Comments Add Comment

थारु समुदायको संसारी पूजा स्थगित

कन्तरी माईको पूजामा सहभागीहरु । फाइल फोटो

२५ चैत, नवलपरासी । नवलपुर र चितवनका थारु समुदायले धुमधामका साथ मनाउने संसारी पूजा यस वर्ष स्थगित भएको छ । कोरोनाको त्रासका कारण लकडाउनको समय लम्बिँदै गएपछि पूजा स्थगित गरिएको हो ।

हरेक वर्ष चैत पूर्णिमाका दिन गरिने संसारी पूजा यस वर्ष चैत २६ गते परेको थियो । यो पूजा नवलपरासीको देवचुली डाँडामा रहेको श्रीथान कुमारवर्ती माई (देवी) थानमा गरिन्छ ।

श्रीथान कुमारवर्ती माई (देवी) संरक्षण समिति नवलपुरका सचिव पतिराम थनेतले कोरोनाको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको समर्थन गर्दै यस वर्षको पूजा स्थगित गरिएको जानकारी दिए ।

नवलपुर र चितवनका थारु समुदाय पूर्णिमाको अघिल्लो रात कीर्तिपुरमा बास बसी चैत पूर्णिमाको दिन संसारी माईको पूजा गर्दछन् । सोही स्थानमा पाँच वर्षमा एकपटक कन्तरी माईको पूजा गर्ने प्रचलन थारु समुदायमा छ ।

रोगव्याध नलागोस् भन्ने कामनासहित थारु समुदायले कन्तरी माई र संसारी माईको पूजा गर्दछन् ।

चैत्र पूर्णिमाको दिन स्थानीय स्तरमा गाउँमा रहेको शाखा थानमा गरिने पूजा भने सर्वसाधारणको उपस्थिति विना पूजारी मात्र बसेर गरिँदै छ ।

– रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment