
२६ चैत, जनकपुरधाम । प्रत्येक नयाँ वर्षको अवसरमा सिरहाका बिभिन्न ठाउँमा लाग्ने मेला यस पटक स्थगित गरिएको छ । नयाँ वर्षको अवसरमा वैशाख १ गते सिरहाको लहान नगरपालिकामा हजारौंको सहभागितामा सलहेश फूलबारी मेला लाग्ने गर्दछ ।
सिरहामै पकडिया गढ, मानिक दह, धमनी माई मेला र पतारी मेला लाग्ने गर्दछ । तर यसपटक यी मेलाहरु लाग्न नदिइने निर्णय भएको छ । मंगलबार सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँको अध्यक्षतामा सुरक्षा अधिकारी र केही स्थानीय तहका प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले मेला लाग्न नदिइने निर्णय गरेको हो ।
विश्वभर कोरोना भाइरसका प्रभावलाई नियन्त्रण गर्न देशभर लागू भएको लकडाउनलाई पूर्ण पालना गराउनका निम्ति मेला लाग्न नदिइने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरागाइँले बताए ।
मेला नलाग्ने सन्दर्भमा स्थानीय तहहरुले सूचना जारी गर्ने र सुरक्षा निकायसँग समन्वय गरी सिमावर्ती बासिन्दाहरुलाई समेत जानकारी गराउने कामको थालनी गर्न निर्णय भएको उनले बताए ।
सिरहामा लाग्ने सलहेश फूलबारी मेलामा नेपाल तथा भारतका हजारौं दर्शनार्थीहरु आउने गर्छन् । यस दिन यो फूलबारीमा ‘अनौठो’ किसिमको फूल नयाँ वर्षको दिनमात्र फूल्ने स्थानीय बताउँछन् ।
प्रतिक्रिया 4