+

नक्कली औषधि कसरी चिन्ने ? जान्नैपर्ने कुरा

२०८३ असार  १२ गते १४:२८ २०८३ असार १२ गते १४:२८
Shares
नक्कली औषधि कसरी चिन्ने ? जान्नैपर्ने कुरा

हालै औषधि व्यवस्था विभागले ‘सेरोफ्लो रोटाक्याप’ नामक औषधिको नक्कली संस्करण बजारमा फेला परेको भन्दै अत्यन्त जरुरी सूचना जारी गरेको छ । यो घटना एउटा औषधिसम्म सीमित छैन, बरू यसले नेपालमा नक्कली औषधिको जोखिम अझै विद्यमान रहेको संकेत गर्छ ।

यस्तो अवस्थामा सर्वसाधारणले नक्कली औषधि के हो, किन बन्छ, कसरी बिक्री हुन्छ, कसरी चिन्ने र आफूलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा जानकारी हुनु अत्यन्त आवश्यक छ ।

औषधि व्यवस्था विभागले जारी गरेको सूचना र लेबलको डिटेलबीच फरक छुट्याउन स्पष्टरूपमा मार्क गरेर देखाएको छ।

के हो नक्कली औषधि ?

नक्कली औषधि भनेको आफूलाई कुनै वास्तविक कम्पनीले उत्पादन गरेको औषधि जस्तै देखाउने तर वास्तवमा त्यस्तो कम्पनीले नबनाएको, गलत रूपमा लेबल गरिएको वा जानाजानी धोका दिने उद्देश्यले तयार पारिएको औषधि हो ।

निम्न औषधि व्यवस्था विभागले जारी गरेको सूचना र लेबलको डिटेलमा फरक छुट्याउन स्पष्टरूपमा मार्क गरेर देखाएको छ ।

यस्ता औषधिमा: आवश्यक सक्रिय औषधीय तत्व अर्थात ‘एक्टिभ इन्ग्रेडिटेन्ट’ नहुन सक्छ, धेरै कम वा धेरै बढी मात्रा हुन सक्छ । गलत औषधि मिसाइएको हुन सक्छ, कुनै पनि औषधीय तत्व नभई केवल स्टार्च, चक, रङ वा अन्य सस्ता पदार्थ मात्र हुन सक्छ र दूषित वा हानिकारक रसायन समेत मिसाइएको हुन सक्छ ।

यसलाई औषधिको गुणस्तरमा कमी आएको भन्ने कुरासँग जोडेर भ्रममा पर्नु भने हुँदैन । गुणस्तरहीन औषधि भनेको उत्पादन वा भण्डारणको त्रुटिका कारण खराब हुन्छन् । नक्कली औषधि भने जानाजानी धोका दिने उद्देश्यले बनाइएको हुन्छ ।

 कसरी तयार गरिन्छ  ?

नक्कली औषधि उत्पादन गर्ने समूहहरूले वैध औषधि कम्पनीको नाम, लोगो, प्याकेजिङ, होलोग्राम, ब्याच नम्बर र म्यादसम्म हुबहु नक्कल गर्न सक्छन्। आधुनिक प्रिन्टिङ प्रविधिका कारण पहिलो नजरमा सक्कली र नक्कली छुट्याउन निकै कठिन हुन सक्छ ।

कतिपय अवस्थामा: सस्तो कच्चा पदार्थ प्रयोग गरिन्छ, सरसफाइ नभएका स्थानमा उत्पादन गरिन्छ, कुनै गुणस्तर परीक्षण गरिँदैन र गलत मात्रामा औषधि राखिन्छ र यस्ता उत्पादनको उद्देश्य केवल आर्थिक लाभ हुन्छ, बिरामीको स्वास्थ्य होइन ।

बजारसम्म कसरी पुग्छ ?

नक्कली औषधि विभिन्न माध्यमबाट बजारमा पुग्न सक्छ । जस्तै: अवैध आयात तथा तस्करी, अनलाइन वा सामाजिक सञ्जालमार्फत अनधिकृत बिक्री, इजाजतबिनाका औषधि पसल, कमजोर नियमन भएका आपूर्ति श्रृंखला, कम मूल्यको लोभ देखाएर बिक्री आदि। कहिलेकाहीँ वास्तविक औषधिको प्याकेट पुनः प्रयोग गरेर पनि नक्कली औषधि बेच्ने गरिएको हुन सक्छ ।

किन हाम्रो जस्तो देशमा बढी समस्या हुन्छ ?

विश्व स्वास्थ्य संगठनका अनुसार निम्न तथा मध्यम आय भएका देशहरूमा नक्कली तथा गुणस्तरहीन औषधिको समस्या अपेक्षाकृत बढी देखिन्छ । यसको प्रमुख कारणहरू हुन्: कमजोर नियामक संयन्त्र, सीमित निरीक्षण र परीक्षण क्षमता, खुला सीमा क्षेत्र आदि कारण हुन् ।

औषधिको अभाव हुँदा वैकल्पिक स्रोतको खोजी, जनचेतनाको कमी, अनलाइन तथा अनौपचारिक बजारको विस्तार, गरिबीका कारण सस्तो औषधितर्फ आकर्षण लगायत कारणले पनि नक्कली औषधि बजारमा पुग्ने र किनबेच हुने समस्या रहन्छ ।

नेपालजस्ता भौगोलिक रूपमा चुनौतीपूर्ण र खुला सिमाना भएको देशमा र दुर्गम क्षेत्रमा औषधिको नियमित आपूर्ति कठिन हुने भएकाले जोखिम अझ बढ्न सक्छ ।

विकसित देशहरूले कसरी नियन्त्रण गरेका छन् ?

धेरै विकसित राष्ट्रहरूले औषधिको उत्पादनदेखि बिरामीसम्म पुग्ने सम्पूर्ण यात्रालाई डिजिटल रूपमा निगरानी गर्छन्।

उनीहरूले: प्रत्येक प्याकमा छुट्टै ‘सिरियल नम्बर’ राख्छन्, बारकोड वा क्यूआर कोडमार्फत ट्र्याकिङ गर्छन् । औषधिको सम्पूर्ण आपूर्ति श्रृंखला निगरानी गर्छन्, नियमित बजार अनुगमन गर्छन्, शंकास्पद औषधि तत्काल बजारबाट फिर्ता गर्छन् । नक्कली औषधि उत्पादन तथा बिक्रीमा कडा कानुनी कारबाही गर्छन्, जनतालाई नियमित रूपमा सचेतना कार्यक्रम सञ्चालन गर्छन् । यस्ता प्रणालीले नक्कली औषधि बजारमा प्रवेश गर्ने सम्भावना निकै घटाएको छ ।

नक्कली औषधि सेवन गर्दा के हुन्छ ?

नक्कली औषधिको असर सामान्यदेखि अत्यन्त गम्भीरसम्म हुन सक्छ । औषधिको आवश्यक सक्रिय तत्त्व नभएपछि बिरामीको उपचार प्रभावकारी हुँदैन र रोग झन् जटिल बन्न सक्छ । विशेषगरी दम, मधुमेह, उच्च रक्तचाप, मुटु रोग वा संक्रमण भएका बिरामीमा अवस्था बिग्रन सक्छ ।
एन्टिबायोटिकमा आवश्यक मात्रा नभए जीवाणु प्रतिरोधी बन्न सक्छन्, जसले भविष्यमा उपचार कठिन बनाउँछ । गलत वा दूषित पदार्थ मिसाइएको भए कलेजो, मिर्गौला, स्नायु प्रणाली लगायत शरीरका महत्वपूर्ण अंगमा क्षति पुग्न सक्छ । विशेष गरी बालबालिका, वृद्ध, गर्भवती महिला र दीर्घरोगी बिरामीमा जोखिम अत्यधिक हुन्छ जसले गर्दा ज्यानै पनि जान सक्छ ।

‘सेरोफ्लो रोटाक्याप’ किन विशेष चिन्ताको विषय हो ?

‘सेरोफ्लो रोटाक्याप’ दम तथा श्वासप्रश्वासको नली साँघुरो हुँने समस्या भएका बिरामीले नियमित प्रयोग गर्ने औषधि हो । यदि यसमा आवश्यक औषधीय तत्व नभए वा गलत मात्रा भए बिरामीमा: अचानक सास फेर्न गाह्रो हुने, दमको आक्रमण बढ्ने, आकस्मिक अस्पताल भर्ना हुनुपर्ने, गम्भीर अवस्थामा ज्यानै जाने जोखिम समेत हुन सक्छ ।

त्यसैले यस्तो औषधिको नक्कली संस्करण बजारमा भेटिनु अत्यन्त गम्भीर विषय हो। सबैजना यसमा सचेत बनौँ । यस्ता घटनाबाट थप सचेत हुँदै सबै जिम्मेवार नागरिकले उजुरी गर्ने बानी बसालौँ ।

बिरामीले आफूलाई कसरी सुरक्षित राख्ने ?

सामान्य सावधानीले धेरै जोखिम कम गर्न सकिन्छ । हमेशा औषधि खरिद गर्दा दर्ता भएका आधिकारिक औषधि पसलबाट मात्र औषधि खरिद गर्ने गर्नुपर्छ । चिकित्सक वा फार्मासिस्टको सल्लाहबिना औषधि नकिन्ने किन्नु हुँदैन ।

अत्यधिक सस्तो मूल्य देखिएमा सचेत हुने, प्याकेजिङ, सिल, म्याद समाप्ति मिति, ब्याच नम्बर स्पष्ट छ कि छैन हेर्नुपर्छ ।

प्याकेटमा असामान्य हिज्जे, प्रिन्टिङ त्रुटि वा गुणस्तरमा शंका लागे प्रयोग नगर्ने, औषधिको रङ, आकार, गन्ध वा स्वाद असामान्य लागे तुरुन्त प्रयोग रोक्ने, बिल वा खरिद प्रमाण सुरक्षित राख्ने । शंका लागे नजिकको फार्मासिस्ट वा चिकित्सकसँग परामर्श गर्ने र औषधि व्यवस्था विभागमा तुरुन्त जानकारी गराउने । अहिले देखापरेको नक्कली औषधिमा पनि तपाईँले स्पष्ट रुपमा देख्न सक्नुहुन्छ । त्यहाँ रङ्गहरू फरक छन् । कमा, फुलस्टपहरू फरक छन्।

फार्मासिस्टको भूमिका

फार्मासिस्ट औषधि वितरण गर्ने व्यक्ति मात्र होइनन्, उनी औषधि सुरक्षाका पहिलो रक्षक हुन् । उनीहरूले: वास्तविक र नक्कली औषधि पहिचानमा सहयोग गर्न सक्छन्, बिरामीलाई सही औषधि प्रयोगबारे परामर्श दिन्छन्, शंकास्पद औषधि सम्बन्धित निकायलाई रिपोर्ट गर्छन्, र सुरक्षित औषधि प्रयोगबारे जनचेतना फैलाउँछन् । त्यसैले औषधि बारेमा बढी जानकार फार्मासिस्टबाट सल्लाह लिने बानी बसालौँ।

सरकार र समाजको साझा जिम्मेवारी

नक्कली औषधिको नियन्त्रण सरकारको मात्र दायित्व होइन । यसमा: औषधि उत्पादक, आयातकर्ता, वितरक, फार्मेसी, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम तथा आम नागरिक हामी सबैको समान भूमिका हुन्छ । सुरक्षित आपूर्ति श्रृंखला, प्रभावकारी बजार अनुगमन, अत्याधुनिक परीक्षण प्रयोगशाला, कडा कानुनी कारबाही र व्यापक जनचेतना कार्यक्रमले मात्र यस्तो समस्यालाई नियन्त्रण गर्न सकिन्छ । त्यसैले हमेशा सचेत बनौँ ।

नक्कली औषधि केवल आर्थिक अपराध मात्र नभई गम्भीर सार्वजनिक स्वास्थ्य अपराध पनि हो।

अहिलेको यस घटनाले औषधि खरिद गर्दा विशेष ध्यान दिनुपर्छ भन्ने कुरामा सजग गराएको छ ।

औषधि व्यवस्था विभाग नक्कली औषधि स्वास्थ्य जोखिम
डा. दीर्घराज जोशी
लेखक
डा. दीर्घराज जोशी
औषधि रसायन विज्ञ

औषधि रसायन विज्ञानमा विद्यावारिधि गरेका डा. दीर्घराज जोशीले अमेरिकामा केही समयका लागि भाइरस विरुद्धको औषधि आविष्कार कार्यमा समेत काम गरेका थिए । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपप्राध्यापकका रुपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय