Comments Add Comment

कार्यभार सम्हाल्दै गभर्नर अधिकारीले भने– जहाँ भुङ्ग्रो छ, त्यहीँ पुगेँ

प्रतिस्पर्धीबाट सहयोग पाउने विश्वास

२५ चैत, काठमाडौं । नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले जहाँ समस्या पर्‍यो, त्यहीँ जानुपर्ने अवस्था आएको बताएका छन् । कोरोना भाइरस संक्रमणका कारण विश्व प्रभावित भइरहेको विषम परिस्थितिमा गभर्नरको नेतृत्व दिएकोमा उनले सरकारलाई धन्यवाद दिए ।

मंगलबार राष्ट्र बैङ्कमा गभर्नरको कार्यभार सम्हाल्दै उनले भने, ‘जहाँ भुङ्ग्रो छ त्यहीँ म पुग्छु ।’

गभर्नरको दाबेदार कायममुकायम गभर्नर डा. चिन्तामणि सिवाकोटी, केशवप्रसाद भट्टराई र अधिकारी थिए । सोमबारको मन्त्रिपरिषद् बैठकबाट गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका थिए ।

मंगलबार प्रधानन्यायाधीशबाट सपथग्रहण गरे लगत्तै बालुवाटारस्थित राष्ट्र बैंक केन्द्रीय कार्यालयमा पुगेर पदभार ग्रहण गर्दै उनले आफ्ना प्रतिष्पर्धीहरुबाट पनि सहयोगको अपेक्षा गरे।

अधिकारीले भने, ‘म एक्लै छैन । मसँगै प्रतिष्पर्धा गर्नु भएका डेपुटी गभर्नर हुनुहुन्छ । अर्का डेपुटी गभर्नर तथा अन्य सबै हुनुहुन्छ । म कम्फर्टेबल छु ।’

अघिल्ला गभर्नर डा. चिरञ्जीवि नेपालको अवकाशपछि कायम मुकायम गभर्नरसमेत बनेका डा. सिवाकोटीसहितका प्रतिस्पर्धीप्रति लक्षित गर्दै अधिकारीले जो जहाँ भए पनि आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।

‘हामी प्रतिस्पर्धी भयौँ । दुबै जना हुने कुरा भएन, म भएँ । उहाँ र म बिकम सँगै पढेका थियौँ । म पनि हिँजो प्रतिष्पर्धामा थिएँ, तर भइनँ । तर, मैले सहयोग गरेँ । अहिले अवसर पनि पाएँ । सबैलाई म यही बाटो अपनाउन आग्रह गर्छु ।’

उनले थपे, ‘नेपाल सरकारको आर्थिक सल्लाहकार भएको कारणले हामीले गर्ने अध्ययनमा हामी गम्भीर हुनेछौँ । हामीले हिँजो राखेको नाम कायम राख्न सबैको सहयोग हुनेछ ।’

उनले आफू यहाँकै उत्पादन भएको बताउँदै राष्ट्र बैङ्क सफल निकायको रुपमा रहने बताए । अधिकारी ०७३ सालमा डेपुटी गभर्नरको कार्यकाल पूरा गरी राष्ट्र बैङ्कबाट बाहिरिएका थिए ।

‘कोरोना चुनौती छ, यसले कति असर गर्छ भन्ने कुरा हामीलाई थाहा छैन । जो जहाँ छौँ त्यहीँबाट काम गरौँ,’ गभर्नर अधिकारीले भने, ‘हामीले नसक्ने विषय छैन । हामीले नसके कसैले सक्दैन ।’

बैङ्क तथा वित्तीय क्षेत्रले भोग्नु परेका समस्यालाई सहज बनाउने आश्वासनसमेत दिँदै अधिकारीले भने, ‘तपाईं सबैलाई थाहा छ म एक्सन वरियन्टेड मान्छे हुँ । मलाई रिजल्ट चाहिन्छ ।’

यो पनि पढ्नुहोस राष्ट्र बैंकमा महाप्रसादको ‘कमब्याक’

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment