Comments Add Comment

लकडाउनमा रोड मार्किङ गर्न भ्याइनभ्याई (फोटो फिचर)

२३ चैत, काठमाडौं । लकडाउनपछि सडक सुनसान छ । मान्छेहरु घरभित्रै छन्, केही अत्यावश्यक सेवाका सवारी मात्रै गुडिरहेका छन् । तर, सडकमा चिन्ह र रेखा कोर्ने मजदुरलाई भने यो समय भ्याइनभ्याई छ ।

सडक विभागले लकडाउनको मौका पारेर रोड मार्किङ गर्न बाँकी स्थानहरुमा काम थालेपछि उनीहरुको व्यस्ताता बढेको हो । सडकमा आवागमन कम भएकाले विभागले रातमा गर्दै आएको काम दिउँसो नै गर्न सुरु गरेको छ । यसले मार्किङको काम गर्ने प्राविधिक कामदारहरुलाई पनि सहज भएको छ ।

काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९ विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहेको बताउँछन् ।

‘एक ठाउँमा ४–५ कामदार भए काम हुन्छ, जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएरै मार्किङ गरिरहेका छौं,’ उनले भने,‘कामदारहरुबीच सामाजिक दूरी कायम राखेर काम हुँदैछ ।’

उनले राती गर्नुभन्दा दिउँसो गर्दा यस्तो मार्किङ प्रभावकारी हुने देखिएको बताए । अनुगमन पनि गर्न पाइने र कामदारले ढुक्कसँग काम गर्न सक्न भएकाले लकडाउनलाई मौकाका रुपमा सदुपयोग गरिएको नेपालीको भनाइ छ । सवारी कम चल्ने भएकाले मार्किङ गरिएको रंग सुकिहाल्ने सडकमा पोतिने डर पनि अहिले छैन ।

‘यही मौकामा सबैतिर गर्ने भन्ने पनि हैन, गरिहाल्नुपर्ने देखिएका स्थानमा मार्किङ गर्न लागेका हौं,’ उनले भने ।

सडक विभागले लकडाउन अघिसम्म काठमाडौंका विभिन्न सडकहरु कालोपत्रे गरेको थियो । आवधिक मर्मतलाई प्राथमिकतामा राखेको विभागले यस वर्ष काठमाडौंका सडकलाई विगतका वर्षमा भन्दा स्तरीय बनाएको छ । सडकको मार्किङलाई पनि प्रभावकारी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment