Comments Add Comment
दार्चुलापारिबाट नेपालीको दुःखेसो :

‘हामी शरणार्थी भयौँ ! भेडाबाख्रा जसरी राखिएको छ, उद्धार होस्’

सीडी‌ओ भन्छन् – समस्या छैन, सर्वोच्चको आदेश आइपुगेन

२६ चैत, कैलाली । दार्चुलाको सीमापारि भारतको धार्चुलामा अलपत्र परेका नेपालीले आफूहरुमाथि भारतीय पक्षबाट अभद्र व्यवहार भइरहेको गुनासो गरेका छन् ।

सरकारले सीमा बन्द गरेपछि त्यहीँ रोकिएका उनीहरुले भारतीयबाट तल्लो स्तरको व्यवहार सहन बाध्य भइरहेको अनलाइनखबरलाई बताए ।

सीमावर्ती क्षेत्रमा अलपत्र परेका नेपालीहरुका लागि भारत सरकारले खाना र बस्नको व्यवस्था गरेको छ । तर, नेपालीहरुले त्यो व्यवस्थापनमा सन्तुष्टि जनाएका छैनन् ।

क्वारेन्टाइन सेन्टरमा रहेका दार्चुला मार्मा गाउँपालिका लटिनाथका दिलेन्द्र महताले आफूहरुलाई गाली गर्ने र कुटपिट गर्ने गरेको सुनाए । उनले भने, ‘कहिलेकाँही लाठीचार्ज गर्छन्, नेपालीहरुलाई अश्लील गाली गर्छन् ।’

चार सयजनाका लागि दुईवटा शौचालय हुँदा निकै समस्या हुने गरेको उनको भनाइ छ । ‘दिसापिसाब भित्रै गर, अनि सफा गर । नत्र त्यहीँ खुवाउँछु भन्छ’ महताले अनलाइनखबरसँग भने, ‘नेपाल सरकारले नहेरेर हामीले तिमीलाई पालिरहेका छौँ भन्दै हामीलाई गाली गर्छन् ।’

एक सातादेखि काँचो र बासी भात खान बाध्य भएको महताले गुनासो गरे । ‘भात दुईपटक दिन्छ । त्यो पनि काँचो र बासी मिसिएको हुन्छ’ उनले भने, ‘अहिले त हामी शरणार्थी जस्ता भएका छौँ ।’

‘नेपाल सरकारले नहेरेको भन्दै हामीलाई हेप्छन्’ सेन्टरमै रहेका दार्चुला लटिनाथ गाउँपालिकाका करण महताले भने, ‘तेरो सरकारले हेर्दैन, हामीले हेर्नुपरेको छ भन्दै गाली गर्छन् ।’

समयमा खाना नदिने गरेको उनको गुनासो छ । ‘खाना समयमा पाइँदैन । नुहाउन पाइँदैन । नदीमा नुहाउन जान्छौँ भन्दा पिट्न आउँछन् ।’

दार्चुलाको नौगाड गाउँपालिकाका राम टमटा पनि आफूहरु समस्यामा रहेको बताउँछन् । उनले भने, ‘सात/आठ दिन भयो, बासी खाना खाएका छौँ । नुहाउन पाएका छैनौँ ।’

‘एक कोठामा ३०/४० जना छौँ । एउटा स्कुलमा ५/६ सय राखेको छ ।’ टमटाले भने, ‘खोरमा भेडाबाख्रा जस्तो कोचेर राखेका छन् ।’

भारत सरकारले कायम गर्न भनेको सामाजिक दुरी नेपाली राखिएको सेल्टरमा कायम गरिएको छैन । ठाउँको अभाव भन्दै एउटा हलमा सयौँ नेपालीलाई सुताउने गरिएको उनले बताए ।

अहिले धार्चुलामा रहेको मिनी स्टेडियम, बालुवाकोट महाविद्यालय, जौलजिबी, निगलपानी र बरममा करिब एक हजारभन्दा बढी नेपाली छन् । उनीहरुले आफूहरुमाथि अपमानपूर्ण व्यवहार हुने गरेको अनलाइनखबरलाई ।

क्वारेन्टाइनमा रहेकाहरूलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वास्थ्य उपचार लगायतको व्यवस्था गर्नुपर्नेमा सामाजिक दुरीसम्म कायम भएको छैन ।

उद्धार गर्न सरकारसँग माग

त्यहाँ अलपत्र परेका नेपालीहरुले आफूहरुको उद्धार र व्यवस्थापन गर्न भन्दै सरोकारवाला निकायहरुलाई पनि आग्रह गरेका छन् ।

‘समस्या भएको भन्दै हामीलाई पनि गुनासो आएको छ’ अनौपचारिक सेवा केन्द्र इन्सेक दार्चुलाका प्रतिनिधि नरेन्द्र कार्कीले अनलाइनखबरसँग भने, ‘त्यहाँ रहेका नेपालीमाथि अमानवीय व्यवहार भइरहेको छ ।’

कष्टपूर्ण ढंगले बसिरहेका नेपालीमाथि कुटपिट पनि भइरहेको उनले बताए ।

केही दिन पहिले अलपत्र परेका नेपालीहरुले नेपाल आउन पाउनुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए ।

सीडीओ भन्छन् – समस्या छैन

सीमापारि रहेका नेपालीले आफूहरु समस्यामा रहेको गुनासो गरिरहेका बेला दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भने त्यस्तो समस्या नरहेको दाबी गरे ।
‘यहाँ रहेका नेपालीहरुलाई समस्या हुन नदिन मैले समन्वय गरिरहेको छु, त्यस्तो समस्या छैन’ उनले भने, ‘ठूलो संख्यामा नेपाली भएका कारण व्यवस्थापनमा केही समस्या आएको बुझिएको छ ।’

प्रमुख जिल्ला अधिकारी पौडेलले नेपालीलाई समस्या हुन नदिन भारतीय पक्षसँग समन्वय भइरहेको बताए ।

दार्चुला पुगेन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले विदेशमा समस्या झेलिरहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन सरकारका नाममा आदेश जारी गरेको छ । तर, दार्चुलापारि अलपत्र परेका हजार बढी नेपाली भने अझै केही दिन उतै बस्न बाध्य हुने भएका छन् ।

सर्वोच्चले दिएको आदेश गृह मन्त्रालय हुँदै जिल्लामा पुग्न समय लाग्ने भएकोले त्यसपछि मात्रै उनीहरुका विषयमा नयाँ व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

‘सर्वोच्चले हिजो मात्रै सरकारलाई आदेश दिएको सुनेको छु’ उनले भने, ‘सरकारले गृहमन्त्रालयलाई भनेपछि हामीलाई निर्देशन आउँछ, अनि त्यस विषयमा काम अघि बढ्छ ।’

सर्वोच्च अदालतले मंगलबार एक आदेश जारी गर्दै सीमापारि रहेका नेपालीहरुलाई स्वदेश फर्काएर क्वारेन्टाइनमा राख्न आदेश दिएको थियो । त्यस्तो प्रवन्ध गर्न तत्काल सम्भव नभएमा भारत सरकारसँग समन्वय गरी लकडाउन अवधिसम्मका लागि उनीहरुलाई खाने बस्ने तथा उपचारको उचित व्यवस्था मिलाउन पहल गर्नू भनेको छ ।
यो पनि पढ्नुहोस विपतमा परेका नेपालीलाई स्वदेश फर्काउनू : सर्वोच्च

के सोच्दैछ सरकार ?

नेपाल–भारत सीमानामा दुई हजार एक सय ४७ नागरिक अलपत्र रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो सम्बोधनमा उल्लेख गरेका थिए । तीमध्ये हजारभन्दा बढी नेपाली धार्चुलामै अलपत्र छन् ।

प्रधानमन्त्रीले सम्बोधनमा भनेका थिए, ‘नेपालमा लकडाउन सुरु भएपछि नेपाल-भारत सीमा नजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले भोग्नुपरेको अप्ठ्यारो र उहाँहरुको भावनालाई हामीले बुझेका छौँ ।’

तर, सीमापारि रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउन नसकिने प्रधानमन्त्रीले स्पष्ट पारेका छन् । प्रधानमन्त्रीको सम्बोधनमा भनिएको छ, ‘सङ्क्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवत-जावत बन्द गर्नैपर्ने बाध्यता छ ।

भारत सरकारसँग समन्वय गरी सीमाको पारिपट्टि रहनुभएका दुई हजार एक सय ४७ नेपालीहरुलाई उतै क्वारेण्टाइनमा राखिएको छ । सीमाको वारिपट्टि रहेका करिब सात सय भारतीय नागरिकहरुलाई हामीले क्वारेण्टाइनमा राखेका छौँ । लकडाउनलाई प्रभावकारी बनाउन र सम्भावित संक्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले यो उचित उपाय अपनाएको हो भन्ने सबै देशवासीले महसुस गर्नु नै भएको छ । निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरुलाई देशभित्र भित्र्याइनेछ ।’

सरकारले नेपालमा रहेका विदेशीहरुको हेरचाह गरिरहेकाले विदेशका सरकारहरुले पनि त्यस्तै व्यवहार गर्नुपर्ने प्रधानमन्त्री ओलीले भारतको नाम उल्लेख नगरिकन बताएका छन् ।

प्रधानमन्त्रीको सम्बोधनमा भनिएको छ, ‘विश्वव्यापी सङ्कटको घडीमा आफ्नो भू-भागभित्र रहेका स्वदेशी र विदेशी नागरिक सबैलाई सुरक्षा र संरक्षण गर्ने दायित्व सबै सरकारहरुको हो । नेपालले सीमित साधन स्रोतका बाबजुद नेपालमा रहेका विदेशी नागरिकहरुको सक्दो हेरचाह गरिरहेको छ । हाम्रो विश्वास छ– असहज घडीमा विदेशमा रहेका नेपाली समुदायले पनि सम्बन्धित सरकारहरुबाट माया र संरक्षण पाउने छन् ।’

यो पनि पढ्नुहोस विदेशमा रहेका ८० लाख नेपालीबारे सरकार के सोच्दैछ ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment