Comments Add Comment

संक्रमितको उपचार गर्नेको ज्यान गए प्रदेश १ सरकारले ५० लाख दिने

२५ चैत, विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिँदा ज्यान गुमाउनेको परिवारलाई ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले कोरोना संक्रमितको उपचारमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा पदाधिकारीको ज्यान गए ५० लाख प्रदान गर्ने निर्णय गरेको हो ।

उपचारमा खटिनेहरुको सुरक्षाको प्रत्याभूतिका लागि प्रदेश सरकारले यस्तो निर्णय गरेको प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

क्वारेन्टाइन थपियो

यसैबीच प्रदेश १ मा मंगलबार क्वारेन्टाइन बेड संख्या थपेर ४ हजार १ सय १५ पुर्याइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार सोमबारसम्म क्वारेन्टाइन स्थल संख्या २ सय ५१ थिए । मंगलबार तीन स्थानमा क्वारेन्टाइन थपिएको छ ।

सरकारले तोकेका क्वारेन्टाइनहरुमा मंगलबारसम्म २ हजार ८ सय ८५ जना बसेका छन् । सोमबार यो संख्या २ हजार ८ सय ४७ जना थियो । मंगलबार २ महिला र ३८ पुरुष क्वारेन्टाइनमा थप भएका हुन् ।

आइसोलेसनमा बसेका २१ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा हालसम्म ९० जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित ल्याबमा पठाइएको छ । तीमध्ये ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment