गत भदौ तेस्रो साता जेनजी विद्रोहपछिको अन्योलका बेला प्रथम राष्ट्रपति डा. रामवरण यादवले बहालवाला राष्ट्रपति रामचन्द्र पौडेललाई संविधानमै टेकेर निकास निकाल्न सल्लाह दिएका थिए । सरकारमा बस्नेहरूको कमजोरीले गर्दा भदौ २३ र २४ गते जनधनको ठूलो क्षति भएको उनको निष्कर्ष छ ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले नेतृत्व गरेको सरकारलाई पनि कसरी अगाडि बढ्न सकिन्छ भनेर उनले केही महत्वपूर्ण सुझाव दिइरहेका छन् । फागुन २१ गतेको निर्वाचनलाई अर्जुनदृष्टि बनाउनुपर्ने उनको निष्कर्ष छ । प्रस्तुत छ, पूर्वराष्ट्रपति यादवसँग अनलाइनखबरका बसन्त बस्नेत र सन्त गाहा मगरले गरेको अन्तर्वार्ता । यसको भिडियो अनलाइनखबरको युट्युब र फेसबुकमा हेर्न सकिन्छ ।
तपाइँले गणतन्त्रको प्रथम राष्ट्राध्यक्षका रूपमा जेनजी विद्रोहपछिको संकटलाई संवैधानिक व्यवस्थापन गर्न भूमिका खेल्नुभएको सुनेका थियौं । त्यतिबेला भएको के थियो, कसरी निकास खोजियो ?
भदौ २३ र २४ गते युवाहरूले आन्दोलन गरेका बेला देश बडो अस्तव्यस्त अवस्थामा थियो । भोट माग्ने बेलामा जे भनेका थिए त्यो कुरा व्यवस्थित नभएको कुरामा युवाहरू असन्तुष्ट थिए । युवाहरूको मृत्यु र राष्ट्रिय विध्वंसले गर्दा म पनि विचलित अवस्थामा थिएँ । त्यस्तो बेलामा औपचारिकमा जहाँ भन्नुपर्ने थियो त्यहीं भनें । मैले भन्ने भनेको बहालवाला राष्ट्राध्यक्ष (रामचन्द्र पौडेल)लाई नै हो, उहाँलाई सल्लाहहरू दिएँ ।
विभिन्न सल्लाह दिएँ । राष्ट्राध्यक्षले कसरी निकास दिनुभयो ? समाजको व्यवस्थापन र राज्यको उतारचढाव संसारमा जहाँ पनि हुन्छ । हाम्रो मुलुक त झन् दुई वटा विशाल मुलुकहरूको बीचमा छ । लोकतन्त्रको लडाइँ लडेको लगभग एक शताब्दी भयो । यो शताब्दीसम्म लडेर ल्याएको व्यवस्था हो । म जस्तो पुरानो पुस्ताका मानिसलाई यत्रो बलिदानीबाट प्राप्त उपलब्धि चुनाव हुँदै गर्छ र विस्तारै व्यवस्थापन हुँदै जान्छ भन्ने लागेको थियो ।
तर जेनजी पुस्ताले भ्रष्टाचार, बेथिति, बेरोजगारी र सुशासन नहुँदा जनतामा जुन निराशा थियो त्यसलाई छिटो सम्बोधन हुनुपर्छ भनेर आन्दोलन गरे ।
यी जेनजीहरू जन्मिंदा नै प्रविधि सँगसँगै थियो, होइन ?
हो, सँगसँगै थियो । एउटा उदाहरण दिन चाहन्छु । २०५६ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा म मन्त्री थिएँ । त्यतिबेला सबै मन्त्रीहरूलाई नोकियाको मोबाइल दिइएको थियो । मैले भन्न खोजेको, मेरो हातमा मोबाइल परेको २६–२७ वर्ष भयो । जेनजीहरू त नयाँ प्रविधि लिएरै जन्मिए ।
तपाइँ त अहिले पनि स्मार्ट फोन नचलाएर टुकटुके फोनै चलाउनुहुँदोरहेछ ?
ह्वाट्सएप चलाउनुपर्यो भने स्मार्ट फोन चलाउँछु । फोन गर्न र उठाउन भने नोकियाको यही फोनबाट सजिलो लाग्छ ।
त्यतिबेला राष्ट्रपति रामचन्द्र पौडेललाई टेलिफोन गर्नुभएको हो ?
गरेको थिएँ ।

उहाँको प्रतिक्रिया कस्तो थियो ? पहिला त उहाँको हालचालै बुझ्नुभयो होला । किनभने राष्ट्रपति कहाँ, कस्तो अवस्थामा हुनुहोला भन्ने बाहिर पूरै हल्ला चलिरहेको अवस्था थियो !
उहाँ कहाँ हुनुहुन्छ भन्ने अरू स्रोतबाट थाहा पाए पनि तपाइँ सुरक्षित हुनुहुन्छ ? कस्तो अवस्थामा हुनुहुन्छ भनेर सोधें । तपाइँ शीतलनिवासमा हुनुहुन्छ कि बाहिर हुनुहुन्छ भनेर चाहिं मैले सोधिनँ । किनभने उहाँ कहाँ हुनुहुन्थ्यो भन्ने मलाई थाहा थियो ।
उहाँ त्यो बेला महाराजगञ्जमै हुनुहुन्थ्यो ?
अहँ, शीतलनिवासबाट बाहिर हुनुहुन्थ्यो ।
राष्ट्रमा संकट आएको, केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेको अवस्थामा स्थिति ट्रयाकमा छ भनेर ढुक्क हुनुहुन्थ्यो या आश्वस्त हुन गाह्रो परिरहेको थियो ?
मलाई भदौ २३ गते बेलुका नै नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भन्ने लागेको थियो । र सत्ता साझेदार कांग्रेसले ओलीजीलाई तपाइँले राजीनामा दिनुस् र सर्वदलीय बैठक बोलाऊँ भन्ने सल्लाह दिनुपर्ने हो ।
यस्तो गरे हुने नि भनेर यहाँले नेताहरूलाई भन्नुभएको थियो ?
पार्टी राजनीतिमा हुँदाका सम्पर्कमा रहेका पुराना साथीहरूलाई मैले भनेको थिएँ ।
उहाँहरूले के भन्नुभयो ?
त्यसमा विस्तृतमा नजाऊँ । ओलीलाई त्यसो भन्न तयार छैनन् उनीहरू भन्ने जस्ता कुराहरू भए ।
कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि कुरा भएको थियो ?
उहाँसँग कुरा भएको थिएन ।
केपी ओलीलाई छोड्न दबाब दिनु पर्यो भन्ने खालका कुरा गर्नुभएन ?
छैन–छैन । उहाँहरू दुवै जनालाई केही भनेको थिएन ।
प्रथम राष्ट्रपतिको रूपमा मैले त्यस्तो कुरा भन्नुहुन्थ्यो कि हुँदैनथ्यो भनेर तपाइँलाई अहिले बोल्न धक लागेको त होइन नि !
मैले राष्ट्राध्यक्षलाई भनें । किनभने त्यो काम राष्ट्राध्यक्षको थियो । संकटमा त राष्ट्राध्यक्षले नै हेर्नुपर्ने कुरा हो । त्यस्तो बेलामा दल र नेताहरूसँग सल्लाह गर्नुपर्ने थियो ।
आन्दोलनपछिको अवस्था देखेर विचलित थिएँ भन्नुभयो । यहाँलाई कुन विन्दुबाट अब संविधान र अहिलेको पद्धति जोगियो भन्ने लाग्यो ? वा अहिलेसम्म लागेको छैन ?
भदौ २४ गते नै मैले राष्ट्राध्यक्षज्यूलाई यो संविधानलाई नै टेकेर अगाडि बढ्नुपर्छ, राष्ट्रलाई जोगाउनुपर्छ भनेको थिएँ । पछि संसद् विघटनका कुरा आए । त्यसमा मैले बढी भन्न सकिनँ । वकिलहरू मार्फत उहाँलाई संविधान बचाउनुस् है भनें । राष्ट्राध्यक्षले सेना र संविधानविद्हरूको सहयोगले संकटका बेला जुन निकास निकाल्नुभयो त्यसलाई म स्वीकार्छु । कम क्षति भए पनि संविधान ट्रयाकमा छ । यो राष्ट्रका लागि सुखको कुरा हो । अब संविधानमा भएको क्षति कसरी पूरा गर्ने भन्नेतर्फ सोच्नुपर्दछ ।
तपाइँसँग राष्ट्रपति पौडेलले गर्नुभएको कुरा सुनेर विद्रोहपछिको परिस्थिति सम्हाल्न सकिन्छ भन्नेमा यहाँ आश्वस्त हुनुहुन्थ्यो ?
२०१७ सालपछिका घटनाहरू हाम्रै सामुन्नेका हुन् । बीपी कोइरालासँग म कलकत्तादेखि नै नजिक थिएँ । गणेशमान सिंहसँग काम गर्न पाइनँ । कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालासँग काम गरें । मनमोहन अधिकारी लगायत नेताहरूसँग पनि काम गरें । संकटमा नहड्बडाउने कुरा मैले कृष्णप्रसाद र गिरिजाप्रसादबाट सिकेको थिएँ । रामचन्द्रजी लोकतन्त्रप्रति प्रतिबद्ध व्यक्ति हुनुहुन्छ भन्नेमा विमति थिएन । तर उहाँले कसरी निकास निकाल्नुहुन्छ भन्ने परेको थियो । मैले यही संविधानलाई टेकेर निकास दिनुहोस् भनेको थिएँ ।
संसद् विघटन नहोस् भन्नेमा मेरो जोड थियो । संसद् राखेरै जेनजीको माग र भावनालाई समेटेर निकास दिन सकिन्छ भन्ने मेरो चाहना थियो, जुन पूरा भएन । संसद् विघटन भयो । न्यूनतम क्षतिमा संविधान बाँच्यो । निर्धारित मितिमा निर्वाचन भयो भने त्यो क्षति पनि पूरा हुन्छ । यो संविधान २००७ सालदेखिको क्रान्ति, बलिदानी र दुई–दुई वटा संविधानसभापछि बनेको हो भन्ने बिर्सनुहुँदैन । यो गणतान्त्रिक–लोकतान्त्रिक संविधान बचाएरै जानुपर्दछ ।
तर संसद् त बचेन नि ?
त्यो दु:खद् कुरा हो ।
संसद् बचेको भए अहिलेका समस्या कम हुन्थे ?
भदौ २४ गतेको घटना नेताहरूको कमजोरीले गर्दा भएको हो । २३ गते १९ जना युवाको ज्यान गयो । त्यो दिन घुसपैठ भयो भनिरहेका छन् । राज्य चलाउनेहरूलाई घुसपैठ भएको थाहा हुनुपर्थ्यो । सूचना राखेको देखिएन । जेनजीको आन्दोलनलाई हल्का ढंगले लिएको देखियो । यो त्यतिबेला सरकारमा बसेका एमाले र कांग्रेसका नेताहरूको कमजोरी हो । ड्राइभिङ सिटमा बसेर घुसपैठ हुन्छ भन्ने नबुझ्नु त भएन । दोस्रो दिनको विध्वंसमा आफ्नै सम्पत्ति, राष्ट्रिय धरोहरलाई जसरी आक्रमण भयो, त्यो प्रतिगामी डिजाइन थियो । नेपालीले नै गरे पनि त्यो प्रतिगामी काम नै हो । सुशासन, रोजगारी, बेथितिको अन्त्य, सामाजिक सञ्जाल खुलाउने जस्ता युवाहरूको माग जायज हो । जेनजीले अहिले पनि यो संविधान मार्फतै निकास निकाल्नुपर्छ भनिरहेका छन्, त्यो पनि एकदम सही हो ।
भदौ २४ गतेको घटना सुनियोजित जस्तो देखियो । त्यसप्रति राज्य बेखबर भयो । त्यसमा राज्य चलाउनेको पूरापूर दोष छ ।
यहाँले बेखबर भएर बस्नुहुँदैनथ्यो भन्नुभयो । तत्कालीन प्रधानमन्त्री ओली दिनहुँजसो बोलिरहनुभएको छ । कांग्रेसका सभापति बोल्नुभएको छैन । अहिलेसम्म आइपुग्दा दुई शीर्ष नेताहरू जिम्मेवार देख्नुभयो त ?
यहाँले एक जना नेता बोल्नुभएको छैन भन्नुभयो । त्यो पार्टीका नेताहरूलाई जिम्मेवारी बोध छ जस्तो लाग्छ । अर्का नेताले एउटा अन्तर्वार्तामा केही स्वीकार्नुभएको हेरेको थिएँ । उहाँले जुन प्रकारले स्वीकार्नुपर्ने हो त्यसरी स्वीकार्नुभएको छैन ।
त्यो जिम्मेवारीबोध नेतृत्वमा देखिएको छैन ?
छैन ।

नेतृत्व भनेको जिम्मेवारी नै हो । माला लगाएर मात्र पुग्दैन, सबैखाले प्रश्नको जवाफ दिनुपर्छ । तपाइँलाई कस्तो लाग्छ ?
लोकतन्त्रमा गल्ती भयो भने स्वीकार गर्ने हो । जनतासँग माफी माग्ने, भएको यस्तो हो भनेर बुझाउने हो । म प्रधानमन्त्रीको ठाउँमा भएको भए जनतासँग माफी माग्थें । भदौ २३ गते उच्चस्तरीय समिति बनाएर, राजीनामा दिन्थें, जनतासँग माफी माग्थें । सर्वदलीय सरकारको आह्वान गरेर पद हस्तान्तरण गर्थें । गल्ती हुन्छ तर बेखबर भएर बस्नुहुँदैनथ्यो । एउटा पार्टीको प्रधानमन्त्री र अर्को पार्टीको गृहमन्त्री थियो । सारा सुरक्षा सञ्जाल आफ्नो हातमा छ । देशभरि कार्यकर्ता छन् ।
डाक्टरले नाडी छामेरै रोग पत्ता लगाउँछ । देशमा के भइरहेको छ भन्ने थाहै नपाएर शासन गर्ने अधिकार लोकतन्त्रमा हुँदैन । सबै खबर राख्दाराख्दै पनि दुर्घटना भयो भने जनतासँग माफी माग्ने हो ।
तपाइँ माफी माग्ने कुरा गरिरहनुभएको छ । तत्कालीन प्रधानमन्त्रीले यो सरकार कसले बनाएको हो ? कसको सरकार हो भनेर सोधिरहनुभएको छ ! यो माफी भन्दा धेरै परको कुरा होइन र ?
म जनताको आशीर्वादले एउटा ठाउँमा पुग्न पाएँ । यो संविधान त्यसै बनेको होइन । कांग्रेस, एमाले र माओवादीको बढी मिहिनेत परेको छ । शुरुमा संविधानसभा छोडेर गएका मधेशका दलहरूलाई पनि पछि समेट्यौं । संविधान अनुसार बनेका संरचनामा उहाँहरू पनि आउनुभयो । सबै पक्षले स्वीकारेको हुनाले देश राम्रो ढंगले अगाडि बढिरहेको छ भनेर मलाई खुशी पनि लागेको थियो ।
उहाँले स्वीकार गर्नुहुन्न भने त्यो ऐतिहासिक भूल हुनेछ । उहाँ आफैं सुरक्षा घेरामा बसिरहनुभएको थियो । राष्ट्रपतिले बडो युक्तिले निकास निकालेको उल्लेख गर्नुभएको थियो । त्यसले पनि त्यतिबेलाको अवस्था कस्तो थियो भन्ने देखाउँछ । ६ महिनामध्ये हामीसँग चार महिना भन्दा पनि कम समय बाँकी छ । यस्तो बेलामा कांग्रेस, एमाले, भर्खरै बनेको नेपाली कम्युनिस्ट पार्टी, जेनजी, मधेशका पार्टीहरूको एकस्वर हुनुपर्दछ ।
जेनजीहरूले यही संविधानलाई मानेका छन् । संविधान बचाएकोमा जेनजीलाई धन्यवाद दिन चाहन्छु ।
कतिपय युवामा कांग्रेस–एमाले जस्ता दलहरूको समर्थक हुनु नै अपराध हो भन्ने जस्तो धारणा पाइन्छ । बहुदलीय व्यवस्थामा यसलाई कसरी बुझ्ने ?
बहुसंख्यक जेनजीहरूको यस्तो बुझाइ छ जस्तो मलाई लाग्दैन । उनीहरूले भर्खरै तयार पारेका मागपत्रका ९० प्रतिशत भन्दा धेरै माग जायज छन् । नबुझ्ने केही त जहाँ पनि हुन्छन् । कसैले गलत बुझाइरहेको पनि हुन सक्छ । तर बहुसंख्यकले चाहिं बुझ्दा रहेछन् ।
खासगरी त्यो संकटका बेला खेल्नुभएको भूमिकालाई लिएर बहालवाला राष्ट्रपतिज्यूसँग सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट छु ।
राष्ट्रपतिको समग्र कामप्रति चित्त बुझेको छ ?
हेर्नुस्, उहाँको लामो समयदेखि लोकतान्त्रिक भूमिका छ । अत्यन्त असहज, विषम, भयपूर्ण परिस्थितिमा बडो जुक्तिले निकास निकालेको भन्नुभएको छ । मेरो चाहना प्रतिनिधिसभा भंग नहोस् भन्ने थियो । त्यसलाई जनताले स्वीकारेर तेस्रो दिनदेखि शान्ति छायो । अबको निकास भनेको निर्वाचनै हो । मलाई लाग्छ जनता पनि नयाँ चुनाव नै चाहन्छन् । नयाँ जनादेशमा जानै पर्छ । चुनावबाटै समस्याहरूको व्यवस्थापन गरेर लोकतन्त्रलाई बचाउने हो । लोकतान्त्रिक गणतन्त्र र संघीयता सहितको संविधान त्यसै आएको होइन । अघि पनि भनें, शताब्दीदेखिको बलिदानी संघर्षबाट आएको हो ।
तपाईले राष्ट्रपति, तत्कालीन प्रधानमन्त्री, शेरबहादुर देउवा र जेनजीको पनि कुरा गर्नुभयो । राष्ट्रपति हुँदा यहाँ नेपाली सेनाको परमाधिपति हुनुहुन्थ्यो । जेनजी आन्दोलनका क्रममा सेनाले खेलेको भूमिकालाई कसरी हेर्नुभएको छ ?
राष्ट्रपतिजी र सेना एकठाउँमा थिए । राष्ट्रपतिजीको राष्ट्रलाई व्यवस्थापन गर्ने सहयात्री सेना नै थियो । सेनाले उहाँलाई साथ दिएकै हो । र यो बाटोमा गएको हो ।
तर जंगीअड्डाको भूमिकालाई लिएर शुरुमा विभिन्न प्रश्न उठे । सैन्य ‘कु’ पो हुने हो कि, लोकतन्त्रै नरहने हो कि, शासन नागरिकको हातबाट अन्यत्रै जाने पो हो कि भन्ने प्रश्न पनि उठे । त्यस्ता आशंकामा बल पुग्ने गरिका भूमिका पनि जंगीअड्डाको देखियो !
जंगीअड्डाले ‘हामी योभन्दा बाहिर गएको भए जनधनको बढी क्षति हुने’ भएकाले यसरी व्यवस्थापन गर्यौं भनेको छ । त्यसैलाई विश्वास गर्नु शिवाय अर्को बाटो छैन ।
यहाँले अघि माफी माग्नुपर्थ्यो भन्नुभयो । त्यो माफी २३ र २४ गतेको घटनाका लागि मात्र मागेर पुग्थ्यो कि लामो समयदेखि शासकहरूका कारणले जनताले खेपिरहेको सास्तीका लागि पनि माग्नुपर्छ ?
जेनजी आन्दोलन भन्दा पहिला पनि भ्रष्टाचार बढी भयो भन्ने कुरा नआएको होइन । सञ्चारमाध्यम, नागरिकहरूले यो कुरा भनिरहेकै थिए । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरू धेरै महँगो भयो । विद्यार्थीहरू पढ्न बाहिर गइरहेका छन् भन्ने कुरा आइरहेकै थिए । तर नेताहरूले त्यसलाई वास्ता गरेका थिएनन्, यसलाई गम्भीर रूपमा लिइरहेकै थिएन । राष्ट्राध्यक्षको रूपमा मैले मकहाँ ‘ब्रिफिङ’ गर्न आउने सबै अर्थमन्त्रीलाई भन्ने गरेको थिएँ– दैनिक १५ सय युवा विदेशिएका छन् । अब कमसेकम ५ सयमा झार्ने गरी योजना बनाउनुस् । तर कुनै पनि अर्थमन्त्रीले त्यस्तो योजना बनाएर ल्याएनन् । अर्थतन्त्र उकासिन सकेन भने द्वन्द्व व्यवस्थापन गर्न गाह्रो हुन्छ भन्ने विभिन्न देशका उदाहरण छन् ।
१५ वर्षदेखि मैले चुरे संरक्षणमा जोड दिइरहेको छु । त्यसलाई कसैले गम्भीर रूपमा लिएको देख्नुभएको छ ? संसद्मा हप्तौं दिन यो विषयमा छलफल भएको सुन्नुभएको छ ? पूर्वी तराईमा सुक्खा लागेर चापाकलबाट पानी नआउने भएको थियो । प्रधानमन्त्रीले हेलिकोप्टरमा गएर ५०० वटा ‘डीपबोरिङ’ दिन्छु भन्नुभयो । स्रोत नै नभएपछि पानी आउँदैन भन्ने विचारै गर्नुभएन । किसान परिवारमा जन्मिएर, हिमाल, पहाड, तराई घुमेको अनुभव र वातावरणविद्हरूसँगको छलफलपछि बोलेको कुरालाई पनि गम्भीर रूपमा लिइएन । कृष्णप्रसाद र गिरिजाप्रसादले भए पक्कै विद्वान्हरूलाई छलफल गर्नुस् न भन्नुहुन्थ्यो ।
यो त गिरिजाप्रसाद र कृष्णप्रसादहरू भन्दा ‘एडभान्स्ड’ नेताहरू भएको बेला होइन र ? सुन्ने संस्कार किन हरायो ?
मै जान्ने, मै सुन्ने भन्ने अहंले गर्दा यस्तो हुन्छ । हाम्रा नेताहरूमा सिंहावलोकन गर्ने बानीको अभाव छ । इतिहासले हामीलाई बारम्बार सिकाइरहेको छ । भविष्यका लागि मार्गनिर्देश त गरिरहेको हुन्छ नि !
यहाँले बीपी कोइरालासँग संगत गर्नुभयो । त्यतिबेलादेखि अहिलेका जेनजीहरूलाई पनि देखिरहनुभएको छ । विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो । जतिमाथि गयो उति कान सुन्ने क्षमता कम हुने हो ? अन्यत्र पनि यस्तै हुन्छ कि नेपालको विशिष्ट विशेषता हो ?
अन्यत्र पनि यस्तै हुन्छ । गान्धीजीको भारत छोडो आन्दोलनका बेला मेरो जन्म भयो । म ८३ वर्षको भएँ । मैले होस सम्हाल्ने बेलासम्म दोस्रो विश्वयुद्ध भइसकेको थियो । एशिया, अफ्रिका, ल्याटिन अमेरिका जस्ता देशहरू उपनिवेशबाट स्वतन्त्र भइरहेका थिए । त्यसपछि जति देशमा लोकतन्त्र आए त्यसमध्ये ६०–७० प्रतिशत देश नेतृत्वकै कारणले पछाडि फर्कनुपर्यो । कहीं सैन्य शासन भयो, कहीं के भयो । म देशको सेवक हुँ भनेर बुझ्नुपर्नेमा म शासक हुँ भनेर बुझ्दा यस्तो समस्या हुन गएको हो ।
यहाँले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्नुभयो । उहाँहरूमा चाहिं सिंहावलोकन गर्ने लक्षण पाउनुभयो ?
यो सरकारको विषयमा टिप्पणी गर्ने बेला भएको छैन । उहाँहरू निर्वाचन केन्द्रित हुनुहुन्छ । चुनाव गराउने जुन प्रतिबद्धता छ त्यसमा हामीले सहयोग गर्ने हो । म त भन्छु सञ्चारमाध्यमले पनि सहयोग गर्नुपर्छ । खासगरी राजनीतिक पार्टीले सहयोग गर्नै पर्छ । कांग्रेस, एमाले, अहिले बनेको नेपाली कम्युनिस्ट पार्टी जस्ता दल र जेनजीको मुख्य जिम्मेवारी छ । यत्रो संघर्ष गरेर संविधान बनाएका दलहरू नै निर्वाचनबाट भागे भने त्यो आफ्नो कर्तव्यबाट अलग भएको हुन्छ ।
कतिपय मन्त्रीको सरकारमा पनि बस्ने चुनाव लड्न दल पनि खोल्ने भनेर आलोचना भएको सुनिन्छ । यो कत्तिको जायज हो ?
निर्वाचन गराउनकै लागि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा तटस्थ सरकार बनेको हो । यो सरकारमा बसेर चुनाव लड्न पार्टी खोल्ने कुरा राम्रो होइन । यसलाई चुनावी सरकारका मन्त्रीहरूको व्यवहार चुनावी सरकारकै जस्तो हुनुपर्छ ।
निर्वाचन गराउने तत्परता मन्त्रीहरूमा देख्नुभयो ?
मैले प्रधानमन्त्रीलाई बालुवाटारमै गएर सल्लाह दिएँ । प्रधानमन्त्रीज्यूले सबै पार्टीलाई लिएर जान खोज्नुभएको पाएँ । शीर्षस्थ सबै नेताहरूलाई विना भेदभाव भेट्न खोजिरहनुभएको छ ।
प्रधानमन्त्रीज्यूले सम्पादकहरूसँगको भेटमा त प्रमुख दलका शीर्ष नेताहरूको मुख हेर्न धेरै मन छैन भन्ने सन्देश दिन खोज्नुभयो नि ?
मैले त्यस्तो पढेको छैन । तपाइँहरू जस्तो प्रतिष्ठित पत्रकारले नै भनिरहनुभएको छ भने होला पनि । तर उहाँले त्यस्तो गर्नुहुँदैन । उहाँको सफलता त राष्ट्रलाई कसरी निकास दिन सकिन्छ भन्नेलाई अर्जुनदृष्टि बनाउनुमा निर्भर छ । त्यसका लागि सबै पार्टी, नागरिक समाज, बुद्धिजीवी, सुरक्षा निकाय, निर्वाचन आयोग सबैलाई साथ लिएर जानुपर्दछ । यहाँले भन्नुभए जस्तो गर्न (नेतालाई भेट्दिनँ) मिल्दैन, राम्रो देखिंदैन । प्रमुख पार्टीका नेताहरूलाई भेटेर हात जोडेर, तपाइँहरूको दलगत मात्रै होइन व्यक्तिगत समेत योगदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि हामी सबैले हातेमालो गरौं भन्नुपर्दछ ।
तपाइँ बहालवाला राष्ट्रपति हुँदा यस्तै अन्योलका बेलामा चुनाव गराएको अनुभव छ । बाबुराम भट्टराईको नेतृत्वमा सरकार भएका बेलामा पहिलो संविधानसभा विघटन भयो । र, अर्को संविधानसभाको चुनाव गराउनुपर्ने भयो । यहाँले त्यतिबेलाका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष नियुक्त गर्नुभयो । त्यो ठीक थियो थिएन भन्ने बहस भइनै रहन्छ । मुलुकले निकास पाएको पक्का हो । चुनावपछि बनेको संविधानसभा र सरकारले संविधान दिएको यथार्थ हो ।
यहाँलाई म एउटा कुरा स्मरण गराउन चाहन्छु । त्यतिबेला खिलराज रेग्मीजीकै बेन्चले अघिल्लो संविधानसभाको समयावधि तोकेको थियो । सर्वोच्च अदालतले यो समयभित्र संविधान दिइसक्नु भनिसकेपछि राजनीतिक दल र सरकार चनाखो हुनुपर्ने थियो तर हुन सकेन । र, संविधानसभा भंग भयो ।
त्यतिबेला मैले सरकार गठनमा सहमति जुटाउन कांग्रेस, एमाले, माओवादी र मधेशका दलसँग चालीस वटा बैठक गरेको थिएँ । उहाँहरूले प्रधानमन्त्रीको नाम दिन सक्नुभएन । मेरो चाहना दलहरूले प्रधानमन्त्री दिन नसक्ने हो भने अवकाश पाएका न्यायाधीश वा नागरिक समाजबाट बनाउने भन्ने थियो ।
पछि बहालवाला प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व गर्न दिने प्रस्ताव पनि दलहरूबाटै आयो । माओवादीले आफ्नो महाधिवेशनबाट प्रधानन्यायाधीशको नाम प्रस्ताव गर्यो । अरू पार्टीहरू पनि विस्तारै त्यसमा आए । त्यसै अनुसार अध्यादेशबाट संविधान संशोधन गरेर खिलराज रेग्मीलाई शपथ गराइयो । त्यतिबेला सबै राजनीतिक दलहरू निर्वाचनको पक्षमा थिए ।
अहिले संशय देखियो ?
अरू पार्टी त चुनावकै पक्षमा देखिन्छ । एउटा प्रमुख पार्टी अलमलमा छ ।
तपाइँले एमालेलाई भन्न खोज्नुभएको हो ?
एमालेलाई मेरो सल्लाह छ अब अलमल गर्नुभएन । लोकतन्त्रमा एमाले पार्टी र नेताहरूको व्यक्तिगत योगदान पनि ठूलो छ । कांग्रेसले पनि घर व्यवस्थापन गर्न सकिरहेको छैन । कांग्रेस जस्तो नेतृत्वदायी अनुभव भएको पार्टीले त झनै अलमल गर्नुभएन ।
एमाले नेताहरूले टीका लगाएर बनेको सरकारले गराएको निर्वाचनमा किन जाने भनिरहेका छन् नि ?
यो सरकार आन्दोलनको उपज हो । राष्ट्रपतिले सेनाको साथ लिएर जे निकासको प्रयास गर्नुभयो त्यसलाई नजरअन्दाज गर्यौं भने हामीले धोका खान्छौं । जनता ताजा जनादेशको पक्षमा छ । कसले हार्छ, कसले जित्छ त्यसको अर्थ छैन, राष्ट्रले जित्छ, संविधानले जित्छ, राष्ट्र ट्रयाकमा आउँछ ।
भ्रष्टाचार, बेरोजगारी, अनियमितता जस्ता कुरामा आत्मसमीक्षाको खाँचो छ । त्यसो नगर्ने दलहरू इतिहासमा सीमित हुन्छन् ।
यहाँले सदन जोगाउने पक्षमा थिएँ भन्नुभयो । एमालेले अहिले पुनर्स्थापनाको माग राखेको छ । यसलाई कसरी हेर्नुभएको छ ?
नागरिक, वकिल यो माग लिएर अदालत गएका छन् । फैसला कस्तो आउँछ त्यो अदालतको अधिकार हो । शक्तिपृथकीकरणको सिद्धान्तले अदालतलाई अधिकार दिएको छ । तर राजनीति चाहिं जनादेशले जे भन्छ त्यतै जानुपर्दछ ।
तपाईको हातबाट जारी जारी संविधान यति बेला संशोधन गर्नुपर्छ भन्ने मागहरू आएका छन् । यसलाई कसरी हेर्नुभएको छ ?
मैले पार्टीको महामन्त्री हुँदा नै हिमाल, पहाड तराईलाई जोड्नुपर्छ, राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ र विविधतालाई पनि समेट्नुपर्छ भनेको थिएँ । एकाध महिना लागे पनि संविधानसभा छोडेर गएका मधेशका पार्टीहरूलाई पनि समेटेर जाऊँ, संविधान भनेको सदियौंका लागि हो भनेको थिएँ । हिमाल, पहाड र तराईका प्रतिनिधिहरू मिलेर गए भने देशमा उज्ज्यालो छाउँछ, सबैतिर दिपावली हुन्छ । देश सफल हुन्छ, देश सफल भएपछि म पनि सफल हुन्छु भन्ने थियो ।
मधेशका दलले भाग नलिए पनि दुईतिहाइले संविधान बनिसकेको थियो । यो जनताका छोराछोरी आफैंले लेखेको संविधान थियो । सार्वभौम सत्ता, शासकीय, राजकीय सत्ता जनतामा भएको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान आएको थियो । त्यति मात्र होइन न भूतो न भविष्यति जस्तो समावेशितालाई पनि यो संविधानले आत्मसात् गरेको छ ।
संविधान आएपछि २५ हजारभन्दा बढी मधेशी, महिला, दलित, जनजातिले लोकसेवा उत्तीर्ण गरे । यो सानो उपलब्धि होइन । यो त एक शताब्दीको संघर्षपछि प्राप्त संविधानले दिएको कुरा हो भन्ने बिर्सनुभएन । म आफैं लोकतन्त्रका लागि विद्यार्थीकालदेखि लागेको र धेरै राजनीतिक उतारचढाव देखिसकेको छु । यी सबै कुरा बुझेर लोकतन्त्रको मन्दिरमा संविधानलाई ढोगेर नेपाली जनताको नासो जनतालाई दिएको हुँ ।
संविधानमा लेखिएका कुरालाई पनि ढुंगाका अक्षर होइन भनिन्छ । जस्तो भारतकै संविधान ७५/७६ वर्षमा सवा सय पटक संशोधन भइसकेको छ । अमेरिकाको संविधान पनि तीसौं चोटि संशोधन भइसकेको छ ।
संविधानमा समयसापेक्ष संशोधन गर्दै जान सकिन्छ । जनताको भावना र नेताहरूको क्षमतामा भर पर्छ ।
संविधान गतिशील हुन्छ, त्यसलाई समयसापेक्ष संशोधन गर्दै जानुपर्छ । जेनजीको शान्तिपूर्ण आन्दोलन महिनौं दिन चलेर जनता सडकमा आएर घुँडा टेकाएर संशोधन भएर जानुपर्ने थियो । त्यसो भएको भए म खुशी हुनेथिएँ । सबै कुरा तपाइँ हामीले भने जस्तो हुँदैन । हामीलाई कस्तो भूराजनीतिक अवस्थामा छौं भन्ने थाहा छ । जिम्मेवार राजनीतिक पार्टीहरूले हारजित नसोची एकठाउँमा आएर संविधान बचाउन चुनावमा जानुपर्दछ । लोकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि चुनाव भन्दा अर्को बाटो छैन ।
मुलुकको अहिलेको अवस्था आउनुमा यति जोड दिएर जोगाउनुपर्छ भनिरहेको संविधान पनि जिम्मेवार छैन र ?
समयसापेक्ष संशोधन गर्दै जानुपर्छ भनेर त मैले भनिसकें । भीमराव अम्बेडकरले संविधान घोषणा गर्ने बेलामा ‘यो लोकतान्त्रिक संविधान हो तर यसको कार्यान्वयन पक्ष राजनेताहरूले व्यवहारमा भरपर्छ’ भनेका थिए । हुन पनि जवाहरलाल नेहरू जस्ता नेता थिए, जसले १७ वर्षसम्म संविधानलाई ट्रयाकमा चलाइदिए । संविधान अगाडि बढ्यो, हामीकहाँ त्यस प्रकारको नेतृत्व भएन ।
जेनजी आन्दोलनपछि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको बहस तातेको छ । यसप्रति यहाँको धारणा के हो ?
छलफल हुनु राम्रो हो । आ–आफ्नो एजेण्डा लिएर चुनावमा जाओस् । निर्वाचन जितेर आएर सदनबाटै निर्णय गरोस् कस्तो शासकीय स्वरुप अपाउने भनेर । मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने हाम्रो जस्तो विविधतायुक्त देशमा संसदीय प्रणालीलाई नै सुधार गरेर जानुपर्दछ ।
भारतकै उदाहरण हेरौं, त्यहाँ कहिले दलित, कहिले मुस्लिम, कहिले जनजाति, कहिले दक्षिणबाट कहिले पूर्वबाट राष्ट्रपति बनिरहेका छन् । विविधतामा एकताका लागि यस्तो कुराले अर्थ राख्छ । जस्तो म मधेशमा जन्मिएको मान्छे राष्ट्राध्यक्ष बनें । कहिले दलित, कहिले थारू, कहिले जनजाति, कहिले पूर्व, कहिले पश्चिमबाट राष्ट्रपति बनाउँदा राम्रो सन्देश जान्छ । यसका लागि संसदीय प्रणाली अनुसार नै चुनाव हुनुपर्दछ ।
पूर्व राष्ट्रपतिको हैसियतमा भन्नु पर्दा यहाँले जेनजी विद्रोहलाई कसरी हेर्नुभएको छ ? यसले महत्वपूर्ण परिवर्तन ल्यायो वा क्षति मात्र गर्यो ?
जेनजीले एउटा जर्क (धक्का) दिएको छ । सुधार गरेर जानुपर्छ भन्ने सन्देश दिएको छ । यो राम्रो हो । भदौ २३ मा जे भयो त्यो सरकारको कमजोरी हो । भदौ २४ गते घुसपैठ भएको कुरा आयो । त्यसमा पनि सरकारको कमजोरी देखियो । आयोगले राम्रोसँग छानबिन गरेर दोषीलाई दण्डित गरोस् ।
संविधान र लोकतन्त्रको स्थायित्वमा विश्वस्त हुनुहुन्छ ?
त्यतिबेला जेनजीहरूले कसलाई ल्याउन खोज्नुभएको भनेर सेनालाई प्रश्न गरे कि गरेनन् । उनीहरू यही संविधान मार्फत जान्छौं, लोकतन्त्र–गणतन्त्रको पक्षमा छौं भनिरहेका छन् कि छैनन् ? लोकतान्त्रिक गणतन्त्र बाहेक यो देशमा अर्को कुनै बाटो छैन ।

यो संविधानको आधारभूत स्तम्भ गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशी समानुपातिकता हल्लिन्छ भन्ने तपाइँलाई शंका त लाग्दैन ?
अहिलेका लागि यो संविधानलाई दायाँ–बायाँ गर्यौं भने लोकतन्त्र बचाउन सकिंदैन । संसारमा जहाँ–जहाँ लोकतन्त्र सकिएका छन् त्यहाँ शासकको कमजोरीबाटै गएका छन् । त्यसलाई सुधारेर जान जेनजीले जुन धक्का दिएका छन् त्यो एकदमै स्वागतयोग्य छ ।
त्यसो भए विकल्प चुनाव नै हो ?
चुनाव । चुनाव । चुनाव । अब चुनाव नै हो विकल्प ।
आउने दिनहरू कस्तो देख्नुहुन्छ ? शान्तितर्फ जाने देख्नुहुन्छ कि उथलपुथल हुने देख्नुहुन्छ ?
शान्तिपूर्ण ढंगले जान्छ । राष्ट्रले योभन्दा बढी क्षति बेहोर्न सक्दैन । मैले प्रधानमन्त्रीलाई पनि भनेको छु, वितण्डा मच्चाउन नपाओस् भनेर तीन–तीन पटक सोच्नुहोस् ।
हामी आजको संवादको अन्त्यतिर आएका छौं । तपाइँपछि राष्ट्रपति बन्नुभएकी विद्या भण्डारीले दुई वटा कार्यकाल सकिएपछि पार्टी राजनीतिमा आउने विचारले सदस्यता नवीकरण गराउनुभयो । राष्ट्राध्यक्ष बनिसकेको व्यक्ति राजनीतिमा आउनुहुन्छ कि हुँदैन भन्ने बहस चल्दा–चल्दै केपी शर्मा ओलीले उहाँको पार्टी सदस्यता नवीकरण खारेजीको अवस्थामा राख्नुभयो । यो समग्र परिदृश्यलाई कसरी हेर्नुभएको छ ?
तपाइँलाई मेरो प्रतिप्रश्न छ, यो विषयमा मैले टिप्पणी गर्नुपर्छ र ?
यहाँको प्रश्नमै जवाफ लुकेको छ । अमेरिकामा राष्ट्रपति भइसकेका डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको सदस्य बनेर चुनाव लडेर फेरि राष्ट्रपति बन्न मिल्ने नेपालमा किन नमिल्ने भन्ने पनि छ नि ?
अमेरिका र हाम्रो प्रणाली नै फरक छ । हामी संसदीय प्रणालीमा छौं । यो प्रणालीका लिखित र अलिखित कुराहरू पनि हुन्छन् । अलिखित कुरा भए पनि परम्परा अनुसार चल्छ । संसदीय प्रणालीको जननी मानिने बेलायतमा लिखित संविधान छैन । भारत लगायतका देशहरूले हाम्रो जस्तै प्रणाली अपनाएका छन् । अलिखित भए पनि परम्परा अनुसार लोकतन्त्र चल्छ ।
यहाँले सोधिहाल्नु भयो, उहाँ जानुहुँदैनथ्यो, गइसकेपछि रोक्नुको औचित्य थिएन । हाम्रा दलहरू कस्ता छन् भन्ने त देखिरहेकै छौं । एमालेमा दुई महिनादेखि जुन अलमल देखिएको छ त्यसले पार्टीको हित गर्दैन । नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी त एमाले नै हो । कांग्रेस र एमाले दुवैले यस्तो धृष्टता गर्नुहुँदैन ।
तपाइँ आफैं राजनीति गरेर आउनुभएको । अहिले पनि भित्तामा बीपी कोइरालासँगको तस्बिर राख्नुभएको छ । कांग्रेसको महामन्त्री पनि बन्नुभयो । पार्टी सदस्यता नवीकरण गरौं–गरौं लाग्दैन ?
म गणतन्त्रको पहिलो राष्ट्राध्यक्ष, गणतन्त्रपछिको पहिलो पूर्व राष्ट्राध्यक्ष । म एउटा नागरिक जसको कर्तव्य लोकतान्त्रिक परम्परा निर्वाह गर्ने पनि हो ।
दोस्रो, मेरो स्वास्थ्यले पनि साथ दिंदैन ।
तेस्रो, मलाई जुन प्रणालीले यहाँसम्म पुर्यायो त्यही प्रणालीको परम्परा धान्ने कर्तव्य पनि मेरो हो ।
तस्बिर र भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4