइएको उनले बताए ।

सीमा नाकामा चेकपोष्ट थपेर भारततर्फका एसएसबी, थानेदार, दरोगा, डीएमहरुसँग नियमित सम्पर्क र समन्वय गरिरहेको कार्कीले बताए । ‘यताका मान्छे उता नजान र उताका यता आउन नदिन दुवै देशका सुरक्षा अधिकारीले मिलेर काम गरिरहेका छौं,’ डीआईजी कार्कीले दुई देशका सुरक्षा अधिकारीबीचको समन्वयबारे जानकारी दिँदै भने ।
लुकेर बसेका पक्राउ

भारतको विभिन्न ठाउँबाट आएर आफ्नो घरमा लुकेका सात जनालाई सप्तरी सदरमुकाम राजविराजको विभिन्न ठाउँबाट फेला पारी क्वारेन्टाइनमा राखिएको छ ।

भारतबाट आई बारा, पर्सालगायतका स्थानमा लुकेर बसेकाहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरू सबैलाई क्वारेन्टाइनमा राखिएको छ । दुई दिनअघि मात्रै महोत्तरीमा भारतबाट आएका १५ जना बालकलाई फेला पारिएको छ ।

सीमावर्ती क्षेत्रमा निगरानी समिति बनाइँदै

कोरोना भाइरस संक्रमण फैलिन नदिन प्रहरीले आफ्नो निगरानी राख्दै स्थानीय नागरिकको समेत निगरानी बढाउने भएको छ । नागरिक पनि बिनाबर्दीको प्रहरी भएको भन्दै उनले सीमावर्ती क्षेत्रमा नागरिक सम्मिलित समिति बनाउन लागिएको जानकारी दिए । सीमातिरका स्थानीय तह र त्यसभित्रका वडाहरुमा पनि समिति बनाइने उनले बताए । समितिले भारतबाट कोहि आए त्यसको निगरानी गर्ने र तत्कालै क्वारेन्टाइनमा पठाउने काम गर्ने डीअइजी कार्कीको भनाए ।

‘समिति पदाधिकारीले कुनै नयाँ मान्छे आए तुरन्तै क्वारेन्टाइनमा पठाउँछन,’ उनले भने, ‘त्यसमा हामी पनि सघाउँछौं ।’

निगरानी समिति बनाउने सन्दर्भमा प्रमुख जिल्ला अधिकारीलगायतसँग छलफल भइसकेकाले चाँडै निर्माण हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment