Comments Add Comment

वाणिज्य सचिव बने सरकारी ई-कमर्सको पहिलो ग्राहक

सिंहदरबारमै डेलिभरी !

२६ चैत, काठमाडौं । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्य वस्तु अनलाइन डेलिभरी गर्ने समाचार केही दिनदेखि सञ्चार माध्यममा बक्लै रुपमा आइरहेको थियो । नेपालको इतिहासमै सम्भवत पहिलोपटक सरकारी कम्पनीले खाद्य वस्तु उपभोक्ताको घरघरमा पुर्‍याउने समाचार आफैंमा उपभोक्ताका लागि चासोको विषय थियो, त्यो पनि अनलाइनमार्फत अर्डर लिएर ।

बजारमा डेलिभरी सुरु भइसकेको चर्चा चले पनि कम्पनी भने सेवा सुरुवात गर्न सिक्दै थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीहरु अनलाइन डेलिभरी गर्ने एप्सको सञ्चालनबारे तालिममा व्यस्त थिए ।

प्राविधिकहरुले ग्राहकको डेलिभरी लिने, त्यसलाई स्वीकृत गर्ने लगायतका विषयमा कर्मचारीलाई मंगलबारदेखि नै ओरेन्टेसन दिईरहेको कम्पनीका अञ्चल प्रबन्धक रणबहादुर बुढाथोकीले बताएका थिए ।

तर, बुधबार अचानक एप्समा दुई जना ग्राहकको अर्डर देखियो । ‘हामी त कसरी चलाउने भन्ने सिक्दै थियौँ, झ्याप्पै अर्डर आयो,’ प्रबन्धक बुढाथोकीले भने ।

उनकाअनुसार पहिलो अर्डरमा जापनिज चामल ३० किलो र तीन प्याकेट कर्णालीको सिमी थियो । जसको जम्मा मूल्य दुई हजार ६ सय १० रुपैयाँ पर्थ्यो । अर्डर गर्ने ग्राहक थिए वाणिज्य तथा आपूर्ति सचिव डा.बैकुण्ठ अर्याल । डेलिभरी लोकेसनः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार ।

दोस्रो अर्डर थियो अरुवा आटा चामल ३० किलो र एक प्याकेट कर्णालीको सिमी, डेलिभरी लोकेशन कोटेश्वर ।

काम कसरी गर्ने भनेर सिक्दा नसिक्दै डेलिभरी आएपछि कर्मचारीहरु अन्यौलमा परे । अञ्चल प्रबन्धक बुढाथोकी भन्छन्, ‘दोस्रो ग्राहकलाई त हामी सिक्दैछौँ भन्न पनि सकिन्थ्यो तर पहिलो ग्राहकलाई त्यसो भन्ने हैसियत हामीलाई भएन/थिएन, किनकी उहाँ हाम्रो काम जाँच्ने हाकिम हुनुहुन्थ्यो ।’

कम्पनीको अध्यक्षसमेत रहेका मन्त्रालयका सचिवको अर्डर आएपछि कर्मचारीहरु दबाबमा परे ।

‘काम ढिलो भयो भनेर हामीलाई छिटो काम सक्न सचिवले अर्डर गरेका हुन्,’ एक कर्मचारीले भने, ‘त्यसपछि संस्थानमा योजना बन्यो आएका अर्डरको डेलिभरी गर्ने र एप्स सञ्चालनको काम सिक्दै जाने ।’

दुवै अर्डरका ग्राहकलाई कम्पनीका अञ्चल प्रवन्धक  बुढाथोकीले  फोन गरे । कम्पनीको भ्यान तयार पारे र लोकेसनमा चामल र सिमी हालेर दुई जना सहकर्मीसहित उनी आफैं डेलिभरी पुर्‍याउन निस्किए ।

छोटो लोकेसनमा पहिले सेवा दिने नीति अन्तर्गत उनीहरु उद्योग मन्त्रालय पुगे । सचिव अर्याल मन्त्रालयको मूल ढोकामै सामान लिन बसेका थिए । बुढाथोकी र उनको टीमले सचिव अर्याललाई चामल  र दालसहित उक्त सामानको बिल थमाए ।

सचिवले खल्तीबाट पैसा झिकेर दिए बिल खल्तीमा हाले, चामल र दाल सहयोगीलाई गाडीमा राख्न लगाए ।

सचिवको डेलिभरी सकिएपछि टोली कोटेश्वरतर्फ लाग्यो । कोटेश्वरको एक घरमा उनीहरुले ३० किलोको चामल र कर्णालीको सिमी डेलिभरी गरे । ग्राहकसँग १८ सय ९० रुपैया चामल र २४० रुपैयाँ २ किलो सिमीको गरेर २१ सय ३० रुपैयाँ लिएर बुढाथोकीको टोली कार्यालय फर्कियो ।

लकडाउनले थला परेको आपूर्ति व्यवस्थामा सरकारी कम्पनीले बुधबार दुई वटा होम डेलिभरी सेवामार्फत ४ हजार ७ सय ४० रुपैयाँको व्यापार गर्‍यो । पहिलो डेलिभरी सेवासँगै सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापवार कम्पनीले ई-कमर्सको बाटोमा पाइला चालेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताए ।

पहिलो चरणमा काठमाडौं उपत्यकाको चक्रपथभित्र मात्रै यस्तो सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीले फापर, चामल, दाल र कर्णालीको सीमी उपभोक्ताको मागअनुसार बजारमा पुर्‍याउने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

कम्पनीले तयार पारेको नेपाल फुड डट जीओभी डट एनपी नामको वेबसाइटमा गएर उपभोक्ताले खाद्यान्न अर्डर गर्न सक्नेछन । घरसम्म खाद्यान्न अर्डर गर्नका लागि कम्तिमा दुई हजार रुपैयाँको खाद्य वस्तु अर्डर गर्नु पर्ने कम्पनीको सर्त छ । अनलाइन पेमेन्टमार्फत वा डेलिभरी गर्ने व्यक्तिलाई नगद दिन सकिने दुवै सर्तसहित कारोबार सुरु गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment