
२६ चैत, काठमाडौं । बजारमा गुणस्तरहीन स्यानिटाइजर प्रयोग भएको पाएपछि औषधि व्यवस्था विभागले त्यसमा चासो व्यक्त गरेको छ । कोरोना भाइरसको महामारी चलिरहेको बेलामा बजारमा गुणस्तरहीन स्यानिटाइजरको प्रयोग बढेको भन्दै बुधबार सूचना जारी गर्दै विभागले चासो व्यक्त गरेको हो ।
बजारमा बिक्री भइरहेको ह्याण्ड स्यानिटाइजरमा विभागले तोकेको मापदण्ड पूरा नगरेको पाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ । स्यानिटाइजरमा ७० देखि ८० प्रतिशतसम्म अल्कोहल तथा इथेल र आइसोप्रोपल अल्कोहल हुनुपर्ने विभागको मापदण्डमा उल्लेख छ ।
तर, बजारमा बिक्री भइरहेको स्यानिटाइजरमा अल्कोहलको मात्रा पनि तोकिएको जति नभएको र अरु मापदण्ड पनि पूरा नभएको विभागले जनाएको छ ।
बुधबार विभागद्वारा जारी विज्ञप्तिमा ह्याण्ड स्यानिटाइजरमा आवश्यक परिमाणमा अल्कोहल मिसाएको नपाइएको उल्लेख छ । यद्यपि कुन कम्पनीको स्यानिटाइजरमा मापदण्ड कम भएको भन्ने बारेमा भने उल्लेख गरिएको छैन ।
विभागले बजारमा मिथानोल जस्तो विषाक्त रसायन मिसाइएका र अल्कोहलको परिमाण तोकिए गराउनको लागि सम्बन्धित कम्पनीहरुलाई सचेत गराउँदै उपभोक्तालाई समेत गुणस्तरीय स्यानिटाइजरको मात्रै प्रयोग गर्न समेत आग्रह गरेको छ ।
प्रतिक्रिया 4